कांग्रेसले पार्टीको १४औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनको कार्यतालिका तय गरेको हो ।
बुधबार महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा पेस गरेको प्रस्तावमा छलफल गरी तल्ला तहको अधिवेशनको कार्यतालिका केही फेरबदल गरेको र केन्द्रीय महाधिवेशन ७ देखि १० भदौसम्म काठमाडौंमा गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेसले महाधिवेशनअघि क्रियाशील सदस्यहरूको विवरण तयार गर्न केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति गठन गरेको छ । बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ सदस्य रहेको समिति गठन गरेको हो । समितिलाई निर्धारित कार्यतालिकाबमोजिम क्रियाशील सदस्यहरूको छानबिन गरी बुझाउन निर्देशन दिएको प्रवक्ता शर्माले बताए ।