कोरोनाले थलिएको पर्यटनलाई उकास्न पहिलो प्राथमिकता दिनुपर्छ

अन्तर्वार्ता

शुक्रबार, ८ साउन, २०७८
डिजिटल संस्करण
कोरोनाले थलिएको पर्यटनलाई उकास्न पहिलो प्राथमिकता दिनुपर्छ

दिव्यमणि राजभण्डारी, प्रतिनिधिसभा सदस्य

कोभिड–१९ का कारण नेपालको पर्यटन क्षेत्रमा परेको प्रभावबाट उकास्न के–कस्ता प्रयास गर्नुपर्छ भन्ने लाग्छ? 
नेपाल पर्यटकीय हिसाबले ठूलो सम्भावना भएको मुलुक हो । अहिले कोभिड–१९ का कारण सबैभन्दा प्रभावित व्यवसाय नै पर्यटन क्षेत्र हो । त्यसैले अब सरकारले पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि यसलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ । सरकारले हाम्रो पर्यटन क्षेत्रको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाएर अघि बढ्नुपर्छ । अस्ति भर्खरै मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाले थलिएको अर्थतन्त्रलाई माथि उठाउन प्रयास गर्छु भन्नुभएको छ । म उहाँलाई पर्यटन क्षेत्रको विकासका लागि खास योजनाहरूसहित काम गर्नका लागि आग्रह गर्दछु । 

बन्दाबन्दी भइसकेपछि हिजो भारी बोकेर खाने पोर्टरहरू के गरिरहेका छन् ? त्यो बोट चलाएर खाने मान्छेले अहिले के गरिरहेको होला ? यसबारे राज्यले सोच्नुपर्छ । मैले ठूला–ठूला होटेल व्यवसायको कुरा गरेको छैन । त्यहाँ पनि नोक्सानी छ । त्यसैले अब कोभिडपछिको पर्यटन व्यवसायलाई अघि बढाउन सम्भावना र चुनौती दुवै उत्तिकै देखिन्छन् । 

नेपालमा पर्यटन क्षेत्रको थप विकासका लागि के गर्न सकिन्छ ? 
हाम्रो देशमा हरेक खालको पर्यटनको सम्भावना छ । पूर्वदेखि पश्चिमसम्म प्राकृतिक र धार्मिक पर्यटकीय सम्भावना भएका ठाउँहरू छन् । त्यहाँ लगानी गर्नुपर्यो । त्यहाँका पर्यटन व्यवसायीलाई प्रोत्साहित गर्नुपर्यो । देशी–विदेशी पर्यटकलाई त्यहाँ आकर्षित गर्नुपर्यो । हाम्रो प्रकृति कस्तो छ ? हामीले राम्रो–राम्रो ‘ओल्ड एज होम’हरू सञ्चालन गर्नु भने त्यो पनि पर्यटक आकर्षण गर्ने प्रडक्ट बन्छ । हाम्रो देशको प्रकृति र हावापानी नै मानव स्वास्थ्यका लागि उपचार हो । नेचुरल थेरापी उपचारकै लागि हामी ठाउँ–ठाउँमा हस्पिटलहरू खोल्न सक्छौँ । उपचार भइसकेका बिरामीका लागि त्यस्तो रिह्याबिलिटेसन सेन्टरहरू खोल्न सकिन्छ । 

नेपालको सगरमाथा मात्रै देखाएर सधैँ पर्यटन चल्दैन । त्यसैले हामीले यहाँको सांस्कृतिक पर्यटन प्रवर्द्धन पनि गर्नुपर्छ । धेरै पर्यटकहरू काठमाडौं आउँछन् । किन यहाँ आउँछन् ? यहाँका आदिवासी नेवारहरूको संस्कृतिले उनीहरूलाई तानेको छ । यहाँको हावापानी, प्रकृति र सुविधाले उनीहरूलाई तानेको छ । हाम्रा यहाँका मन्दिर र धार्मिक स्थलहरूले उनीहरूलाई तानेको छ ।

अहिलेकै लागि ठुल्ठूला प्रदर्शनीहरू पनि पर्यटन प्रवद्र्धनको एउटा उपाय हो । हामीकहाँ अहिले मेलाहरू सञ्चालन हुने गरेका छन् । त्यसलाई व्यवस्थित गर्ने हो भने एक्जिविसन टुरिजम प्रवर्द्धन गर्न सकिन्छ । जर्मनीमा साना–साना गाउँमा पनि एक्जिविसन हलहरू बनाइएको हुन्छ । त्यहाँ संसारभरिका मान्छेहरू पुग्छन् । हामीकहाँ अफ सिजनमा यस्ता एक्जिविसन कन्फेरेन्स, कन्भेन्सनहरू सञ्चालन गर्न सकिन्छ । हामीले अन्तर्राष्ट्रिय बजारलाई समेत सोचेर पनि त्यस्ता प्रदर्शनीहरू गर्नुपर्छ । त्यस्तो प्रदर्शनीका कारणले हाम्रो व्यवसाय भइहाल्छ । त्यहाँ रोजगारी मिल्छ । 

नेपालमा विशिष्टीकृत (स्पेसलाइज्ड) पर्यटनको सम्भावनाचाहिँ कत्तिको देख्नुहुन्छ ? 
नेपालमा विशिष्टीकृत पर्यटनको ठूलो सम्भावना छ । संसारमा यस्ता मान्छेहरू पनि हुन्छन्, जसलाई गुराँस मात्रै हेर्नु छ, हाम्रो ‘टिपिकल खाना’ मात्रै चाख्न मन छ । त्यस आधारमा हामीले ‘फुड टुरिजम’लाई पनि अघि सार्न सक्छौँ । नेपालमा यस्ता खानपिनका परिकारहरू छन्, जसलाई हामीले ‘फुड टुरिजम’को गन्तव्यका रूपमा सहजै विकास गर्न सक्छौँ । हाम्रो खानाको संस्कृति ठाउँपिच्छे फरक छ । फरक समुदाय, फरक खानाको संस्कृति छ । अहिले प्रचलित मःमको उदाहरण लिनुस् । त्यस्तै, हामीले पनि फुड टुरिजमलाई प्रोत्साहन गर्नुपर्यो । 

शिक्षा पर्यटनलाई पनि प्रवद्र्धन गर्नुपर्छ । त्यो भनेको चाहिँ हामीले पढाइको गन्तव्य नेपाललाई किन नबनाउने ? अमेरिकामा टुरिजम पढ्नुभन्दा नेपालमा आएर त्यही विषय पढ्न पायो भने त विदेशीहरू यहाँ आउँछन् नि । यहाँ हामीले त्यस्ता सुविधायुक्त इन्टरनेसनल युनिभर्सिटीहरू किन नखोल्ने ? त्यसैले यी विषयमा पनि सरकारले ध्यान दिनुपर्छ । 

यी कामहरू गर्दै गर्दा त्यहाँ होटेल व्यवसाय चल्छ । हवाई सेवा चल्छ । यातायात हुन्छ । ती सबै ठाउँमा हाम्रो नेपाली जनशक्तिले रोजगारी पाउँछ । आर्थिक गतिविधि हुन्छ र त्यसले मुलुकको विकासमा योगदान पुग्छ । आर्थिक वृद्धिमा योगदान पुग्छ  ।

नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि कूटनीतिक क्षेत्रले कसरी योगदान गर्न सक्छ ? 
अहिले कोभिड–१९ को कारणले हाम्रा होटेलवालाहरूलाई जुन नोक्सानी भइरहेको छ, पर्यटनका अन्य क्षेत्रमा जुन असर परेको छ, त्यसलाई कसरी परिपूर्ति गर्ने भन्ने विषयमा ध्यान दिनुपर्छ । नेपाली पर्यटनका नयाँ–नयाँ कुराहरूलाई प्रवर्द्धन गर्न विदेशस्थित कूटनीतिक नियोगहरूले योगदान गर्न सक्छन् । संसारभरि हाम्रा दूतावास छन्, तिनको काम के हो ? त्यहाँ अवकाशप्राप्त जीवन बिताउन गएको होइन होला ? जनताले तिरेको एक–एक पैसाबाट चाहिँ एम्बेसीहरू चल्छन् भने उनीहरूको काम के हो ? आफ्नो देशको यस्ता प्रडक्टहरूका बारेमा प्रवर्द्धन उनीहरूले गर्नुपर्यो नि । 

नेपालमा सांस्कृतिक पर्यटनको सम्भावनाचाहिँ कस्तो देख्नुहुन्छ ? 
नेपालको पर्यटनको आधार प्राकृतिक सुन्दरता मात्रै होइन । नेपालको सगरमाथा मात्रै देखाएर सधैँ पर्यटन चल्दैन । त्यसैले हामीले यहाँको सांस्कृतिक पर्यटन प्रवर्द्धन पनि गर्नुपर्छ । धेरै पर्यटकहरू काठमाडौं आउँछन् । किन यहाँ आउँछन् ? यहाँका आदिवासी नेवारहरूको संस्कृतिले उनीहरूलाई तानेको छ । यहाँको हावापानी, प्रकृति र सुविधाले उनीहरूलाई तानेको छ । हाम्रा यहाँका मन्दिर र धार्मिक स्थलहरूले उनीहरूलाई तानेको छ । 

हामीसँग धेरै संस्कृतिहरू छन् । कति किसिमका भाषा बोल्छन् ? कति किसिमका पहिरन लगाउँछौँ ? कति किसिमका खानाहरू खान्छौँ ? हाम्रो प्रकृति कस्तो छ ? कस्तो उत्पादन छ ? कृषिउपज कस्तो छ ? यो सबै त हाम्रो कल्चरसँग जोडिएको छ नि । त्यसैले यो संस्कृतिको हामीले जगेर्ना गर्ने हो । र, त्यसलाई पर्यटनसँग साट्ने हो । त्यसलाई पर्यटन व्यवसायका रूपमा रूपान्तरण गर्ने हो । 

बोर्डमा बस्ने, जागिर खाने, तर त्यसबापत कुनै नतिजा नआउने हो भने त त्यसको के अर्थ र ? त्यहाँ नेतृत्वमा बस्नेलाई महिनामा ४ लाख रुपैयाँ तलब खुवाएपछि त त्यसको रिजल्ट आउनुपर्यो नि ।

पर्यटन क्षेत्रमा काम गर्ने मान्छेहरूको बोलीचाली कस्तो हुने ? त्यसमा पनि राज्यले लगानी गर्नुपर्यो । अहिले तपाईं जुन रेस्टुरेन्टमा जानुहुन्छ, त्यो रेस्टुरेन्टमा जतिसुकै मीठो खानेकुरा पाए पनि तपाईंलाई उसले गर्ने बोलीचाली प्रमुख कुरा हुन्छ । त्यसैले त्यो बोलीचाली राम्रो भयो भने पर्यटक आफैँ आइरहन्छन् । 

अर्को भनेको भिलेज टुरिजमको सम्भावना छ । गाउँबाट मान्छेहरू सहर पसेका छन् । उनीहरूलाई फर्काउनु पर्यो । त्यसैले मान्छेलाई गाउँतिर आकर्षित गर्नुपर्यो । गाउँमा हरेक चिजले पर्यटकलाई आकर्षित गर्छ । तर, त्यो कुरा त्यहाँ छ भनेर त पर्यटकलाई बुझाउनुपर्यो नि ।

पर्यटन उद्योगको विकासमा सरकारी नीति र नेतृत्वले चाहिँ कत्तिको सहयोग गरेको पाउनुहुन्छ ? 
नेपालको पर्यटन विकासमा कमजोरी भएका छन् । हामीले पर्यटन क्षेत्र नै नबुझेका मान्छेलाई त्यसको जिम्मेवारी दिने गरेका छौँ । विश्व घुमेको, बुझेको पर्यटनमन्त्री हुनुपर्यो नि । त्यस्तो मान्छेले मात्रै यसमा काम गर्न सक्छ । कोभिडका कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रलाई माथि उठाउन के–के गर्न सक्छ त राज्यले ? त्यो गर्नुपर्यो । साना–साना इन्डस्ट्रिजहरूलाई माथि उठाउनुपर्छ । साना, मझौला लगानीका व्यवसायीलाई सपोर्ट गरिदिनुपर्छ । ऋण दिएर हुन्छ कि अनुदान दिएर पो हुन्छ कि ? के गर्दा हुन्छ, उनीहरूलाई त्यसमा निरन्तरता र नयाँ गर्नका लागि प्रोत्साहन दिइरहनुपर्यो । सस्तो ब्याजमा ऋण दिन सकिएला । केही हदसम्म अनुदानको व्यवस्था गर्न सकिएला । फेरि उनीहरूले आफूमाथि भएको लगानीको प्रतिफल पनि दिन्छन् नि । 

हामीले पर्यटनलाई दिगो विकाससँग जोड्नुपर्छ । पर्यटनबाटै नेपालको विकास र आर्थिक समृद्धिको सम्भावना छ । अब हाम्रो पर्यटन विकासका लागि बनाएका राज्यका अंगहरू छन्, तिनीहरूको पनि उपयुक्त व्यवस्थापन हुनुपर्छ । जस्तै कि नेपाल टुरिजम बोर्ड । यसलाई पनि हामीले एउटा स्वायत्त संस्थाका रूपमा अघि बढाउनुपर्छ । पर्यटन प्रवर्द्धनका लागि त्यो बोर्डले काम गर्नुपर्छ । बोर्डमा बस्ने, जागिर खाने, तर त्यसबापत कुनै नतिजा नआउने हो भने त त्यसको के अर्थ र ? त्यहाँ नेतृत्वमा बस्नेलाई महिनामा ४ लाख रुपैयाँ तलब खुवाएपछि त त्यसको रिजल्ट आउनुपर्यो नि । पर्यटन क्षेत्रमा काम गर्नेहरूको व्यवहार परिवर्तनमा के भूमिका खेले ? के विकास भयो ? के परिवर्तन भयो ? त्यो त हेर्नुपर्यो नि । टुरिजम बोर्ड भनेको चाहिँ विदेश घुम्न जाने ठाउँ मात्रै त हुनुभएन नि । हो, घुमेर–डुलेर मात्रै नयाँ आइडिया थाहा हुने हो । तर, घुम्ने–डुल्ने मात्रै त गर्नुभएन नि । बरु ठाउँ–ठाउँमा प्रतिनिधि कार्यालय खोले हुन्छ नि । विदेशको अभ्यास त नेपालका सबै पर्यटन व्यवसायीहरूलाई थाहा हुनुपर्छ । उनीहरूलाई पनि घुमाउने गर्नुपर्छ । 

मुलुकमा पर्यटन पूर्वाधारको अवस्थाबारे तपाईंको धारणा के छ ? 
हामीकहाँ ठाउँ–ठाउँमा जानका लागि अर्को यातायात चाहिन्छ । सबैतिर व्यवस्थित सडक पुग्नुपर्छ । भएका सडकहरूको मर्मत–सम्भार र व्यवस्थापन गर्नुपर्यो । एयरपोर्टहरू छन्, तिनीहरूको नियमित सञ्चालन र व्यवस्थापन गर्नुपर्छ । अहिले कतिपय ठाउँहरूमा व्यापार नभएका कारण उडानहरू हुन सकेको अवस्था छैन । कतिपय ठाउँमा प्रतिस्पर्धा छ । त्यसैले त्यसलाई पनि व्यवस्थित गर्नुपर्यो । पहिले त सेवा सञ्चालन हुनुपर्यो नि । सेवालाई प्राथमिकतामा राख्नुपर्छ । त्यसपछि व्यापारिक प्रतिस्पर्धा गर्ने हो ।

See More On

सुझावित समाचार