नेकपा प्रचण्ड–नेपाल पक्षद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, ५ देखि १५ फागुनसम्म देशैभर विरोध प्रदर्शन (भिडियोसहित)

आइतबार, २ फागुन, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल पक्षले तेस्रो चरणकोे आन्दोलन घोषणा गरेकाे छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा ५ देखि १५ फागुनसम्म विरोधका विभिन्न कार्यक्रम गर्ने जानकारी दिएको हो । 

कार्यक्रमअनुसार ५ देखि १२ फागुनसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्ला–जिल्लामा विरोध प्रदर्शन र सभा आयोजना हुनेछन् । यस्तै, ६ फागुनमा प्रतिगमन, भष्टाचार र महँगीको विरोधमा टुँडिखेल वरिपरि  मानवसाङ्लोले घेर्ने जनाइएको छ ।  

यस्ता छन् विरोधका कार्यक्रम
(१) ०७७ फागुन ५ गतेदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्लास्तरीय विरोध प्रदर्शन, सभालगायतको विरोध कार्यक्रम ।

(२) ०७७ फागुन ६ गते प्रतिगमन, महँगी र भ्रष्टाचारको विरोधमा टुँडिखेलवरिपरि मानवसाङ्लो विरोध कार्यक्रम । समय अपराह्न ४ देखि ५ बजेसम्म ।

(३) ०७७ फागुन ७ गते देशव्यापी रूपमा सबै पालिकाका वडाहरूमा वडास्तरीय विरोध कार्यक्रम ।

(४) ०७७ फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमनविरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन कार्यक्रम ।

(५) ०७७ फागुन ८ गते काठमाडौंमा प्रतिगमनविरुद्ध बृहत् अन्तरक्रिया कार्यक्रम ।

(६) ०७७ फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवं बलात्कारविरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम ।

(७) ०७७ फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रम ।

(८) ०७७ फागुन ११ गते मधेसी, आदिवासी जनजाति, महिला, मुस्लिम, थारू, पिछडिएको क्षेत्रलगायतका उत्पीडित समुदायको सांस्कृतिक पहिचानसहितको संयुक्त  विराेध कार्यक्रम ।

(९) ०७७ फागुन १२ गते चितवन, फागुन २१ गते दाङ र जनकपुर, नेपालगन्जलगायतका सहरहरूमा विरोध प्रदर्शन र सभा । 

(१०) संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवं मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूको निरन्तरता ।

(११) ०७७ फागुन १४ गते काठमाडौंमा युवा ऱ्याली ।

(१२) ०७७ फागुन १५ गते किसान र सुकुम्बासी मोर्चाको काठमाडौंमा विरोध कार्यक्रम ।

सुझावित समाचार