‘१५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्ने सरकारी निर्देशन लागू गर्न कठिन’

शुक्रबार, ३१ बैशाख, २०७८
डिजिटल संस्करण

सरकारले १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्न भनेर दिएको निर्देशन लागू गर्न कठिन हुने निजी अस्पतालले बताएका छन् । अहिलेको विषम परिस्थितिमा १५ दिनभित्र अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सम्भव नभएको निजी अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)को जिकिर छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार कम्तीमा सय बेड सञ्चालन गरेका निजी तथा सामुदायिक अस्पताललाई तत्काल अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको थियो । अस्पतालले अक्सिजन प्लान्ट जडान गरेर त्यसको जानकारी स्वास्थ्य मन्त्रालयमा गराउनुपर्ने निर्देशन सरकारले दिएको थियो । गम्भीर समयमा अक्सिजन व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुको सट्टा १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नू भन्दै सरकारले हावादारी निर्देशन दिएर आफ्नो दायित्वबाट विमुख हुन खोजेको निजी अस्पतालहरूले आरोप लगाएका छन् । 

अफिनले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सीमित स्रोत–साधनबीच पनि निजी अस्पतालहरूले आफ्नो सम्पूर्ण ध्यान कोभिड संक्रमित बिरामीको उपचारमा केन्द्रित गरिरहेको अवस्थामा अत्यावश्यक साधनस्रोत राज्यले उपलब्ध गराउने साटो यस्तो गैरजिम्मेवारपूर्ण निर्णयले राज्य अहिलेको विषम परिस्थितिमा कसरी सञ्चालन भइरहेको छ भन्ने स्पष्ट हुन्छ ।’

अहिले देशैभरि निषेधाज्ञा जारी रहेको, अन्तर्राष्ट्रिय हवाई सेवा पनि बन्द भएको र द्रुत ढुवानीको अरू कुनै विकल्प नभएका वेलामा तत्काल अक्सिजन प्लान्ट ल्याएर जडान गर्न सम्भव नरहेको अफिनको ठहर छ । ‘अक्सिजन प्लान्ट भनेको बजारबाट टप्प टिपेर जडान गर्ने उपकरण होइन, विश्वको कुनै पनि उद्योगले खरिद सम्झौतापछि तीन महिना नभई प्लान्ट तयार गरिदिने अवस्था रहँदैन, प्लान्ट भित्रिएपछि पूर्वाधार तयार पारेर उपकरण जडान गर्न कम्तीमा १५ दिन लाग्छ,’ विज्ञप्तिमा भनिएको छ । 

अफिनका अनुसार सय शय्याको अस्पतालका लागि सरकारको मापदण्डबमोजिमको प्लान्टको मूल्य कम्तीमा दुई करोड पर्छ । र, त्यो प्लान्ट ल्याएर जडान गर्न चाहिने पूर्वाधार निर्माण गर्न थप ५० लाख आवश्यक हुन्छ । अहिलेको अवस्थामा उक्त लगानी गरेर अक्सिजन प्लान्ट जडान गर्न सबै अस्पताल सक्षम नभएको अफिनको जिकिर छ ।

‘कोभिड– १९ महामारीका कारण देशभरि नै अक्सिजनको अभाव भएकोबारेमा हामी अवगत छौँ । र, यो असहज अवस्थाप्रति गम्भीर पनि छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘देशैभरि अक्सिजन अभावको वर्तमान समस्या समाधान गर्न सरकारका तर्फबाट विशेष कदम चालिनुपर्ने र सरकारको कदममा कदम मिलाई साथ दिन निजी अस्पतालहरू तयार रहेको पनि जानकारी गराउन चाहन्छौँ ।’

कोभिडका कारण देशले भोग्नुपरेका समस्या समाधानका लागि आफ्नो तहबाट सम्पूर्ण सामथ्र्यका साथ योगदान गर्न अहोरात्र खटिइरहेको निजी अस्पतालहरूले बताएका छन् । आगामी दिनमा पनि कोभिड महामारीसँग जुध्न सरकारले चालेका कदमलाई साथ दिन तयार रहेको अफिनको भनाइ छ ।

See More On

सुझावित समाचार