संकट गहिरिएपछि बाँकेका स्थानीय तहमा धमाधम अक्सिजनसहित आइसोलेसन बनाइँदै

बुधबार, १५ बैशाख, २०७८
डिजिटल संस्करण
संकट गहिरिएपछि बाँकेका स्थानीय तहमा धमाधम अक्सिजनसहित आइसोलेसन बनाइँदै

खजुरास्थित जनक शिक्षा सामग्री केन्द्र आइसोलेशनको अनुगमन गर्दै बाँकेका प्रजिअ शिवराम गेलाल, प्रहरी प्रमुख ओमबहादुर राना, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिलगायत ।

कोभिड– १९ को दोस्रो लहरले सबैभन्दा बढी संकट व्यहोरेपछि बाँकेका स्थानीय तह धमाधम अक्सिजनसहितको आइसोलेसन स्थापना गर्न जुटेका छन् । कोरोनाबाट थप क्षति व्यहोर्नु नपरोस् भनेर अक्सिजनसहितका आइसोलेसन वार्ड निर्माण हुन थालेको हो । 

नेपालगन्ज उपमहानगरपालिकाले ५० शड्ढयाको आइसोलेसन वार्ड निर्माण गरेको छ । त्यहाँ अक्सिजनको समेत प्रबन्ध गर्न थालिएको उपमहानगर प्रमुख डा. धवलशमशेर राणाले बताए । भेरी अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि उपमहानगरपालिकाले रामलीला मैदानस्थित नारी उत्थान केन्द्रको सभाहललाई आइसोलेसन वार्ड बनाउँदै छ । त्यहाँ अक्सिजनसहितको कोभिड अस्पताल बनाउन लागिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । ‘एक–दुई दिनमै कोभिड अस्पताल सञ्चालनमा ल्याउने गरी तयारी भएको छ,’ चन्दले भने । उपमहानगरपालिकाले ह्वाइटहाउसमा सञ्चालन गरिरहेको आइसोलेसन केन्द्रलाई पनि नियमित रूपमा सञ्चालन गर्ने भएको छ ।

खजुरामा ४० बेडको आइसोलेसन
खजुरा गाउँपालिकाले खजुरास्थित जनक शिक्षा सामग्री केन्द्रमा ४० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । उक्त आइसोलेसनमा २० वटा अक्सिजन बेड राखिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । उनले आवश्यकताअनुसार बेड थप्दै जाने बताए । बैजनाथ गाउँपालिकाले २१ बेडका कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागेको छ ।  

पाँच बेडको अक्सिजनसहितको कोभिड अस्पताल पहिलेदेखि नै सञ्चालनमा रहेको र थप १६ बेड निर्माण कार्य जारी रहेको गाउँपालिका प्रमुख मानबहादुर रुचालले बताए । उनले २५ वटा अक्सिजन सिलिन्डर खरिद गरी सबै बेडलाई अक्सिजनयुक्त बनाइने बताए । ‘आवश्यकता परे गाउँपालिकाभित्र रहेका टिटिहिरिया, चिसापानी र नौबस्ता स्वास्थ्य चौकीमा अक्सिजनसहितको पाँच–पाँच बेडको आइसोलेसन सेन्टर बनाउने निर्णय भएको छ,’ उनले भने ।

बैजनाथ गाउँपालिकाले गनापुरस्थित खुला कारागारलाई ५० बेडको आइसोलेसन बनाउने भएको स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले बताए । उनले उक्त आइसोलेसनमा १० वटा अक्सिजन सिलिन्डर राखिने बताए । २४ बेडको आइसोलेसन १५ वैशाखबाट सञ्चालनमा आउँछ । ‘आवश्यकताअनुसार बेड संख्या थप्दै जाने गाउँपालिकाको योजना छ,’ उनले भने । 

नरैनापुरमा २५ बेडको आइसोलेसन
नरैनापुर गाउँपालिकाले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा २५ बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । उक्त आइसोलेसनमा नौजना संक्रमित बसेर स्वास्थ्य लाभ गरिरहेको स्वास्थ्य शाखा प्रमुख नागेन्द्र यादवले बताए । उनले आइसोलेसनमा दुईवटा अक्सिजन सिलिन्डर जडान भएको बताए । 

कोहलपुर नगरपालिकाले कोहलपुर नगरपालिका– २ स्थित प्राकृतिक चिकित्सालय तथा योग केन्द्रलाई कोभिड आइसोलेसन बनाउन लागेको छ । अक्सिजनसहित ५० बेडको आइसोलेसन बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले बताए । उनले चारवटा अक्सिजन सिलिन्डरसहित १५ बेडको आइसोलेसन सञ्चालनमा रहेको बताउँदै तत्काल २५ बेड पुर्‍याउन लागेको बताए । ‘सोही आइसोलेसनलाई ४० बेड पु¥याउने नगरपालिकाको योजना छ,’ उनले भने । 

आइसोलेसनमा एकजना मेडिकल अफिसर, चारजना स्टाफ नर्स र दुईजना एचएले सेवा दिइरहेको बताए । होम आइसोलेसनमा रहेका संक्रमितको निगरानी अनलाइनमार्फत स्वास्थ्यकर्मीले गर्दै आएको बताउँदै उनले औषधि उपचार पनि नगरपालिकाले नि:शुल्क गर्दै आएको जानकारी दिए । बिरामीलाई अस्पताल पुर्‍याउन र ल्याउन एम्बुलेन्स तयारी अवस्थामा छ । आइसोलेसन सञ्चालनका लागि स्रोत व्यवस्थापन भइसकेको छ,’ उनले भने । 

राप्ती–सोनारीमा तीनवटा वडामा आइसोलेसन खुल्दै
राप्ती–सोनारी गाउँपालिकाले तीनवटा वडामा आइसोलेसन सञ्चालनमा ल्याउने भएको छ । उसले कचनापुर, बैजापुर र फत्तेपुरमा आइसोलेसन सञ्चालनमा ल्याउन लागेको स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले बताए । उनले कचनापुर र बैजापुरमा १५–१५ तथा फत्तेपुरमा ६ बेडको आइसोलेसन सञ्चालनमा ल्याउन लागेको बताए । कचनापुरमा तीनथान अक्सिजनसहितका आइसोलेसन सञ्चालनमा रहेको बताउँदै बैजापुर स्वास्थ्य चौकीमा तीनवटा अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याउन खोज्दा स्थानीयले विरोध गरेको बताए । गाउँपालिकाका १७ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । उनीहरू कचनापुरस्थित आइसोलेसनमा बसेका छन् । 

खजुरा–१ का अध्यक्षले बनाए आइसोलेसन
खजुुरा गाउँपालिका– १ का वडाध्यक्ष सुमन मल्लले आफ्नै खर्चमा अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएका छन् । उनले राधापुर स्वास्थ्य चौकीमा अक्सिजनसहितको १० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको बताए । गाउँपालिकामा बजेट नभएपछि आफ्नो वडाका बिरामीका लागि आफ्नै खर्चमा आइसोलेसन सञ्चालनमा ल्याएको उनले दाबी गरे । बाँकेमा कोरोना संक्रमणको अवस्था भयावह भएपछि उपचार नपाउने अवस्था सिर्जना भएपछि आइसोलेसन निर्माणमा जुटेको जानकारी दिए । ‘मैले मार्केटिङका लागि अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएको होइन । आफ्नो वडाका जनताको पीडा हेर्न नसकेर आइसोलेसन सञ्चालन गरेको हुँ,’ वडाध्यक्ष मल्लले भने । ‘एक्स–रे मेसिन आइपुगेको छ । प्राविधिकले १४ वैशाखमा जडान गरेपछि १५ गतेबाट सञ्चालनमा ल्याउँछौँ,’ वडाध्यक्ष मल्लले भने ।

भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजको क्षमता विस्तार

बाँकेका भेरी अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरले संक्रमितको संख्या बढ्दै जाँदा बेड क्षमता विस्तार गरेका छन् । संक्रमितको संख्या बढ्दै गर्दा ती अस्पताल भरिभराउ छन् । संक्रमितको संख्या दिनप्रतिदिन थपिँदै गएपछि दुवै अस्पताललाई संक्रमित थेग्न मुस्किल परिरहेको छ । संक्रमण दर बढेसँगै दुवै अस्पतालले बेड थप्दै सेवा विस्तारसमेत गरेका छन् । एक सय ४२ बेडको भेरी कोरोना विशेष अस्पताल दुई सय बेड क्षमतको बनाइएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले पनि बेड थप गरी सय पुर्‍याएको उपनिर्देशकसमेत रहेका कोरोना फोकलपर्सन डा. दिनेश श्रेष्ठले जानकारी दिए । 

शिक्षण अस्पताल कोहलपुरमा मंगलबार ४८ जना संक्रमित उपचाररत छन् । तीमध्ये २८ जनाको आइसियूमा र अन्यको अक्सिजन सुविधा भएको आइसोलेसनमा उपचार भइरहेको छ । ‘सामान्य खालका बिरामीलाई भर्ना नलिएर होम आइसोेलेसनमा पठाउन थालेका छौँ । यहाँ उपचाररत २० जनाको स्वास्थ्य अवस्था मध्यम र २८ जनाको जटिल छ,’ डा. श्रेष्ठले भने ।

उनले शिक्षण अस्पताल कोहलपुरलाई कोभिड अस्पतालका रूपमा विकास गर्न लागिएको बताए । दुई सय ५० बेड बनाएर कोभिडका बिरामीको मात्र उपचार गर्ने योजना रहेको उनको भनाइ छ । ‘जनरल वार्डमा रहेका ननकोभिड बिरामीलाई नेपालगन्ज स्थानान्तर गरेर यहाँ कोभिडका बिरामीको मात्र उपचार गर्ने केन्द्र बनाउन लागेका छौँ । सरकारले कोरोनाका क्रिटिकल बिरामीको उपचार गर्न विशेष खालको ५० बेड दिने भएको छ । यो हाम्रो लागि सौभाग्य हो,’ डा. श्रेष्ठले भने ।

शिक्षण अस्पतालमा पाँच सय ६० जना जनशक्ति कार्यरत छन् । तीमध्ये ४० जना पजिटिभ भइसकेको उनले जानकारी दिए । कोरोना संक्रमण दर बढेपछि भेरी अस्पतालले पनि बेड थप गरी सेवा वृद्धि गरेको जनाएको छ । सय बेडलाई वृद्धि गरी दुई सय बेड पुर्‍याइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिए । उनले एक सय ४२ जनाको स्वास्थ्य अवस्था सामान्य र ७२ जना सिकिस्त भएको बताए ।

त्यसैगरी, होटेल ह्वाइटहाउसमा ४३, खजुरास्थित जनक शिक्षा सामग्री केन्द्र आइसोलेसनमा दुईजना र खजुराको राधापुर आइसोलेसनमा सातजना उपचाररत छन् । खजुराका जनक शिक्षा आइसोलेसनमा रहेका एक र राधापुर आइसोलेसनमा रहेका चारजनाको अवस्था मध्यम रहेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए । राप्ती–सोनारी गाउँपालिकाको कचनापुर आइसोलेसनमा १७ जनाले स्वास्थ्य लाभ गरिरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले बताए ।

सुझावित समाचार