प्रतिनिधिसभा विघटनको विरोधमा समाजका विभिन्न क्षेत्रका व्यक्तिले सिर्जनात्मक रूपमा आन्दोलन गरेका छन् । काठमाडौंको सिफलमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूले प्रतिनिधिसभा विघटनको विरोधमा आइतबार आफ्नो कला तथा सिर्जनाको माध्यमबाट विरोध प्रदर्शन गरेका हुन् । ‘प्रतिगमनका विरुद्ध बृहत् नागरिक आन्दोलन’ नाम दिइएको कार्यक्रममा साहित्यकार, लेखक, पत्रकार, प्राध्यापकलगायतको उपस्थिति थियो ।
कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमाले सरकारले संवैधानिक अंगहरूमाथि गरेको हस्तक्षेप बन्द गर्नुपर्ने बताए । सरकारले विश्वविद्यालयलगायत राज्यका कुनै पनि निकायमा राजनीतिक हस्तक्षेप गर्न नहुने, संघीयताप्रति सरकारको प्रतिबद्धता हुनुपर्ने र समाजवादको प्रतिबद्धता हुनुपर्ने उनको भनाइ छ । ठूलोबुबा धर्मभक्तको सालिकमुनि उभिएर केदारभक्तले आन्दोलनमा लाग्न आह्वान गरे ।
कार्यक्रममा लेखक खगेन्द्र संग्रौलाले नागरिक आन्दोलनको मर्म संसद् पुनस्र्थापना र संविधानको रक्षा गर्नु मात्रै नभएर संविधान संशोधन गराउनेसम्म रहेको बताए । नागरिक आन्दोलनको शक्ति बढ्दै गएमा संविधान पुनर्लेखनको माग आफूहरूको रहेको उनको भनाइ छ ।
नागरिक आन्दोलनमा समसामयिक राजनीतिक परिवेशसँग सम्बन्धित कार्टुन तथा प्लेकार्डहरू पनि प्रदर्शन गरिएको थियो ।