कांग्रेस नेता रमेश लेखकले कांग्रेस सरकारको नेतृत्व दिन तयार भए पनि अहिले त्यस्तो परिस्थिति नबनेको बताएका छन् । सोमबारको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा नयाँ सत्तासमीकरणका विषयमा छलफल नभएको जानकारी दिँदै लेखकले भने, ‘सरकार बनाउनेबारे आजको पदाधिकारी बैठकमा छलफल भएको छैन । यद्यपि, वैकल्पिक सरकार दिने कुरा आवश्यकता प¥यो भने त्यसका लागि कांग्रेस तयार नै छ, तर अहिले त्यस्तो परिस्थिति बनेको छैन ।’
सभापति देउवाको विश्वासपात्र मानिने लेखकले परिस्थिति सुनिश्चित र परिपक्व भएको अवस्थामा कांग्रेस सरकारको नेतृत्व गर्न तयार रहेको बताए । ‘सरकार बनाउने कुरा कांग्रेसको हातको कुरा होइन, संसदमा कांग्रेस कमजोर अवस्थामा छ, त्यो परिस्थिति सुनिश्चित भएपछि मात्रै कांग्रेस अगाडि बढ्ने हो,’ लेखकले भने ।
सोमबारको बैठकमा १४औँ महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काममा भएको प्रगतिका विषयमा छलफल भएको छ । बैठकमा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले अहिलेसम्म गरेका काम र प्रगतिका विषयमा नेताहरूलाई जानकारी गराएको समितिका संयोजक लेखकले बताए ।
‘महाधिवेशनको पूर्वतयारीको सबैभन्दा पहिलो काम भनेको क्रियाशीलको वितरण र नवीकरण हो, वडादेखि केन्द्रसम्म पार्टीको संगठनको गठन गर्ने काम क्रियाशीलले गर्छन् । वडाबाट पठाउने क्षेत्रीय प्रतिनिधिले नै महाधिवेशन, महासमिति र सातवटै प्रदेशमा हुने प्रदेश अधिवेशनका प्रतिनिधिको पनि चयन गर्ने हुन्छ,’ लेखकले भने, ‘त्यसले क्रियाशील सदस्यको व्यवस्थापन सबैभन्दा प्रमुख र पहिलो तयारी गर्नुपर्ने विषय हो ।’
नेता लेखकले यसअघि निर्धारित महाधिवेशनको कार्यतालिकाअनुसार १० चैत अर्थात् मंगलबारसम्म क्रियाशील सदस्यताको टुंगो लगाएर नामावली केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने हो । कांग्रेसले सदस्यताको विवरण पठाउन सफ्टवेयरमा इन्ट्री गराउने प्रणाली अपनाएको छ । तर, अहिलेसम्म नौ जिल्लामा क्रियाशीलको विवरण इन्ट्री गर्ने काम नै सुरु भएको छैन । ‘अहिले हामीसँग झन्डै पाँच लाख क्रियाशील सदस्य छन् । र, पार्टीले जति क्रियाशील सदस्य वडामा छन्, त्यतिकै थप्ने र भएकालाई नवीकरण गर्ने नीति लिएको छ । त्यो हिसाबले हेर्दाखेरि देशभरिबाट झन्डै दश लाख क्रियाशील सदस्य हुन्छन् भन्ने छ,’ लेखकले भने, ‘यसलाई हामीले राजनीतिक अभियानका रूपमा अगाडि बढाएका छौँ ।’
उनका अनुसार अहिलेसम्म ६९ जिल्लाबाट इन्ट्री सुरु भएको छ । जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र प्रतिनिधिसभा क्षेत्रीय समितिहरूले क्रियाशील सदस्यता नवीकरणको विवरण सफ्टवेयरमा इन्ट्री गर्नुपर्ने हुन्छ । जसअनुसार ७७ वटै जिल्लामा जिल्ला र क्षेत्रीय समितिहरूले क्रियाशील नवीकरण र वितरणको विवरण इन्ट्री गरिसक्नुपर्ने हो । तर, अहिलेसम्म सप्तरी, सिराहा, धनुषा, बारा, रसुवा, बर्दिया, बाँके, रुकम पूर्व र डोल्पा जिल्लामा त्यस्तो विवरण इन्ट्री गर्ने कामको थालनी नभएको नेता लेखकले जानकारी दिए ।
अहिलेसम्म जम्मा इन्ट्री भएको तीन लाख ९२ हजार सात सय ९४ मध्ये नवीकरणतर्फ दुई लाख १२ हजार पाँच सय १९ जना र नवीकरणको एक लाख ८० हजार दुई सय ७५ जनाको विवरण इन्ट्री भएको छ । ‘धेरैजसो जिल्लामा काम सुरु भएको छ, तर काम सुस्त छ, त्यसलाई गति दिनुपर्ने अवस्था छ,’ लेखकले भने । क्रियाशीलको विवरण इन्ट्री गर्नका लागि देशभर करिब दुई सयजनाभन्दा बढी कर्मचारी खटिएका छन् ।
कांग्रेसले आगामी भदौ ७, ८, ९ र १० गते १४औँ महाधिवेशन सम्पन्न गर्ने गरी तल्ला तहको कार्यतालिका बनाएको छ । तर, कार्यतालिकाअनुसार कांग्रेसले महाधिवेशनको पूर्वतयारी भने गर्न सकेको छैन ।