पर्यटन भनेको सामाजिक, सांस्कृतिक र आर्थिक घटनासँग सम्बन्धित मानवीय गतिविधि हो । मुख्यतः मनोरञ्जन, व्यक्तिगत वा व्यापार/व्यावसायिक प्रयोजनका लागि मानिसहरूले एक ठाउँबाट अर्को ठाउँ र एक देशबाट अर्को देशको यात्रा गरिरहेका हुन्छन् । उनीहरू नै पर्यटक हुन् र उनीहरूको गतिविधि नै पर्यटन हो । पर्यटन क्षेत्रको विकासले देशको भौतिक विकासमा कायापलट हुन सक्छ । अझ प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा भौगोलिक विविधताका कारण नेपालको विकासमा त पर्यटन क्षेत्रको गहन योगदान रहन सक्छ ।
पन्ध्रौँ योजना र पर्यटन : पर्यटन क्षेत्रलाई सुरक्षित, गुणस्तरीय र पर्यटकमैत्री बनाएर नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य पन्ध्रौँ पञ्चवर्षीय योजना (२०१९–२३) ले लिएको थियो । पर्यटन क्षेत्रमा विविधता ल्याएर अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउने र पर्यटन क्षेत्रको लाभको वितरणबाट सर्वसाधारण जनताको जीवनस्तर सुधार्ने लक्ष्य सो योजनाले लिएको थियो । सन् २०१८/१९ को करिब १२ लाख पर्यटकको संख्या २०२३ सम्म वार्षिक ३५ लाख पुर्याउने, पर्यटन क्षेत्रको २ दशमलव ७ प्रतिशतमा रहेको गार्हस्थ्य उत्पादनलाई १० प्रतिशत पुर्याउने, प्रतिवर्ष दुई लाख रोजगारीबाट तीन लाख ८२ हजार पुर्याउने, पर्यटकको सरदर १२ दशमलव ७ दिनको बसाइलाई १५ दिन पुर्याउने, पर्यटकको प्रतिदिनको खर्च ४४ डलरबाट एक सय डलरसम्म पुर्याउनेलगायत उद्देश्य सो योजनामा समेटिएका थिए ।
२०१९ को पर्यटक आगमनको तथ्यांकअनुसार नौ लाख ९५ हजार पर्यटक जहाज चढेर नेपाल आएका थिए । नेपाल वायु सेवा निगम, कतार एयरवेज, फ्लाई दुबई, एयर इन्डिया र एयर अरेबियाले ती पर्यटकलाई नेपाल भित्र्याएका थिए । २०१९ मा नेपाल आउने पर्यटकमध्ये निकुञ्ज र आरक्ष क्षेत्र घुम्ने चार लाख २९ हजार, लुम्बिनी भ्रमण गर्ने एक लाख ७३ हजार, ट्रेकिङ र माउन्टेनियरिङमा जाने एक लाख ७१ हजार, पशुपति दर्शन गर्ने एक लाख ७१ हजार थिए । देशका हिसाबले दुई लाख ५४ हजार भारतीय र एक लाख ६९ चिनियाँ पर्यटक नेपाल आएका थिए ।
निःशुल्क प्रवेशाज्ञा पाउने देशमा भारत विनाराहदानी, बंगलादेश, पाकिस्तान, भुटान, मालदिब्स र श्रीलंकाका लागि ३० दिने निःशुल्क प्रवेशाज्ञा र चिनियाँ पर्यटकका लागि एक वर्षमा ९० दिनसम्म निःशुल्क प्रवेशाज्ञा पाउने सरकारी नियम छ । अमेरिकी नागरिकले पाँचवर्षे प्रवेशाज्ञा पाउँछन् । नेपालको पर्यटन क्षेत्रको विकास गरी नेपालीको सम्पन्नता भित्र्याउन प्रवेशाज्ञा नीतिमा परिवर्तन आवश्यक छ । नेपाली जनतामा करको बोझ थप्ने तर विदेशीलाई सित्तैँमा आउन दिने नीतिले पर्यटन पूर्वाधारको विकास हुँदैन ।
विकासका लागि पर्यटन : विश्वभर अर्थव्यवस्थाको सफलताका लागि पर्यटन क्षेत्र महत्वपूर्ण मानिन्छ । पर्यटनले अर्थव्यवस्था सुदृढ बनाउन राजस्व बढाउँछ, रोजगारी सिर्जना गर्छ, देशको पूर्वाधार विकास गर्छ र विदेशी पर्यटक र नेपाली नागरिकबीच सांस्कृतिक आदानप्रदानको भावना बढाउँछ । हालसम्म नेपालका पर्यटन केन्द्रमा काठमाडौं उपत्यका, काठमाडौंबाहिर पोखरा, चितवन, लुम्बिनी, बर्दिया, सगरमाथा र अन्नपूर्ण क्षेत्रमा मात्र सीमित छ । नेपालले यीसहित अब नयाँ पर्यटन क्षेत्रको विकास गरी प्रचार–प्रसार गर्नुपर्छ । नेपालको पर्यटन क्षेत्रले नयाँ गन्तव्य र आवश्यक पूर्वाधार विकास नगरेसम्म पर्यटन क्षेत्रको लाभको वितरणबाट सर्वसाधारण जनताको जीवनमा सुधार आउँदैन । उल्लिखित सात स्थानबाट बाहिर निस्किन नसकेको पर्यटन व्यवसायले लाभ प्राप्त गर्न सक्दैन र त्यसबाट नेपाल र नेपालीको उन्नति पनि सम्भव छैन । २०१९ मा हुम्ला भ्रमणमा आठ हजार ६७०, तल्लो डोल्पा एक हजार ३६० र माथिल्लो डोल्पामा जम्मा ५३० पर्यटक गएका थिए । पर्यटक भ्रमणको यस्तो असमान वितरणले गरिबी उन्मूलन हुन सक्दैन ।
लाभको दृष्टिकोणले पर्वतारोहण प्रमुख स्थानमा पर्छ । पन्ध्रौँ योजनाले सोचेबमोजिम लक्ष्य प्राप्त गर्न आवश्यक रखबारीसहित पर्वतारोहणका लागि नयाँ हिमाल र पदयात्राका लागि नयाँ–नयाँ गन्तव्य खुला गर्नुपर्छ । पर्वतारोहण, पदयात्रालगायत साहसिक पर्यटकीय गतिविधिका कारण नेपालको पर्यटन क्षेत्रलाई अन्य गन्तव्यभन्दा अलि भिन्न दृष्टिकोणबाट हेर्नुपर्छ ।
परम्परागत पर्यटकीय गन्तव्यबाट बाहिर निस्किन नसकेको पर्यटन व्यवसायले लाभ प्राप्त गर्न सक्दैन र त्यसबाट नेपाल र नेपालीको उन्नति पनि सम्भव छैन
नेपाल आउने पर्यटकको भौगोलिक वितरणको हिसाबले यो क्षेत्र रोजगारी र आर्थिक आय–आर्जनका लागि निकै महत्वपूर्ण छ । पहिला सहरकेन्द्रितभन्दा पनि नेपाल आउने पर्यटक नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदालाई नजिकबाट अनुभव गर्न आउँथे । एक अध्ययनअनुसार २०१९ मा नेपालमा सात लाख ७८ हजार पर्यटक बिदा मनाउन आएका थिए । त्यस्ता पर्यटकलाई नेपालका दुर्गम र यातायातका आधुनिक साधन नपुगेका स्थानमा पुर्याएर उनीहरूको बिदालाई रमणीय बनाउन सक्नुपर्छ । यसका लागि नयाँ पदमार्ग, सुरक्षित वासस्थान, स्वस्थ खानपिनसहितको प्रबन्ध मिलाउनुपर्छ । आवश्यक नीति बनाउने र तुरुन्त कार्यान्वयन गर्ने जिम्मा सरकारको हो ।
पर्यटन प्रवद्र्धनका लागि गर्नुपर्ने काम : २०२० को सुरुदेखि सिंगो विश्वसहित नेपाल कोभिडको महामारीमा छ । सेवाक्षेत्रहरू तहसनहस छन् । अबका दिनमा पदमा बस्नेहरूले शक्तिको आडमा रमाउनुभन्दा नतिजा दिने गरी काम गर्नुपर्छ । महामारीका कारण एकातिर रोगको भय छ भने अर्कातिर गरिखानेका लागि भोकको चुनौती छ । लगानीकर्ता ठूलो मारमा छन् । पर्यटन व्यवसाय अन्य क्षेत्रभन्दा बढी मारमा छ । दोहोरिएको लकडाउनका कारण होटल, रेस्टुरेन्ट, पदयात्रा सञ्चालन गर्ने व्यवसायी र पर्यटक सवारीसाधनसहित पर्यटकलाई सेवा दिने व्यवसाय संकटमा छन् । पर्यटन क्षेत्रबाट हातमुख जोर्ने कर्मचारी र कामदारलाई महामारी ठूलो विपत्ति बनेको छ ।
भर्खरै सरकार परिवर्तन भएको छ । नयाँ अर्थमन्त्रीले नयाँ आँट गर्नैपर्छ । अर्थमन्त्रीका रूपमा कोभिड–१९ ले तहसनहस पारेको आर्थिक क्षेत्रलाई पुनरुत्थान गर्न नयाँ पहल लिनु आवश्यक छ । आमनागरिक र व्यावसायिक क्षेत्रको अपेक्षा अर्थमन्त्रीसँग बढी नै छ । खासगरी पर्यटन क्षेत्रले सरकारबाट चामत्कारिक परिणामको अपेक्षा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्राथमिकता खोप, खोप र फेरि पनि खोप नै हो भनी गरेको प्रतिबद्धता कार्यान्वयन गरे मात्र पुग्छ । सबै नागरिकका लागि खोपको प्रबन्ध सबैभन्दा महत्वपूर्ण विषय हो । शिक्षक, विद्यार्थी र पर्यटन व्यवसायी सबैलाई खोपको अति जरुरी छ । यसलाई अनिवार्य रूपमा सरकारको नीति तथा कार्यक्रमका रूपमा स्विकारिनुपर्छ ।
पर्यटन क्षेत्रका समस्याको दीर्घकालीन समाधान भनेको महामारीको अन्त्य र व्यवसायलाई पुरानै लयमा फर्काउनु हो । यसका लागि कोभिडविरुद्धको खोप प्राथमिकतामा पर्नुपर्छ । अल्पकालका लागि पर्यटन क्षेत्रमा एकमुष्ट प्याकेजका रूपमा सावाँ र ब्याजको पुनर्तालिकीकरण, कर तथा नवीकरण दस्तुरमा छुट वा समयावधि थप, विद्युत् महसुलमा छुट, न्यूनतम ब्याजदरमा ऋणजस्ता विषय समेट्दा राहत महसुस हुन सक्छ । पर्यटन क्षेत्र प्राकृतिक पुँजी हो । हिमाल आरोहण, पदयात्रा, वन्यजन्तु, वनस्पति, दृश्य, सम्पदा, संस्कृति बन्जी–जम्पिङ, क्यानोनिङलगायत क्षेत्र नै नेपालका असीम पर्यटकीय उपहार हुन् । यस्ता सम्पदाको उपयोग गरिबी निवारणसँग जोडिनुपर्छ । यो सम्पत्ति कमाउने र लाभको व्यापार बन्नु हुँदैन ।
पर्यटन क्षेत्रमा कर्पोरेट सामाजिक उत्तरदायित्वलाई एक मार्गदर्शक व्यापार नीतिका रूपमा परिभाषित गर्नुपर्छ । पर्यटन व्यवसायमा आबद्ध कम्पनी र व्यवसायीले आफ्नो स्वार्थ मात्र हेरेर हुँदैन । उनीहरूले समाज र देशप्रतिको आफ्नो दायित्व पनि पूरा गर्नुपर्छ । यसका लागि हरेक काम कुराका लागि सरकारलाई दोष दिनुभन्दा आफैँ पनि जिम्मेवार बनेर लागिपर्ने हो भने नेपालका लागि पर्यटन व्यवसाय राष्ट्र विकासको मेरुदण्ड बन्न सक्छ ।
(रेग्मी त्रिविमा प्राध्यापनरत छन्)