राष्ट्रिय गौरवका आयोजनाको बजेटको स्राेत सुनिश्चितता गर्न समन्वय समितिको निर्देशन

शुक्रबार, १५ साउन, २०७८
डिजिटल संस्करण

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाको बजेटको स्राेत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय गौरवका आयोजनाको बजेटको स्राेत सुनिश्चितता र कार्यविधि सञ्चालनको स्पष्ट मापदण्ड ल्याउन निर्देशन दिएको हो ।

समितिले मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा बाढी तथा पहिरोले पुर्याएको क्षतिबारे छलफल गरेको थियो । छलफलपछि समितिले आयोजनामा बाढीपहिरोले पुर्याएको क्षतिको मूल्यांकन गरी पुनर्निर्माणलाई अविलम्ब सुरु गर्न निर्देशन दिएको छ ।

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्नसमेत बजेटको सुनिश्चितता गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । यस्तै समितिले आयोजनासँग प्रत्यक्ष सम्बन्ध राख्ने निकायका बीचको प्रभावकारी सहकार्य र समन्वयका लागि निर्देशन दिएको छ ।

उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनामा बजेटको स्राेत सुनिश्चित र कार्यविधि सञ्चालनको स्पष्ट मापदण्ड नहुँदा अहिले पनि हामीले एकातिर सरकारले राष्ट्रिय गौरवको आयोजना बजेट अभाव हुँदैन भनेको छ, फेरि कार्यान्वयनमा जाँदा यो खाले समस्या आएको हुनाले राष्ट्रिय गौरवका आयोजनाको बजेटको स्राेत सुनिश्चितता र कार्यविधि सञ्चालनको स्पष्ट मापदण्डका लागि सरकारलाई निर्देशन दिएका छौँ, तत्काल आयोजना भएका क्षतिको पूर्ण मूल्यांकन निकाली निर्माणको पुनर्निर्माणलाई कार्यान्वयनमा जानुपर्ने निष्कर्ष निकालेको छ, आयोजनासँग प्रत्यक्ष सरोकार राख्ने निकायको बीचको प्रभावकारी सहकार्य र समन्वयको अहिले पनि अभाव देखिएको छ, यो आयोजनाभित्रको निकायहरू, मन्त्रालयभित्रका निकाय र तहका सरकारको बीचमा अहिले पनि समन्वयको अभाव देखिएको छ, यसलाई प्रभावकारी समन्वयका लागि हामी निर्देशन दिन्छौँ ।’

समितिले आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौं उपत्यका खानेपानी आयोजनाबीचमा भएको संरचनात्मक समस्यालाई व्यवस्थित गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले सहरी विकास मन्त्रालय, मेलम्ची खानेपानी आयोजना,  काठमाडाैं आयोजना खानेपानी लिमिटेड र काठमाडौं महानगरपालिकाको सरसफाइ तथा विभाग हेर्ने अधिकारीहरूसँग छलफल गरेको थियो ।

सुझावित समाचार