कांग्रेसका शीर्ष नेताहरूले सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व गरेर वर्तमान राजनीतिलाई निकास दिन सुझाब दिएका छन् । देउवाले सत्ता सहकार्यका विषयमा जसपाका नेतासँग छलफल गर्नुअगाडि पार्टीका पदाधिकारी, केही पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यलाई बोलाएका थिए । तर, बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल भने सहभागी थिएनन् ।
बैठकमा नेताहरूले देउवालाई ओलीको बहिर्गमन गर्ने गठबन्धनका लागि भूमिका खेल्दै नयाँ सरकारको नेतृत्व गरेर अघि बढ्न सुझाब दिए । ‘सत्तारुढ पार्टीले काम गर्न नसकेको अवस्थामा स्वाभाविक रूपमा प्रतिपक्षीले नेतृत्व लिन तयार हुनुपर्छ । तपाईंले प्रधानमन्त्री बनेर यो संकटको निकास दिनुपर्ने हुन्छ,’ बैठकमा नेता कृष्णप्रसाद सिटौलाले भनेका थिए ।
देउवासँग छलफल गर्नुअघि संस्थापनइतरका नेताहरूको बैठक बसेको थियो । नेता सिटौला, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितले महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगन्जमा बसेर ओलीको विकल्पका रूपमा नयाँ सरकार गठनका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने निष्कर्ष निकालेका थिए । देउवासँगको छलफलमा नेता सिटौला र महामन्त्री कोइरालाले पौडेलको समेत सोही धारणा रहेको सुनाएका थिए ।
‘नेताहरूले सभापतिज्यूलाई प्रधानमन्त्री बनेर पार्टी, देश र संविधान कार्यान्वयनको पक्षमा गठबन्धनको नेतृत्व गर्न सुझाब दिएका छन्, सरकारमा जाने विषयमा पार्टीभित्र पूर्ण सहमतिको वातावरण बनेको छ,’ बैठकपछि देउवानिकट एक नेताले भने । प्रवक्ता विश्वप्रकाश शर्माले ओलीको विकल्प खोज्ने विषयमा पार्टीले खुला रूपमा छलफल गरेर नेतृत्व लिनुपर्ने विषयमा छलफल भएको बताए । ‘सबै नेताको समान राय व्यक्त भएको छ– प्रधानमन्त्री केपी ओलीजीको सरकारलाई बिदाइ गर्नुपर्छ । र, कांग्रेसले संसद्मा रहेका सबै पार्टीलाई नेतृत्व गरेर अगाडि बढ्नुपर्छ,’ शर्माले भने ।
पूर्वसहमहामन्त्री डा. रामशरण महतले कांग्रेस नभई नयाँ सरकार नबन्ने अवस्थामा आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने बताए । ‘एमाले र माओवादीकै सरकार छ । अब माओवादीले विश्वासको मत फिर्ता लिइहाल्यो भने नयाँ सरकारको कुरा हो,’ उनले भने, ‘त्यसवेला कुन–कुन पार्टी मिल्ने कुरा मात्रै होइन, विषयगत सहमति र संविधानको कार्यान्वयनका लागि समेत सहमति गरेर जानुपर्छ । पार्टी र देशलाई फाइदा हुने गरी कांग्रेसले नयाँ सरकार निर्माणका लागि भूमिका खेल्नुपर्छ ।’
देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्माले भने कांग्रेस लचिलो भएर पनि ओलीको बहिर्गमनका लागि गठबन्धन गर्नुपर्ने बताए । ‘सत्तारुढ दलबाहेकको गठबन्धन बनाउने कुरा एउटा हो, त्यसपछि कसको नेतृत्व भन्ने नाममा सहमति हुन्छ, जसको नाममा सहमति हुन्छ, उसको नेतृत्वमा अगाडि जान कांग्रेस तयार छ,’ विश्वकर्माले नयाँ पत्रिकासँग भने, ‘प्रमुख प्रतिपक्षी भएको हिसाबले त्यसमा कांग्रेसको पहिलो हक लाग्छ, नभए एउटा सहमतिअनुसार शक्ति बाँडफाँड गर्ने कुरा हो ।’