सुरक्षित तवरले संसद् बैठक सञ्चालन गर्नेबारे सभामुखले गरे विज्ञहरूसँग परामर्श

सोमबार, २० बैशाख, २०७८
डिजिटल संस्करण

बढ्दो कोरोना संक्रमणबीच संसद् बैठक सुरक्षित तवरले सञ्चालन गर्नेबारे सभामुख अग्निप्रसाद सापकोटाले स्वास्थ्य विज्ञहरूसँग परामर्श गरेका छन् । सोमबार संसद् भवन बानेश्वरमा छलफल भएको हो ।
 
छलफलमा सभामुख सापकोटा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइराला, डाक्टर अनुप सुवेदी, डाक्टर लोचन कार्कीलगायतको उपस्थिति थियो । साथै, संसद् सचिवालयका कर्मचारीहरू पनि छलफलमा सहभागी भएका थिए ।

डाक्टरहरूले कोभिडको समयमा बैठक राख्दा सांसदहरूको अनिवार्य पिसिआर परीक्षण गर्न सुझाब दिएका थिए । त्यस्तै, एन– ९५ मास्क अनिवार्य गर्न पनि उनीहरूको सल्लाह थियो । त्यस्तै, तीन मिटरको दूरी कायम गरेर बैठक सञ्चालन गर्न उनीहरूको सुझाब थियो ।
छलफलमा सभामुख सापकोटाले डाक्टरहरूको सल्लाहअनुसार नै आफूहरू चल्ने बताएका थिए । सभामुख सचिवालयको भनाइ छ, ‘छलफलमा विज्ञहरूले सुझाब दिनुभयो । सभामुखज्यूले छलफलमा उठेका सुझाबहरूलाई कार्यव्यवस्था बैठकमा राख्छौँ र कार्यान्वयनका लागि अघि बढाउँछौँ भन्नुभयो ।’ २७ वैशाखमा प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ ।
 

सुझावित समाचार