सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दबाब दिँदैन : उपप्रधानमन्त्री पोखरेल

सोमबार, १० फागुन, २०७७
डिजिटल संस्करण

उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको बताए । 

प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमा नै हुने र यसमा आशंका गर्नुपर्ने कुनै कुरा नरहेको उनले जिकिर गरे । ‘निर्वाचन हुन्छ कि हुँदैन भनेर आशंका गर्नुपर्ने कामै छैन, बिलकुल हुन्छ । निर्धारित समयमा नै हुन्छ,’ उनले थपे, ‘लोकतन्त्रमा विश्वास गर्ने, जनताको ताजा जनादेशबाट अगाडि बढ्न चाहने हरकोही यसका विपक्षमा उभिनुपर्ने आवश्यकता छैन । राजनीतिक दलहरू निर्वाचनमा जाने कुरा, जनताबाट अनुमोदित हुने कुरा त नमान्ने कुरै भएन ।’

पोखरेलले अहिले जसले जे भने पनि समय आएपछि सबै निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे । अर्को प्रसंगमा पोखरेलले पार्टी एकताका समयमा भएको प्रबन्धका आधारमा आयोगले पार्टीको आधिकारिकता टुंगो लगाउने विश्वास व्यक्त गरे । 

प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतबाट टुंगो लाग्ने जनाउँदै उनले फैसलाको प्रतीक्षा गर्नुपर्ने बताए । सरकारले आयोग र सर्वोच्च अदालतलाई कुनै किसिमको दबाब नदिने उनले बताए । उनले भने, ‘सरकारले कुनै दबाब दिँदैन । विधिसम्मत ढंगले काम अघि बढाउँछ ।’

सुझावित समाचार