केपी ओलीको नेतृत्वमा चुनावमा जान सकिँदैन : गगन थापा

बिहिबार, ५ चैत, २०७७
डिजिटल संस्करण

कांग्रेस नेता गगन थापाले केपी ओलीको नेतृत्वमा चुनावमा जान नसकिने बताएका छन् । ‘ओली सरकारले गर्ने निर्वाचनमा जान सकिँदैन । निर्वाचनमा धाँधली गर्न खोज्यो भने निर्वाचन आयोगले रोक्ने हिम्मत राख्छ ?’ उनले प्रश्न गर्दै भने, ‘यो निर्वाचन आयोग होइन, ओली आयोग हो ।’ 

स्याङ्जाको भीरकोटमा कांग्रेसले बिहीबार आयोजना गरेको सभामा थापाले ओलीलाई घर पठाउनकै लागि भए पनि कांग्रेसले आफ्नो नेतृत्वको सरकार बनाएर देशलाई निर्वाचनतर्फ लैजानुपर्ने बताए । ‘हामीले अर्काको भार लामो समयसम्म लिएर बस्ने होइन, किनकि हामीले यसपटक सरकार चलाउने जिम्मा पाएको होइन । सरकार चलाउने जिम्मेवारी नेकपाले नै पाएको हो । तर, नेकपाले सरकार चलाउन नसकेपछि र नेकपाको वैधानिक रूपमै अवसान भइसकेपछि अब कांग्रेसले सरकारको दाबी गर्ने कुरा मिल्छ मात्रै होइन, गर्नुपर्छ,’ थापाले भने, ‘कांग्रेसको नेतृत्वको सरकार बनाएर सुशासन, कोभिडका कारण बढेको गरिबी र बेरोजगारी समस्या समाधान तथा ओलीले मिचेको संविधानलाई ठीक ठाउँमा ल्याउनुपर्छ ।’ 

नेता थापाले यी तीन काम सकेपछि कांग्रेसले देशलाई निर्वाचनमा लिएर जानुपर्ने बताए । उनले ओलीलाई अर्को दुई वर्षसम्म शासन चलाउन दिए केही बनाउन नसक्ने, बरु थप भत्काउने, नष्ट गर्ने टिप्पणी गरे । ‘संवैधानिक निकायहरूलाई पंगु बनाउने, भत्काउने, संसदलाई पंगु बनाउने, निर्वाचनको नाममा सबैलाई पंगु बनाउने कामबाहेक केही हुँदैन,’ थापाले भने, ‘ओलीलाई घर पठाउनका निम्ति भए पनि कांग्रेसले आफ्नो नेतृत्वमा छोटो समयका लागि सरकारको नेतृत्व लिएर देशलाई निर्वाचनमा लानुपर्छ ।’

थापाले ओली सन्का शासक भएको टिप्पणी पनि गरे । उनले मुख्यमन्त्रीहरूमाथि पनि टिप्पणी गरे । ‘प्रदेशका मुख्यमन्त्रीहरू, कोचाहिँ मुख्यमन्त्रीजस्ता छन् ? यी सबै प्रधानमन्त्री केपी ओलीको बिग्रेको फोटोकपीजस्ता छन्,’ थापाले भने ।
 

सुझावित समाचार