रसियाले युरोकप २०२० मा तीन अंक बटुलेको छ । रसिया र फिनल्यान्डबीच बुधबार साँझ भएको खेलमा १–० ले विजय हासिल गरेसँगै रसियाले तीन अंक जोडेको हो ।
युरोकपमा फिनल्यान्ड पहिलो सहभागिता भएको हो । समूह बीमासहभागी तीन टोलीले तीन–तीन अंक जोडेका छन् । डेनमार्क मात्र अंकविहीन छ । रसिया र फिनल्यान्डले दुई खेल खेलेका छन् ।
रसियाले घरेलु मैदान सेन्ट पिटरवर्ग मैदानमा खेलको पहिलो हाफको इन्जुरी समयमा एक मात्र गोल गरेको थियो । अलेक्सेय मिरान्चुकले फिनल्यान्डको बलियो डिफेन्स तोड्दै रसियालाई १–० को अग्रता दिलाए । खेलमा थप गोल नहुँदा उनकै गोल निर्णायक बन्यो । खेलको १४औँ मिनेटमा रसियाका कप्तान अर्टिम ज्युवाको प्रहार क्रसबारमा लागेको थियो ।
रसियालाई हराउँदा फिनल्यान्ड नकआउट चरणमा पुग्ने सम्भावना बलियो हुने थियो । खेलमा जोएल पोजान्पालोको हेडिङ गोल अफसाइड हुँदा फिनल्यान्ड निराश बन्यो । फिनल्यान्डले समूहको पहिलो खेलमा डेनमार्कमाथि १–० को जित निकालेको थियो । सो खेलमा डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन मध्यान्तरको पाँच मिनेटअघि अचेत हुँदै मैदानमा ढलेका थिए ।
तत्कालै मैदानमा चिकित्सकहरूको सहयोगमा उनी होसमा आएका थिए । रसियाविरुद्धको खेलमा फिनल्यान्डले क्रिस्टियनको स्वास्थ्य लाभको कामना गरेका थिए । उनीहरूले आ–आफ्नो टी–सर्टमा ‘गेट वेल क्रिस्टियन’ लेखेका थिए ।
फुटबल तथ्यांकमा फिनल्यान्डले रसियालाई अन्तिमपटक सन् १९१२ को ओलम्पिक फुटबलमा हराएको थियो । त्यसयता रसिया फिनल्यान्डमाथि हाबी छ । अहिलेसम्म फिनल्यान्ड र रसियाबीच चारपटक खेल भएको छ । जसमा रसियाले फिनल्यान्डलाई हराएको छ । रसियाले पछिल्लो १२ मध्ये तीन खेल मात्र गुमाएको छ । युरोकपमा आफ्नो पहिलो खेलमा रसिया बेल्जियमसँग ३–० ले पराजित भएको थियो ।
प्रतिस्पर्धामा रसियाले ५९ र फिनल्यान्डले ४१ प्रतिशत बल पोसेसन बनाएको थियो । दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए । फिनल्यान्डले ११ पटक गोल प्रयास गर्दा रसियाले १४ पटक पोस्ट चार्ज गरेको थियो ।