विप्लव नेतृत्वको नेकपासहित चार पार्टीको संयुक्त मोर्चा घोषणा, चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक

बिहिबार, २९ माघ, २०७७
डिजिटल संस्करण

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चाको घोषणा गरेका छन् । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा बिहीबार आयोजित कार्यक्रममा मोर्चाको घोषणा गरिएको हो । 


मोर्चाले सरकारविरुद्ध २९  माघदेखि १८ फागुनसम्मका लागि पहिलो चरणका संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । घोषित कार्यक्रमअनुसार मोर्चाले ६ फागुनमा बुटवल, १४ फागुनमा धनगढी र १८ फागुनमा इटहरीमा जनसभा गर्ने भएको छ । 


मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् । 

कार्यक्रमामा मोर्चाको केन्द्रीय समिति पनि घोषणा गरिएको छ । रणनीतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सिपी गजुरेल, रामसिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश बान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नवीन रिजाल छन् । बाँकी तीनजना भने पछि परिपूर्ति गर्ने मोर्चाले जनाएको छ । 

मोर्चाको पहिलो बैठकले अध्यक्ष र सचिव चयन गर्नेछ । साथै प्रदेश, जिल्ला र आवश्यकताअनुसार स्थानीय तहहरूमा समेत समिति गठन गरिनेछ ।

सुझावित समाचार