नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी सोच भएका कारण प्रधानमन्त्री केपी ओलीलाई बुद्धिजीवीसँग डर रहेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले जति गरेपछि शिक्षक समुदाय, बौद्धिक समुदाय मेरा हुँदैनन् भनेर ओलीले वैचारिक प्रशिक्षण र एकता गर्न रोकेर राखेको आरोप लगाए ।
उनले लोकतन्त्रविरोधी प्रतिक्रान्तिको वकालत गरेकाले प्रधानमन्त्री केपी ओली इतिहासमै कलंकित बनेको बताए । प्रचण्डले ओलीको प्रतिक्रान्तिविरुद्ध संविधान, लोकतन्त्र गणतन्त्रको पक्षमा एकजुट हुन आह्वान गरे ।
पार्टी एकीकरणको समयदेखि नै लोकतन्त्र र संविधानविपरीत कार्यशैली देखाउँदै आएका ओलीले अहिले संविधान, लोकतन्त्र र गणतन्त्रविरोधी प्रतिक्रान्तिको बाटोमा हिँडेकाले आफूहरू त्यसविरुद्धको संघर्षमा उत्रेको उनले बताए । उनले संविधान, लोकतन्त्र र गणतन्त्रविरुद्ध गएर प्रधानमन्त्री ओली इतिहासमै कलंकित बन्न पुगेको जिकिर गरे ।