लमजुङमा यस वर्ष अलैँची उत्पादन ६० प्रतिशतले घट्ने

बिहिबार, २४ भदौ, २०७८
डिजिटल संस्करण
लमजुङमा यस वर्ष अलैँची उत्पादन ६० प्रतिशतले घट्ने

लमजुङको मर्स्याङ्दी–६ बाहुनडाँडामा अलैंची टिप्दै किसान

लमजुङका विभिन्न गाउँमा अलैँची टिप्न सुरु भएको छ। अलैँची पाकेपछि किसानहरू टिप्न, छोडाउन र सुकाउन व्यस्त छन्। जिल्लाको सात सय मिटरदेखि १२ सय मिटर उचाइमा लगाइएको अलैँची टिप्न सुरु गरिएको हो।

अलैँची टिप्ने सिजन भएकोले सहर झरेकाहरू पनि गाउँ फर्किएका छन्। कोरोनाका कारण पनि सहरबजारमा बस्नेहरू गाउँ फर्किएर कृषि कर्ममा व्यस्त भएका मर्स्याङ्दी गाउँपालिका– ६ बाहुनडाँडाका अलैँची कृषक लोकनाथ घिमिरेले बताए।

जिल्लाका अलैँची किसानहरूले भदौ पहिलो हप्तादेखि अलैँची टिप्न सुरु गरेका हुन्। मर्स्याङ्दी– ७ ताराचोक शेराका अलैँची कृषक डम्बरसिंह अधिकारीले आठ रोपनी क्षेत्रफलमा अलैँची खेती गरेका छन्। अलैँची पाक्न नपाउँदै चरा, मुसाले खाने भएकाले टिप्न ढिला गर्न नहुने उनले बताए। उनीसँगै उनकी श्रीमती पनि अलैँची टिप्न व्यस्त छिन् । 

यतिवेला बाहुनडाँडा, ताराचोक शेरा, कुप्लिङ र दुराडाँडालगायतका ठाउँमा अलैँची टिप्न सुरु गरिएको छ। जिल्लामा लगाइएको डम्बरशाही, जिर्मले र साउने जातको अलैँची टिप्न सुरु गरिएको नेपाल अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताए। तामाङका अनुसार जिल्लामा लगाइएका अलैँची तीन चरणमा टिप्ने गरिन्छ। जिल्लामा सात सयदेखि १२ सय उचाइमा लगाइएको अलैँची भदौको पहिलो साता टिपिन्छ। यस उचाइमा साउने, जिर्मले र डम्बरशाही रोपिन्छ।  १२ सयदेखि १६ सय मिटर उचाइमा गोलशाही जातको अलैँची रोपिन्छ जुन असोजको पहिलो साताबाट टिपिन्छ। त्यस्तै १६ सयदेखि २२ सय मिटर उचाइमा रामशाही र भलांगे जातको अलैँची कात्तिक पहिलो हप्ताबाट टिप्न सुरु गरिन्छ।

लमजुङका अलैँची कृषकले गत वर्ष अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका थिए। जिल्लामा उत्पादित तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट कृषकहरूले उक्त रकम आम्दानी गरेका हुन्। जिल्लामा एक हजार पाँच सय हेक्टर जमिनमा अलैँची खेती विस्तार गरिए पनि एक हजार दुई सय हेक्टर क्षेक्रफलमा अलैँची उत्पादन हुँदै आएको छ।

जिल्लामा गत वर्षको तुलनमा यस वर्ष ६० प्रतिशतले अलैँची उत्पानमा कमी हुने अध्यक्ष तामाङको भनाइ छ। खडेरी र रोगका कारण उत्पादनमा यस वर्ष उत्पादनमा गिरावट हुने अनुमान गरिएको हो।  जिल्लाको भुलभुले, लुदी, छिनखोलासहित बाँझाखेत, घाम्राङ, घनपोखरा, खुदी, गौँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनीलगायतका पाखाहरूमा व्यावसायिक अलैँची खेती हुँदै आएको छ।  अलैँची व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएकाले सहर पसेकासमेत आफ्नै गाउँ फर्किएर अलैँची व्यवसाय गर्न थालेका छन्। पछिल्लो समय लमजुङ अलैँची हबका रूपमा परिचित हुँदै गएको छ।

See More On

सुझावित समाचार