भागरथीको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि हत्या भएको पुष्टि, दोषीको सुराग छैन

मंगलबार, २७ माघ, २०७७
डिजिटल संस्करण

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । घटना भएको पाँचौँ दिन जिल्ला अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको स्पष्ट भएको हो । तर, दोषीको सुराग भेटिएको छैन । 

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले पोस्टमार्टम रिपोर्ट प्राप्त भएको बताए । ‘पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि घाँटी थिचेर हत्या भएको देखिएको छ,’ उनले भने, ‘सामूहिक बलात्कार हो वा होइन भन्ने विषय अहिले नै यकिन हुन सकेको छैन ।’ डिएनए अनुसन्धानका लागि स्वाब आइतबार नै प्रहरीको केन्द्रीय प्रयोगशाला पठाइएको प्रहरीले बताएको छ ।

आइतबारदेखि आफैँ घटनाको अनुसन्धानमा खटिएका डिआइजी सुवेदीले प्रहरीको औपचारिक प्रतिक्रिया दिँदै भने, ‘अनुसन्धान दोषीनजिक पुगेको छ ।’ तर, अनौपचारिक प्रतिक्रियामा भने प्रहरीले अहिलेसम्म पनि भरपर्दो सुराक पत्ता लगाउन सकेको छैन । घटनास्थलमा फेला परेको मोबाइल र भागरथीको फेसबुक एकाउन्टबाट पनि सन्तोषजनक उपलब्धि हात नलागेको प्रहरी स्रोतको भनाइ छ । 

प्रहरी अनुसन्धानले सन्तोषजनक उपलब्धि दिन नसकेको भन्दै स्थानीय भने आन्दोलित छन् । त्यसैले प्रहरीले स्थानीयलाई शान्त हुन र सहयोग गर्न आग्रह गर्दै आएको छ । यहीबीच सोमबार बिहान १० देखि १२ बजेसम्म प्रहरीले स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूसँग छलफल गरेको छ ।

‘सबै दलका प्रतिनिधि, स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूलाई प्रहरीले अहिले आन्दोलित नहुन र अनुसन्धानमा सघाउन अनुरोध गरेको छ,’ दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले भने, ‘स्थानीयको दबाब र प्रदर्शनले प्रहरीलाई अप्ठ्यारो परेको गुनासो छ ।’ स्थानीय अगुवाले आन्दोलनको स्वरूप परिवर्तन गर्ने वचन दिएका छन् । तर, अपराधीलाई छिटो पत्ता लगाउन प्रहरीलाई दबाब दिन भने नछोड्ने उनीहरूको भनाइ छ ।

See More On

सुझावित समाचार