नेपाली कांग्रेसका प्रवक्रा विश्वप्रककाश शर्माले प्रधानमन्त्री केपी ओलीलाई महामारीमा संसद् विघटन गरी चुनाव घोषणा गर्नेले अस्पतालमा बेड र भेन्टिलेटर छैन भन्न लाज हुँदैन ? भनेर प्रश्न गरेका छन् ।
शनिबार विज्ञप्तिमार्फत सार्वजनिक अपिल गर्दै प्रवक्ता शर्माले स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपिल गर्नु स्वाभाविक भए पनि अस्पतालमा शय्या उपलब्ध गराउन सकिँदैन भनेर वक्तव्य जारी गर्नु लाचारी र गैरजिम्मेवारीपन भएको उल्लेख गरे । उनले संकटमा राज्यले हतास र त्रास फैलाउने नभई विश्वास प्रवाह गर्नुपर्नेमा जोड दिए ।
पूरै वर्ष दिन सत्ता द्वन्द्वमा बिताउने, संसद् विघटन गरेर मध्यमहामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने !’ उनको अपिलमा भनिएको छ ।
इतिहासकै सबैभन्दा गैरजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलबाडको व्यववहार भएको भन्दै उनले यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन नसकिने बताए । लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोनाविरुद्धको संघर्षमा राज्यको क्षमता विस्तार गर्न उनले सरकारलाई अपिल गरेका छन् ।
संकटका वेला हरेक नागरिकको अभिभावक राज्य हुने भन्दै उनले बेडको अभाव हुन थाल्यो भने अभावको गीत गाएर त्यो अभिभावकत्व पूरा नहुने बताए । उनले भनेका छन् ‘प्रधानमन्त्रीज्यू, संकटमा राज्य हतास होइन नागरिकलाई ढाडस बन्नुपर्छ । ‘बेड छैन’ भन्नु लाचारी र लज्जास्पद ! युद्धस्तरमा समाधान खोजौँ !