दार्चुलामा सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरिँदै

मंगलबार, २२ भदौ, २०७८
डिजिटल संस्करण
दार्चुलामा सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरिँदै

घर पहिरोले बगाएपछि गौरीलमाण्डौं मावि हिकिलामा आश्रय लिएर बसेका बाढीपहिरो पीडित बालबालिका

दार्चुलाको व्यास गाउँपालिका र दुहुँ गाउँपालिकामा नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्न लागिएको छ । बाढीपहिरो प्रभावित क्षेत्र दुहुँ र खाद्यान्न अभाव भएको व्यास–२ मालगाउँका लागि खाद्यान्न ढुवानी हुन लागेको हो । व्यास गाउँपालिकाको मालगाउँका लागि ५० क्विन्टल खाद्यान्न ढुवानी हुँदै छ ।

गत १५ साउनमा भारतीय सीमा सुरक्षाबल (एसएसबी)ले महाकाली नदीमा तुइनको लठ्ठो खुस्काइदिएपछि यो क्षेत्रमा खाद्यान्न अभाव भएको छ । भारतीय एसएसबीले तुइनको डोरी फुस्काइदिँदा मालका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका छन् । त्यसयता यो क्षेत्रमा खाद्यान्न ढुवानी हुन सकेको छैन ।

१३ भदौमा आएको बाढीपहिरोपछि दुहुँ गाउँपालिकामा खाद्यान्न अभाव हुन नदिन एक सय क्विन्टल खाद्यान्न, तीन क्विन्टल दाल, तेल र नुन, साढे तीन हजार मिटर खानेपानी पाइप हेलिकाेप्टरमार्फत ढुवानी गरिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । सम्बन्धित गाउँपालिकाको व्यवस्थापननमा गृह मन्त्रालयले हेलिकोप्टरमार्फत खाद्यान्नलगायतका सामग्री ढुवानी गर्न लागेको हो ।

सदरमुकाम खलंगास्थित नेपाली सेनाको ब्यारेकबाट दुहुँ र व्यासको मालगाउँका लागि खाद्यान्न ढुवानी हुनेछ । अहिले यो क्षेत्रमा ठाउँठाउँमा बाटोसमेत अवरुद्व बनेको छ । दार्चुला–तिंकर सडकखण्डको निजाङगाड खोलामा मोटरेबल पुल बगाएको छ ।

माथिल्लो क्षेत्रमा सडक भासिएका छन् । नेपालले जयसिंह धामी बेपत्ता प्रकरणमा एसएसबीको दोष देखाएपछि भारतले सीमा क्षेत्रमा तुइन लगाउन कडाइ गरेको छ । जसकारण व्यासको दुम्लिङ, मालगाउँ, राप्ला, तुसरपानीलगायतका क्षेत्रमा खाद्यान्न अभाव भएको छ । नेपालबाट जान सो क्षेत्रमा दुई दिन लाग्छ । 

सुझावित समाचार