नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन तत्काल माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकार बनाउन पहल थालिएको बताए ।
उनले हिजो मात्र कांग्रेससँग जसपाको छलफल भएको र माओवादीलगायत अन्य दलसँग मिलेर सरकार बनाउने बताएका छन् । नेपाल प्रेस युनियन बाग्लुङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गममन अपरिहार्य भएको बताएका छन् । उनले ओलीलाई सत्तामा टिकाउने खेल नै नेपालको राजनीतिमा ठूलो विकृति भएको हुँदा ओलीलाई सत्ताबाट हटाएर यो विकृतिको अन्त्य गर्न जरुर रहेको बताए ।
नेता पौडेलले कांग्रेसले जनमतअनुसार सत्ताकाे आकांक्षा नराखे पनि परिस्थितिबस आएको जिम्मेवारीबाट पार्टी नभाग्ने बताए । ‘माओवादी केन्द्र र जसपासँग छलफल अघि बढाएका छौँ, जसपाका केही सर्त पनि आएका छन्,’ उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले केके माग पूरा गरिदिन्छु भनेका छन्, त्यो हामी सबै पूरा गरिदिने वचनसहित सहकार्यका लागि तयार छौँ ।’ उनले संविधान संशोधन पहिले कांग्रेस अघि बढाए पनि ओलीकै कारण रोकिएको उल्लेख गर्दै रेशम चौधरीको रिहाइका लागि पनि कांग्रेस तयार रहेको बताए ।
सर्वोच्चको फैसलापछि देशमा नयाँ परिस्थिति आएकाले विकृत राजनीतिको अन्त्यका लागि पनि प्रधानमन्त्री ओलीको बहिर्गमन जरुरी भएको नेता पौडेलको भनाइ थियो । ‘संसद् विघटनको निर्णय बदरपछि पनि राजीनामा नदिने नेपाली राजनीतिमा ठूलाे विकृति नै ओलीले निम्ताएका छन । उनले भने,‘हिजो एकै ठाउँमा छौ भन्नेहरुको पनि अहिले अवस्था के हो बुझ्न सकिएको छैन, प्रतिगमनतर्फ मुलुकलाई लैजाने प्रधानमन्त्री ओलीले फेरि टिकाइ राख्नुपर्छ भन्ने पनि विकृत राजनीतिकै शृंखला हो, ओलीलाई जति सत्तामा राख्छाैँ, देशका लागि उत्तिकै खतरा हुन्छ ।’
नेपाल शिक्षक संघ गण्डकी प्रदेशको प्रतिनिधिसभाको उद्घाटनका लागि बाग्लुङ आएका पौडेलले नेपाली कांग्रेसको महाधिवेशन विभिन्न बाहना बनाएर पछि धकेलिरहनु पनि दुर्भाग्यपूर्ण भएको बताएका छन । उनले कांग्रेसको महाधिवेशन समयमा नभए लोकतन्त्र नै कमजोर हुने दाबी गरे । पौडेलले तोकिएको समयमा महाधिवेशन हुनुको विकल्प नरहेको दाबी गरे ।