केपी प्रवृत्ति धुँदाधुँदै बागमती सुक्ने स्थिति आयो, तर दाग मेट्न सकिएन : युवराज ज्ञवाली

शनिबार, १५ फागुन, २०७७
डिजिटल संस्करण

नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री युवराज ज्ञवालीले केपी प्रवृत्ति  धुँदाधुँदै बागमती सुक्ने स्थिति आए पनि दाग मेट्न नसकिएको बताएका छन् । उनले छापामार शैलीमा संसद् विघटन गरेर पार्टी र देशको व्यवस्थामाथि ओलीले प्रहार गरेको जिकिर गरे । 

नेकपा प्रचण्ड–माधव समूहको जिल्लास्तरीय भेलालाई गुल्मीमा सम्बोधन गर्दै ज्ञवालीले जनताको बहुदलीय जनवाद भनेर केपी गुटले भ्रम छर्दै आएको पनि बताए । 

पहिले प्रचण्डसँग मन मिल्दा दुवैले समाजवाद भन्ने, तर अहिले आफ्नो स्वार्थ पूरा नभएपछि भ्रम छर्ने काम ओलीले गरेको ज्ञवालीको आरोप छ । बहुमतको जनमत भत्काएर चुनाव घोषणा गरेका ओलीले चुनावको मिति नआउँदै पराजय व्यहोर्नु परेको बताए । उनले व्यवस्थामाथि अपराध गर्ने ओलीको नेतृत्वमा पुनः एकताको सम्भावना नरहेकोसमेत बताए । 

ओलीले बालकोटमा आराम गर्नुको विकल्प नभएको बताउँदै ज्ञवालीले देश र लोकतन्त्र पक्षधरले वेलैमा सोच्नुपर्नेमा जोड दिए ।

सुझावित समाचार