एनएसएल प्लेअफ आजबाट, चारै टोलीको लक्ष्य फाइनल

मंगलबार, २८ बैशाख, २०७८
डिजिटल संस्करण

नेपालमा पहिलोपटक आयोजित फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलको पहिलो क्वालिफायरमा मंगलबार काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दै छन्, विजेता टोली फाइनलमा पुग्नेछ ।

नेपाल सुपर लिग (एनएसएल)को प्लेअफका खेलहरू आज (मंगलबार)बाट सुरु हुँदै छन् । प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा मंगलबार साँझ काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दै छन् । 

यो खेलको विजेता टोली एनएसएलको फाइनल पुग्ने पहिलो टोली बन्ने छ । पराजित टोलीले फाइनलमा स्थान सुरक्षित गर्न दोस्रो अवसर पाउनेछ । पहिलो क्वालिफायरमा पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन् ।

बुधबार हुने इलिमिनेटरमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्दै छन् । १ जेठमा हुने फाइनल खेलमा पहिलो र दोस्रो क्वालिफायरको विजेता टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्लेअफ चरणका सबै खेल साँझ ५ः३० बजे हुनेछन् ।

प्लेअफ चरणका खेल सुरु हुनुअघि चारै टोलीले आफ्नो लक्ष्य उपाधि जित्नु नै रहेको जनाएका छन् । पहिलो क्वालिफायरको तयारीमा रहेको काठमाडौंले आफ्नो खेलाडी उच्च लयमा रहेको जनाएको छ । 

रोमाञ्चक खेलको अपेक्षा
लिग चरणको खेललाई आधार मान्ने हो भने काठमाडौं र धनगढी प्रतियोगिताकै दुई बलिया टोली हुन् । त्यसैले यी दुई टोली मंगलबार प्रतियोगिताको पहिलो क्वालिफायरमा प्रतिस्पर्धाका लागि मैदानमा उत्रँदा रोमाञ्चक खेलको अपेक्षा गरिएको छ । 

प्रतियोगितामा यी दुई टोलीले नै विपक्षीविरुद्ध बढी गोल गरेका छन् । काठमाडौंले नौ र धनगढीले आठ गोल गरेका छन् । दुवै टोलीको गोल गर्न सक्ने क्षमताले पनि प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको हो । प्रतियोगिताको लिग चरणमा एक–अर्काविरुद्ध भएको प्रतिस्पर्धाको आधारमा भने धनगढी बलियो देखिएको छ । 

प्रतियोगिताको दोस्रो चरणमै भएको प्रतिस्पर्धामा धनगढीले काठमाडौंलाई ३–० ले पराजित गरेको थियो । यो प्रतिस्पर्धा काठमाडौंका लागि बदला लिने अवसर हुनेछ । यद्यपि लगातार दुई खेलमा जित हात पार्दै धनगढीले काठमाडौंमाथि आफ्नो प्रभुत्व कायम गर्न पनि सक्नेछ । 

पछिल्लो खेलमा अफ्रिकी खेलाडी मेसुके ओलोमेउको प्रदर्शनबाट काठमाडौं सशक्त देखिएको छ । विशेष गरी विराटनगरविरुद्ध सिटी एफसीविरुद्ध दुई गोलले पछि परेको अवस्थाबाट फर्किएर ५–४ को जित हात पार्नुअघि मेसोकेले ह्याट्रिक गरेका थिए । धनगढी पनि आफ्ना अफ्रिकी खेलाडी ओलावाले अफिजको पुनरागमनबाट उत्साहित छ । पोखरा थन्डर्ससँगको खेलमा चोटग्रस्त देखिएका अफिज मंगलबार मैदानमा फर्कनेछन् । 

के भन्छन् प्लेअफका चार टोलीका प्रशिक्षक र कप्तान ?

तयारी गर्नका लागि त्यति धेरै समय त छैन । तर, हामी महत्वपूर्ण खेलका लागि मानसिक रूरुपमा तयार छौँ । हाम्रो विपक्षी टोली पनि बलियो छ । त्यसैले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । - किरण चेम्जोङ, कप्तान (धनगढी एफसी)

तयारी राम्रो भएको छ । हाम्रो प्रतिद्वन्द्वी टोली पनि बलियो छ । उनीहरूको अग्रपंक्त राम्रो छ । यद्यपि, हामीले पनि योजना बनाएका छौँ । उनीहरूलाई रोकेर हामी अघि बढ्नेछौँ । - फुजा टोपे, प्रशिक्षक (धनगढी एफसी)

तयारी राम्रो छ । खेलाडीबीच तालमेल मिल्दै छ । ललितपुरको स्कोरिङ राम्रो छ । त्यसलाई रोकेर अघि बढ्ने प्रयास गर्नेछौँ । हामी जितकै लागि खेल्नेछौँ । 
- उज्वल मानन्धर, प्रशिक्षक (बुटवल लुम्बिनी एफसी)

टोली लयमा छ । त्यहीअनुसारको प्रशिक्षण भइरहेको छ । राम्रो कुरा भनेको खेलाडीमा चोटको समस्या छैन । सबै फिट छन् । हाम्रो टोलीमा देखिएको कमजोरीमा पनि सुधार गर्नेछौँ । -  विराज महर्जन, कप्तान  (बुटवल लुम्बिनी एफसी)

पहिलोपटक कप्तानका रूपमा प्रतियोगिता खेल्दै छु । यसमा टोलीलाई सफलता दिलाउने दबाब पनि हुने रहेछ । अहिलेसम्मको प्रदर्शनअनुसार राम्रै हुनेछ । हामी जितकै लागि मैदानमा उत्रनेछौँ । - विकेश कुथु, कप्तान (काठमाडौं रेजर्स)

काठमाडौंले लिग चरणको सुखद अन्त्य गरेको छ । त्यसले पनि खेलाडी उत्साहित छन् । प्रत्येक खेलमा सुधार भएको छ । आगामी खेलमा अझ राम्रो हुने अपेक्षा छ । हामी जितकै लागि खेल्नेछौँ । - बालगोपाल महर्जन, मुख्य प्रशिक्षक (काठमाडौं रेजर्स)

हामी असम्भवजस्तै देखिएको ठाउँबाट यहाँसम्म आइपुगेका छौँ । त्यसैले खेलाडीमा प्लेअफ पुग्दाको उत्साह फरक छ । खेलाडी तयार छन् । राम्रो नतिजाकै लागि खेल्ने योजना छ । - राजु तामाङ, प्रशिक्षक (ललितपुर सिटी एफसी)

हामीले पहिलो खेलबाटै राम्रो गर्न खोजेका हौँ । तर, जितका लागि लामै समय कुर्नुप¥यो । यद्यपि पछिल्लो खेलमा एकपछि अर्काे राम्रो भएको छ । हामी अबको खेलमा पनि राम्रो गर्नेछौँ । - अञ्जन विष्ट, कप्तान (ललितपुर सिटी एफसी)

See More On

सुझावित समाचार