माथिल्लो मनाङमा खाद्य संकटको चिन्ता

आइतबार, १३ भदौ, २०७८
डिजिटल संस्करण

थोराङ्ला पास गराएर माथिल्लो मनाङमा खच्चडमार्फत खाद्यान्न ढुवानी

 बाढीपहिरोले सडक क्षतविक्षत पारेपछि मनाङमा दुई महिनाभन्दा बढी समयदेखि यातायात अवरुद्ध भएर खाद्यान्नलगायत ढुवानी नहुँदा जनजीवन प्रभावित भएको छ । बेँसीसहर–चामे सडक तत्काल खुल्ने अवस्था नहुँदा खाद्य संकटको सम्भावना रहेको मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए ।

उनका अनुसार माथिल्लो मनाङमा चामलबाहेकको दैनिक उपभोग्य वस्तु किन्न पाइँदैन । माथिल्लो क्षेत्र मनाङ ङिस्याङ गाउँपालिकाका विभिन्न गाउँमा कामका लागि पुगेका मजदुरले उपभोग्य वस्तु किन्न पाएका छैनन् ।

दैनिक उपभोग्य वस्तु अभाव भएको र चामे हुँदै ढुवानी सम्भव नभएपछि माथिल्लो क्षेत्रका बासिन्दाले मुस्ताङ हुँदै थोराङ्ला भञ्ज्याङ पास गराएर आवश्यक वस्तु ढुवानी गरेको गुरुङले बताए । ४० घरपरिवार मजदुर र विपन्न ७ घरपरिवारलाई दैनिक उपभोग्य वस्तु वितरण गरिएको छ ।

समुद्री सतहदेखि ५ हजार ४ सय १६ मिटर उचाइको थोराङ्ला भञ्ज्याङ पार गराएर खच्चडमार्फत उपभोग्य वस्तु ढुवानी गरिएको गुरुङको भनाइ छ । सोनाम गिर्मी फेमेली फाउन्डेसनको सहयोगमा खाद्यान्न सहयोग गरिएको हो । 

हेलिकोप्टरको ढुवानी महँगो हुने भएकाले पनि मुस्ताङको बाटो हुँदै खच्चडमार्फत खाद्यान्न ढुवानी गरिएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार माथिल्लो मनाङमा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिए पनि पर्याप्त मात्रमा नहुँदा स्थानीयले मुस्ताङबाट खच्चडमार्फत खाद्यान्न ल्याएको बताए । 

सुझावित समाचार