दक्षिण एसिया र हिन्द महासागरीय टापु मुलुकबीच क्षेत्रीय सहकार्य हुनुपर्छ : मोदी

क्षेत्रीय हवाइ सेवा सम्झौता र चिकित्सकका लागि विशेष भिसा स्किम प्रस्ताव

शुक्रबार, ७ फागुन, २०७७
डिजिटल संस्करण

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली तथा हिन्द महासागरका टापु मुलुकहरूबीच कोभिडविरुद्ध मात्र नभएर जलवायु परिवर्तन, गरिबीविरुद्ध सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । सार्कका आठ सदस्य मुलुक तथा सेसेल्स र मोरिससका स्वास्थ्य सचिवहरूको बैठकका सन्दर्भमा जारी भिडियो सन्देशमा मोदीले अवको एसियाली शताब्दीका लागि पनि दक्षिण एसिया र हिन्द महासागरीय टापु मुलुकबीच क्षेत्रीय सहकार्य हुनुपर्ने बताएका हुन् । 

मोदीले यो क्षेत्रका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आपतकालीन अवस्थामा विशेष भिसा स्किम लागू गर्नुपर्ने तथा यी क्षेत्रीय हवाई सेवा सम्झौताको प्रस्तावसमेत गरेका छन् । ‘हामीले कोभिड– १९ सुरु भएदेखि नै समन्वयात्मक रूपमा काम गर्यौँ । कोभिड– १९ आपतकालीन कोष निर्माण गर्याैँ, साधनस्राेत र ज्ञान तथा अनुभव बाँड्यौँ,’ मोदीले भनेका छन्, ‘अब खोपको द्रुत परिचालन गर्नुपर्ने आवश्यकता छ ।  यसका लागि पनि विगतमा झैँ आपसी समन्वय अपरिहार्य छ ।’ 

क्षेत्रीय सहकार्यका कारण यो क्षेत्रले कोभिड महामारीमा विश्वकै कम मृत्युदर कायम गर्न सफल भएको पनि मोदीको भनाइ थियो । मोदीले भविष्यमा कोभिडजस्तै अन्य महामारी रोकथाम तथा नियन्त्रणका लागि पनि क्षेत्रीय सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

‘हाम्रो क्षेत्रमा जलवायु परिवर्तन, गरिबीजस्ता साझा चुनौती छन् । यो क्षेत्रमा शताब्दीऔँदेखिको संस्कृति तथा जनतामा आधारित सम्बन्ध थप प्रगाढ बनाउने कार्यले कोभिड मात्र होइन, भविष्यमा आइपर्ने अन्य चुनौती पनि सामना गर्न सकिन्छ भन्ने मेरो विश्वास छ,’ भारतीय प्रधानमन्त्रीले भने । 

उनले अबको युग एसियाको भएको, तर क्षेत्रीय सहकार्यविना एसियाली शताब्दी सफल नहुने पनि बताए । ‘यसका लागि हामीबीच विगतमा झैँ ऐक्यबद्धता आवश्यक छ,’ मोदीले भनेका छन् ।  स्वास्थ्य सचिवस्तरीय बैठकमा सार्कका नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स, भुटान र अफगानिस्तान तथा तटीय मुलुक मोरिसस र सेसेल्स थिए । 

सुझावित समाचार