प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता ‘उल्लंघन’ गरेपछि निर्वाचन आयोगको ध्यानाकर्षण

बिहिबार, ६ जेठ, २०७८
डिजिटल संस्करण

- आचारसंहिताविपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई कारबाही गर्न सक्छौँ र आचारसंहिताविपरीत कार्य गर्नेको अभिलेख पनि राखिन्छ : आयोग
- सरकारप्रमुखले मतदातालाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा : माओवादी
- मौन अवधि तोकेको वेला प्रधानमन्त्रीको सार्वजनिक वक्तव्य आचारसंहिताविपरीत छ, कानुनबमोजिम कारबाही हुनुपर्छ : कांग्रेस

बागमती प्रदेशमा आज हुन लागेको राष्ट्रिय सभा उपनिर्वाचनमा आचारसंहिताविपरीत प्रधानमन्त्री केपी ओलीले प्रेस विज्ञप्ति जारी गरेपछि निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा मतदानको अघिल्लो दिन बुधबार प्रधानमन्त्री ओलीले एमालेका उम्मेदवार रामबहादुर थापालाई भोट माग्दै विज्ञप्ति जारी गरेपछि आयोगले कारबाही गर्नेसम्मको चेतावनी दिएको हो ।

आयोगले अनुरोध गर्दागर्दै पनि आचारसंहिता लागू भइसकेको सन्दर्भमा यसविपरीतका क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयताप्रति नै आघात पार्ने चिन्ता व्यक्त गरेको छ ।

यस्तै, कांग्रेसले पनि राष्ट्रिय सभा उपनिर्वाचनमा प्रधानमन्त्री ओलीले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाहीको माग गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता उल्लंघन भएकोप्रति आपत्ति जनाएका छन् ।

सुझावित समाचार