सरकारका प्रवक्ताको दाबी– प्रधानमन्त्रीलाई राजीनामा दिनबाट सर्वोच्चले रोक्यो (भिडियोसहित)

सोमबार, १७ फागुन, २०७७
डिजिटल संस्करण

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट सर्वोच्च अदालतले रोकेको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले राजीनामाबाट रोक्ने काम सर्वोच्चको फैसलाबाट भएको दाबी गरेका हुन् । 

प्रतिनिधिसभाको बैठक आह्वान भइसकेकाले संसदीय प्रक्रियाबाट प्रधानमन्त्री अघि बढ्ने उनले स्पष्ट पारे । उनले भने, ‘०७७ फागुन ११ गतेको सर्वोच्च अदालतको परमादेशले सम्माननीय प्रधानमन्त्री केपी शर्मालाई राजीनामा दिनबाट रोकेको छ । बहुमत प्राप्त प्रधानमन्त्रीले राज्य सञ्चालन गर्नु संवैधानिक र नैतिकताको विषय भएको फैसला गरेको छ ।’

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गरे । उनले प्रधानमन्त्रीलाई राजीनामा गर्नुपर्छ भन्नेहरूलाई राजनीतिक पृष्ठभूमि हेर्न आग्रह गरे । उनले भने, ‘प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने आवाज सुनिरहेका छौँ । प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्न भन्ने सर्वोच्च अदालतको फैसलाले नै भनेको छ । प्रधानमन्त्रीलाई नैतिकताको पाठ सिकाउनेहरूले कुन धरातलबाट उभिएको छु भन्ने कुरा एकपटक फर्केर हेर्ने हो भने उहाँहरूले राजनीतिक ढंगबाट सन्न्यास लिँदा हुन्छ ।’

सुझावित समाचार