स्पेनी प्रशिक्षक लुइस एन्रिकको प्रशिक्षण यात्रा शोक, विछोड र क्रूरता

बिहिबार, १७ असार, २०७८
डिजिटल संस्करण
स्पेनी प्रशिक्षक लुइस एन्रिकको प्रशिक्षण यात्रा शोक, विछोड र क्रूरता

लुइस एन्रिक, स्पेनी प्रशिक्षक

नौ वर्षीया छोरीलाई गुमाउनुका साथै लामो समयदेखि सँगै रहेको मिल्ने साथी टाढिँएपछि एन्रिक ठूलो पीडामा बसे

स्पेनी टोलीका प्रशिक्षकको जिम्मेवारी सम्हालेको एक वर्ष पनि नपुग्दै जुन २०१९ मा लुइस एन्रिकले व्यक्तिगत कारण देखाउँदै जिम्मेवारी छाड्न लागेको घोषणा गरेका थिए । उनको उक्त घोषणाको केहीपछि उनकी नौ वर्षीया छोरी छानालाई हड्डीको क्यान्सर भएको सार्वजनिक भएको थियो । उनको घोषणाको दुई महिनापछि नै छोरी छानाको मृत्यु भयो । छोरीलाई क्यान्सर भएको थाहा पाएपछि नै प्रशिक्षक एन्रिकले जिम्मेवारी छाड्ने घोषणा गरेका रहेछन् ।

प्रशिक्षक एन्रिकका लागि त्यो पीडा यति असैह्य बन्यो कि उनले आफूलाई एकान्तमा राख्ने प्रयास गरे । उनी सामाजिक सञ्जालबाट पनि टाढा बसे । उनी त्यस वेला सम्भवत स्पेनी फुटबल संघसँग मात्रै सम्पर्कमा थिए ।

उनले आफ्नो प्रशिक्षण करिअरमा सुरुवातबाटै आफ्नो नजिकको साथी रोबर्ट मोरेनोबाट गजबको साथ पाएका थिए । एन्रिकले सन् २००८ मा बार्सिलोनाको टिम बीको जिम्मेवारी सम्हालेका थिए । मोरेनोले त्यस बेलादेखि नै एन्रिकको सहायकका रूपमा काम गरेका हुन् ।

मोरेनोले रोमा, सेल्टा भिगो, बार्सिलोना र स्पेनी राष्ट्रिय टोलीमा पनि एन्रिकको सहायकका रूपमा काम गरे । एन्रिक छोरी गुमाउँदाको पीडामा हुँदा स्पेनी टोलीको जिम्मेवारी मोरेनोले सम्हाले । उनले आफ्नो नेतृत्वमा स्पेनी टोलीलाई अपराजित रहँदै युरोकप २०२० का लागि छनोट गराए । 

आफ्नो छोरीलाई सदाका लागि गुमाएको पीडा भुलेर एन्रिक पाँच महिनापछि राष्ट्रिय टोलीको जिम्मेवारीमा फर्किए । एन्रिक फर्कनुअघि मोरेनोले भनेका थिए, ‘मेरो साथी आउन चाहेको अवस्थामा जतिखेरै पनि यो ठाउँ छाड्न चाहन्छु ।’ तर, उनीहरूको मिलन र विछोड सोचेजस्तो भएन । वर्षाैंदेखिका यी दुई मिल्ने साथीहरू छुट्टिए । उनीहरूको बाटो अलग भयो । एन्रिक स्पेनी टोलीको मुख्य प्रशिक्षक नियुक्त भए । मोरेनो जिम्मेवारीबाट हटाइए ।

सन् २०१८ मा रुसमा भएको फिफा विश्वकप उद्घाटन खेलको दुई दिनअघि मात्रै स्पेनी राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक जुलेन लोपेटेगुई बर्खास्तमा परे । राष्ट्रिय टोलीको जिम्मेवारीमा रहेकै वेला रियल म्याड्रिडको प्रशिक्षक बन्ने सम्झौता गरेको खुलेपछि उनी कारबाहीमा परेका थिए । 

उनीहरूले आफ्नो एउटा मिटिङमा आफूहरूबीचको पुरानो भावना हराएको महसुस गरेको एन्रिकले जनाएका छन् । एन्रिकले मोरेनोले आफ्नो सहायकको रूपमा काम गर्न अस्वीकार गरेको एउटा पत्रकार सम्मेलनमै खुलासा गरेका थिए । मोरेनोले युरोकप २०२० सम्म टोलीको जिम्मेवारीमा रहन चाहेको र उनको यो इच्छामा निष्ठाहीन देखिएको एन्रिकले जनाएका छन् । ‘मोरेनोले यसका लागि कडा मिहिनेत गरेका छन् । उनी धेरै महत्वाकांक्षी देखिएका छन् । यो उनको गुण हो, जसको म प्रशंसा गर्न चाहन्छु,’ स्पेनी टोलीको मुख्य प्रशिक्षकका रूपमा फर्किएपछिको पत्रकार सम्मेलनमा एन्रिकले भनेका छन्, ‘यद्यपि, उनले जे गरेका छन्, त्यसमा निष्ठाहीनता देखिएको छ । म मेरा कुनै पनि स्टाफले यस्तो निष्ठाहीन काम नगरोस् भन्ने चाहन्छु ।’

एन्रिकले आफ्नो जीवनको पछिल्लो एक वर्षभित्र व्यहोेरेका यी दुई ठूला पीडा हुन् । आफ्नो छोरीलाई गुमाउनुपर्दाको वियोगदेखि लामो समयदेखि सँगै राखेको मिल्ने साथी टाढिँदाको पीडाले एन्रिकलाई ठूलै समस्यामा पार्यो । यद्यपि, एन्रिक यी सबै पीडालाई भुलेर अघि बढ्ने प्रयास गर्दै छन् । यी सबै पीडालाई थाती राखेर उनी आफ्नो टोली स्पेनलाई युरोकपको उपाधितर्फ डोहोर्याउने प्रयासमा छन् । र, उनको यो प्रयास अहिले जारी युरोकपको क्वार्टरफाइनलसम्म पुगेको छ ।

...                                    ...

एन्रिकको प्रशिक्षण शैलीलाई लिएर धेरै चर्चा हुने गर्छ । विशेष गरी प्रि–सिजन प्रशिक्षणको विशेष चर्चा हुने गर्दछ । सिजन सुरु हुनुपहिले उनी आफ्ना खेलाडीहरूलाई कठिन भ्रमणमा लाने गर्छन् । मुस्किल पहाडदेखि मरुभूमिसम्म हिँडाउँछन् ।

एन्रिक आफैँ पनि त्यो कठिन परीक्षामा खरो उत्रन्छन् । त्यसैले उनी खेलाडीका रूपमा मात्रै फिट थिएनन्, प्रशिक्षकका रूपमा पनि ‘फिट’ छन् । उनी, पौडी खेल्ने, दौडिने, साइक्लिङ गर्नेदेखि कठिन खालका प्रशिक्षण मन पराउँछन् । उनले सन् २००७ मा २.४ माइलको फ्राङ्कफर्ट आइरोनम्यान च्यालेन्ज पूरा गरेका थिए । त्यसमा एक सय १८ माइल साइक्लिङ र पूरा म्याराथन पनि समावेश थियो ।

त्यसको अर्काे वर्ष उनले सहारा मरुभूमिमा ६ दिन लगाएर एक सय ५५ माइलको लिजेन्ड्री म्याराथन दौडिएका थिए । यस्ता साहसिक र कठिन काम गर्न रुचाउने एन्रिक आफ्ना खेलाडीलाई पनि यस्तै कठिन प्रशिक्षण गराउँछन् भन्ने त होइन । तर, त्यसको प्रभाव भने पक्कै देखिने गर्छ । खेल जीवनमा मिडफिल्डर वा स्ट्राइकरका रूपमा खेलेका एन्रिकले सन् १९८८ मा स्पोर्टिङ गिजोनबाट सिनियर टोलीमा डेब्यू गरेका थिए । त्यसको तीन वर्षपछि उनी रियल म्याड्रिड पुगेका थिए ।

म्याड्रिडबाट लिग र अन्य उपाधि जिते पनि एन्रिक क्लब व्यवस्थापन र समर्थकबाट कहिल्यै मन पराइएनन् । त्यसैले उनी सन् १९९६ मा रियलको चिर प्रतिद्वन्द्वी बार्सिलोनासँग आबद्ध हुन पुगे । बार्सिलोनामा व्यवस्थापनको विश्वास जितेका उनले कप्तानकै जिम्मेवारी पाए । बार्सिलोनाले उनको कप्तानीमा दुई लिग उपाधि, दुई कप र युरोपियन कप विनर्स कपको उपाधि जित्यो ।

सक्रिय खेल जीवनबाट बिदा लिएपछि प्रशिक्षणतर्फ लागेका उनी नयाँ सुरुवातमा पनि उत्तिकै सशक्त देखिएका छन् । प्रशिक्षकहरूमध्ये पेप ग्वार्डिओलासँग उनको नजिकको सम्बन्ध छ । उनीहरूबीच विशेष सम्बन्ध छ । उनीहरू फुटबलका बारेमा घन्टौँसम्म गफ गरेर बिताउन सक्छन् । त्यसले उनीहरूको प्रशिक्षण ज्ञानलाई पनि व्यापक बनाएको छ ।

एन्रिकको शैली आक्रामक हुने गर्दछ । उनी आफ्नो टोलीलाई प्रतिस्पर्धी र सशक्त बनाउने गर्छन् । उनको प्रशिक्षण शैलीमा उनी खेल जीवनको प्रभाव पनि देखिन्छ । उनी विपक्षीको क्षेत्रमा नियमित आक्रमण गर्ने, चाँडो बलमाथिको नियन्त्रण कायम गर्ने र आवश्यक परेको अवस्थामा पछाडि पनि विपक्षी खेलाडीलाई निगरानीमा राख्ने शैली अपनाउँछन् । उनले यो शैली आफ्नो प्रशिक्षण करिअरका पहिलो जिम्मेवारीबाटै अपनाएका हुन् । जुन शैली अहिले बार्सिलोनाको युथ टोलीमा पनि देख्न सकिन्छ । 

उनले फुटबल प्रशिक्षणमा धेरै नयाँ कुरा पनि थपेका छन् । आफ्ना खेलाडीको प्रशिक्षण र त्यसको प्रभावबारे अध्ययन गर्ने छुट्टै शैली छ । खेलाडीहरूलाई जिममा व्यस्त बनाउनेदेखि खेलाडीहरूलाई आवश्यक उचित डाइटमा ध्यान दिने उनको विशेषता हो । उनको त्यही शैलीमा स्पेनले जारी युरोकपको पछिल्ला खेलमा सफलता प्राप्त गरेको छ । थप सफलता अझै हेर्न बाँकी छ ।

स्पेनी टोलीको जिम्मेवारी उनको सपना थियो । ९ जुलाई २०१८ उनको यो सपना पूरा भएको दिन हो । सायद उनले जसरी चाहेका थिए, त्यसरी भने उनले आफ्नो सपना पूरा गर्न पाएनन् । 

सन् २०१८ मा रुसमा भएको फिफा विश्वकप उद्घाटन खेलको दुई दिनअघि मात्रै स्पेनी राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक जुलेन लोपेटेगुई बर्खास्तमा परे । राष्ट्रिय टोलीको जिम्मेवारीमा रहेकै वेला रियल म्याड्रिडको प्रशिक्षक बन्ने सम्झौता गरेको खुलेपछि उनी कारबाहीमा परेका थिए । 

त्यसपछि रुस विश्वकपमा स्पेनी फुटबल संघका स्पोर्टिङ डिरेक्टर फर्नान्डो मिइर्राेले टोलीको जिम्मेवारी सम्हाले । यद्यपि, स्पेन विश्वकप २०१८ को प्रिक्वार्टरफाइनलमा आयोजक रुससँग पराजित हुँदै बाहिरियो । त्यसपछि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने एन्रिकको बाटो खुलेको हो ।

सन् २०१४ बाट बार्सिलोनाको मुख्य प्रशिक्षकको रूपमा तीन वर्ष बिताउँदा उनले टोलीलाई महत्वपूर्ण सफलता दिलाएका थिए । उनले जिम्मेवारी सम्हालेको पहिलो सिजन नै बार्सिलोनाले कप, लिग र युरोपियन च्याम्पियन्स लिग गरी तीन ठूला उपाधि जितेको थियो । दोस्रो सिजनमा बार्सिलोनाले घरेलु दुई ठूलो उपाधि जितेको थियो ।

बार्सिलोनाको जिम्मेवारी छाडेको वर्ष दिनपछि नै उनी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त हुन पुगेका थिए । यद्यपि, उनलाई वियोग र विछोडले छाडेन । त्यो पीडाबाट बाहिर निस्केर उनी आफ्नो टोलीलाई सफलतातर्फ अघि बढाउने प्रयासमा छन् ।
 

See More On

सुझावित समाचार