प्रहरी समायोजन प्रक्रिया अघि बढ्ने

प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै निर्वाचन नहुने भएपछि समायोजन प्रक्रिया अघि बढाउँदै गृह मन्त्रालय

मंगलबार, १८ फागुन, २०७७
डिजिटल संस्करण

सरकारले प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गरेपछि स्थगित भएको नेपाल प्रहरीको समायोजन अघि बढ्ने भएको छ । प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै निर्वाचन नहुने भएपछि गृह मन्त्रालयले समायोजनको काम अघि बढाउन लागेको हो ।  प्रहरी समायोजनको अन्तिम तयारी भइरहँदा सरकारले चुनाव घोषणा भएपछि समायोजनको प्रक्रिया रोकिएको थियो ।

समायोजनले निर्वाचनको सुरक्षा प्रभावित हुन सक्ने भएकाले समायोजन रोकिएको थियो । ‘स्थगित भएको प्रहरी समायोजनको काम अब अघि बढ्छ,’ गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘यस विषयमा मन्त्रालयले तयारी थालेको छ ।’ गत कात्तिक अन्तिम साता सरकारले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गर्दै समायोजनको बाटो खोलेको थियो । माघबाट सूचना निकालेर समायोजनको काम थाल्ने गृहको तयारी थियो । अनपेक्षित राजनीतिक घटनाक्रमपछि समायोजन प्रक्रिया रोकिएको थियो ।  

समायोजन समितिका अध्यक्ष फेरिए 
गृहले प्रहरी समायोजनका लागि सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा एक समिति गठन भइसकेको थियो । गौतम कास्कीको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् । अब समायोजन समितिमा नयाँ सहसचिव आउने भएका छन् । प्राविधिक तयारी भने पूरा भइसकेको मन्त्रालय स्रोत बताउँछ । समायोजनका लागि सफ्टवेयर तयार भइसकेको छ, केही कार्यविधिहरूसमेत अन्तिम चरणमा छन् ।

प्रहरी समायोजन ऐनअनुसार डिएसपीसम्मका प्रहरी प्रदेशमा समायोजन हुनेछन् । डिएसपीसम्मका सबै प्रहरीले आवेदन दिने र सफ्टवेयरमार्फत समायोजनको निर्णय हुने गृहका एक अधिकारी बताउँछन् । कार्यरत पदको ज्येष्ठता, कम्तीमा एक वर्षदेखि कार्यरत प्रदेश, स्थायी बसोवासको ठेगाना, नागरिकताको ठेगाना र उमेरको ज्येष्ठताका आधारमा समायोजनको निर्णय हुनेछ । प्रदेशमा समायोजन भइसकेका कर्मचारी पछि अन्य प्रदेशमा जान पाउने प्रावधान प्रस्ट नभएकाले समायोजनमा अन्योलता छ । 

कुन प्रदेशमा कति समायोजन ?
सरकारले केन्द्र र प्रदेशमा रहने दरबन्दीको भने टुंगो लगाइसकेको छ । नेपाल प्रहरीमा २४ हजार आठ सय १६ र सातवटा प्रदेशमा ५४ हजार सात सय २० जनशक्ति रहनेछ । प्रदेश १ मा १० हजार ७१७, प्रदेश २ मा नौ हजार १५२, बागमती प्रदेशमा सात हजार तीन सय चार, गण्डकीमा ६ हजार ७४५, लुम्बिनीमा नौ हजार ४४३, कर्णालीमा पाँच हजार ४५८ तथा सुदूरपश्चिम प्रदेशमा पाँच हजार ९०१ प्रहरीको दरबन्दी कायम गरिएको छ ।

हरेक प्रदेशमा एक डिआइजी र तीन एसएसपीको दरबन्दी हुनेछ । प्रदेश प्रहरी प्रमुख डिआइजी हुन्छन् । प्रदेश प्रहरी कार्यालयमा दुई तथा प्रदेश तालिम केन्द्रमा एक एसएसपीको दरबन्दी हुन्छ । त्यसअनुसार सात प्रदेशमा सात डिआइजी, २१ एसएसपी, ६९ एसपी, एक सय ८१ डिएसपी, सात सय ३२ इन्स्पेक्टरको दरबन्दी कायम भएको छ ।

यस्तै, दुई हजार दुई सय ५७ सइ, पाँच हजार दुई सय ७४ असइ, १० हजार ६ सय ११ हवल्दार, ३२ हजार आठ सय १८ जवान र एक हजार नौ सय १६ कार्यालय सहयोगी हुनेछन् । नयाँ भर्ना भएर तालिममा रहेका आठ सय ३४ प्रहरी जवानको दरबन्दी पनि प्रदेशमा कायम गरिएको छ ।

रासनभत्ता ३३ प्रतिशत बढाउन अर्थमा प्रस्ताव 
प्रहरीको रासनभत्ता बढाउन गृह मन्त्रालयले अर्थ मन्त्रालयमा सिफारिस गरेको छ । रासनभत्ता पुनरावलोकन समितिको सिफारिसका आधारमा तत्काल रासनभत्ता ३३ प्रतिशत बढाउन सिफारिस गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । पछिल्लो ६ वर्षदेखि प्रहरीको रासनभत्ता बढेको छैन । यो अवधिमा ३३ प्रतिशत मूल्यवृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांकका आधारमा तत्काल वृद्धि गर्न लागिएको छ । अर्काे आर्थिक वर्षदेखि भने जिल्लाको महँगीअनुसार रासनभत्ता दिन सिफारिस गरिएको छ ।

सुझावित समाचार