साताको पहिलो दिन नेप्से परिसूचक ६३ दशमलव ३८ अंकले बढेर २ हजार ५ सय ३८ बिन्दुमा पुगेको छ । लामो करेक्सनपछि बजार यति अंकले बढेको हो । आइतबार नेप्से २३ फागुनयताकै उच्चदरमा वृद्धि भएको हो । ‘पर्ख र हेर’को अवस्थामा बसेका लगानीकर्ता बजार बढ्ने थप आशामा सक्रिय हुँदा बजारमा सुधार देखिन थालेको विश्लेषकहरू बताउँछन् ।
लामो करेक्सनपछि अलमलमा देखिएका लगानीकर्ता केही महिनायताकै न्यूनतम बिन्दुमा पुगेपछि सक्रिय हुन थालेका नेपाल इभेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । बजारको बुलिस प्रवृत्ति कायमै रहेको र यसअघि बैंकहरूको ब्याजदर घट्ने हल्लाहल्लामै सीमित भएकाले पनि बजारले गति लिएको दाबी उनको छ ।
‘क’ वर्ग कम्पनीको सेयर कारोबारमापक सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ४४ अंकले बढेर ४ सय ५३ बिन्दुमा पुगेको छ । यस दिन १३ वटै समूहको सूचक बढेको छ । होटेल तथा पर्यटन, जीवन र निर्जीवन बिमा समूहमा उच्चदरमा वृद्धि भएको छ । यी समूहमा ४ दशमलव ४४ देखि ५ दशमलव ३६ प्रतिशतसम्म वृद्धि भएको हो । अन्य विभिन्न समूह सूचक पनि ३ प्रतिशतदेखि १ प्रतिशतसम्म बढेका छन् ।
यस दिन २ सय ६ किसिमका धितोपत्र तथा ऋणपत्रको कुल ५ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ करोबार भएको छ । यो गत साताको दैनिक औसत कारोबार रकमभन्दा धेरै हो । धितोपत्र र ऋणपत्रको ८० हजार ९ सय ८६ पटकको कारोबारमा १ करोड २४ लाख ३० हजार कित्ता–इकाइ सेयर किनबेच भएको छ ।
लघुवित्तमा लगानीकर्ता आकर्षित
यस दिन लघुवित्त संस्थानमा लगानीकर्ता आकर्षित भएका छन् । आइतबार कारोबारमा आएका सबै लघुवित्त कम्पनीको मूल्य बढेको छ । तीनवटामा सर्किट ब्रेक नै लागेको छ । स्वरोजगार लघुवित्त, मिथिला लघुवित्त, सूर्योदय लघुवित्तको १० प्रतिशत मूल्य बढेर सर्किट ब्रेक लागेको हो । सामुदायिक लघुवित्त, सुमित लघुवित्त, किसान लघुवित्त, स्वाभिमान लघुवित्तलगायत सबै लघुवित्तको मूल्य ९ दशमलव ९९ प्रतिशतदेखि ९ दशमलव १८ प्रतिशतसम्मले बढेको छ । त्यस्तै, अन्य लघुवित्त कम्पनीको समेत सेयर मूल्य ८ दशमलव ७७ प्रतिशतदेखि १ दशमलव ६५ प्रतिशतसम्मले बढेको छ ।
उच्चदरमा मूल्य बढ्नेमा चन्द्रागिरि हिल्स र युनाइडेड आइडी मार्दी आरबी हाइड्रोपावर कम्पनी पनि छन् । यिनको करिब १० प्रतिशतले मूल्य बढेको हो । रकमका आधारमा यस दिन नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । सो दिन यस बैंकको ३९ करोड ९० लाख रुपैयाँबराबर कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स पनि ३१ करोड २० लाख रुपैयाँको कारोबारसहित दोस्रो स्थानमा छ ।
७७ हजारले बढे सक्रिय लगानीकर्ता
१ महिनाको अवधिमा सक्रिय लगानीकर्ताको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ । नेप्सेको सूचनाअनुसार एक महिनामा सक्रिय लगानीकर्ताको संख्या १४ प्रतिशतले बढेर ६ लाख २७ हजार पुगेको छ । अनलाइन लिनेको संख्यामा ३२ प्रतिशतले बढेर ४ लाख ९९ हजार पुगेको हो । त्यस्तै, सक्रिय अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्यासमेत २४ प्रतिशतले बढेर २ लाख ४३ हजार पुगेको छ ।
किसान लघुवित्तले हकप्रद दिने
किसान लघुवित्त वित्तीय संस्थाले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले १ः१ अनुपातमा हकप्रद सेयर दिने प्रस्ताव २९ चैतमा हुने दोस्रो वार्षिक साधारणसभामा लैजाँदै छ । केही समयअगाडि एनआरएन लघुवित्त, दिव्या लघुवित्त र किसान लघुवित्त मर्ज भएर बनेको यो संस्थाको हकप्रद जारीपछि चुक्ता पुँजी ७८ करोड ५६ लाख रुपैयाँ पुग्नेछ । हाल संस्थाको चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ छ । संस्थाको वार्षिक साधारणसभासम्बन्धी सूचना सार्वजनिक भएपछि मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेर १ हजार ७ सय ३१ रुपैयाँ पुगेको छ ।