प्रचण्डको चेतावनी– मुलुक ठूलो राजनीतिक भुमरीमा फस्न सक्छ

मंगलबार, २७ माघ, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भए नेपाल ठूलो राजनीतिक भुमरीमा फस्ने बताएका छन् । नेपालबाट अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि काम गर्दै आएका पत्रकारहरूसँग मंगलबार काठमाडौंमा भएको भेटमा प्रचण्डले बाहिर सुन्नमा आएजस्तै सेटिङअनुसार नै निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णय आयो भने मुलुक ठूलो राजनीतिक भुमरीमा फस्ने चेतावनी दिएका हुन् । 

यद्यपि, आफूहरू संविधानको अक्षर र भावनाअनुसार नै न्यायालयबाट निर्णय आउनेमा विश्वस्त रहेको उनले बताए । प्रधानमन्त्री ओलीले संविधानभन्दा बाहिर गएर गरेको निर्णयलाई सर्वोच्चले सदर गर्छजस्तो नलागेको उल्लेख गर्दै उनले त्यसो भयो भने आफूहरूले गम्भीर रूपमा विचार गर्नुपर्ने अवस्था सिर्जना हुने बताए । असंवैधानिक र अलोकतान्त्रिक कदमअनुसारको निर्वाचन पनि अलोकतान्त्रिक र असंवैधानिक नै हुने उनको तर्क छ । 

उनले भने ‘यदि प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र स्वच्छेचारी कदमलाई सदर गरियो भने देश निकै ठूलो राजनीतिक भुमरीमा पर्छ । संवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिसकेपछि त्यसको मातहतमा आयोजना हुने निर्वाचन पनि असंवैधानिक र अवैधानिक नै हुन्छ । यदि प्रधानमन्त्रीले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई जे भन्यो त्यही मान्ने मान्छे ठान्नुभएको छ भने निकै ठूलो भ्रम हो भन्ने हाम्रो भनाइ छ । यदि सेटिङ नै भएजसरी निर्णय भयो भने हामी गम्भीर ढंगले सोच्छौँ । त्यो निर्वाचनलाई हामीले सहज ढंगले लिन सक्ने स्थिति हुँदैन । नैतिक रूपले अनि राजनीतिक रूपमा निकै ठूलो प्रश्न खडा हुन्छ । हामी निर्वाचनविरोधी होइनौँ र हुन सक्तैनौँ, तर असंवैधानिक र अलोकतान्त्रिक तरिकाले जबर्जस्ती भनियो भने त्यो अवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक निर्वाचनबारे हामीले गम्भीर रूपमा विचार गर्नुपर्ने नै हुन्छ ।’

प्रचण्डले प्रधानमन्त्री ओली आफैँले प्रतिगमन गरेर आफैँ प्रतिगमनविरुद्ध सभा आयोजना गर्नु आश्चर्यजनक रहेको टिप्पणी गरे । उनले सरकारको संविधानविरोधी कदमविरुद्ध आफूहरू संघर्षमा लाग्नु स्वाभाविक भए पनि सरकार पक्षले नै सभा गरेर तेस्रो जनआन्दोलन सुरु भयो भन्नु लोकतन्त्रको उपहास भएको बताए । उनले भने, ‘प्रधानमन्त्री आफैँले सभा गर्ने र ती सभाबाट तेस्रो जनआन्दोलन सुरु भयो भनेर प्रधानमन्त्रीनजिकका मान्छेहरूले सभामा बोल्ने, प्रतिगमनविरोधी तेस्रो जनआन्दोलन भन्ने । यो अनौठो कुरा नेपालमा देखियो । सायद पहिलोपटक देखियो प्रधानमन्त्री आफैँ विरोधमा उत्रने । केको विरोधमा हो ? यो अनौठो, अस्वाभाविक छ । यो लोकतन्त्रको उपहासजस्तो लाग्छ । एउटा प्रहसनजस्तो लाग्छ । हामी प्रतिस्पर्धामा होइनौँ । छटपटिएको चाहिँ प्रधानमन्त्री हो । उहाँ आत्तिनुभएको छ । अहिले उहाँ विक्षिप्त भएकोजस्तो हामीले महसुस गरेका छौँ ।’

प्रधानमन्त्रीले निरंकुश ढंगले आफ्नो शासन अवधि लम्ब्याउन खोजेको र त्यो पूरा नहुने ठोकुवा उनको छ । उनले मुलुकमा लोकतन्त्र खतरामा परेकाले सबै लोकतन्त्रवादी अन्तर्राष्ट्रिय समुदायसँग समर्थनका लागि अपिल पनि गरिएको जानकारी दिए । उनले भने, ‘यसबीचमा हाम्रो अलग–अलग सबैसँग कुरा भइरहेको छ । भारतसँग, चीनसँग, अमेरिकासँग, युरोपियनहरूसँग पनि कुरा भइरहेको छ र हामीले सार्वजनिक अपिल पनि गरेका छौँ अन्तर्राष्ट्रिय समुदायलाई, नेपालमा लोकतन्त्रको हत्या भइरहेको छ, लोकतन्त्रको पक्षमा हुने सबैको समर्थन नेपाली जनतालाई चाहियो भनेर औपचारिक अपिल गरेका छौँ । अलग–अलग भेटेर कुरा पनि गरेका छौँ ।’ उनले आवश्यकताअनुसार सामूहिक भेटघाटको आयोजना गर्न सकिने संकेत पनि गरे ।

सुझावित समाचार