कसैको लहडमा उपलब्धि समाप्त हुँदैन : नेपाल

शनिबार, १७ माघ, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले संविधानसभामार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्र, संघीयता समावेशिताजस्ता उपलब्धि कसैको लहडको भरमा समाप्त नहुने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध धनगढीमा आयोजित विरोधसभामा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले इतिहासका पांग्रा फेरि पछाडि जान नसक्ने दाबी गरे । उनले भने ‘प्राप्त उपलब्धिको रक्षाका लागि जनताले हरेश खानुपर्ने आवश्यक छैन, तपाईंहरुको साथमा हामी छौँ ।’ 

पार्टी राम्ररी चलाउनका लागि पार्टीका तर्फबाट दिइएको सुझाब प्रधानमन्त्रीले नसुन्दा समस्या उत्पन्न भएको उनले बताए । उनले कुर्सीकाे तानातान तथा हानाथापका लागि पार्टीमा समस्या सिर्जना नभएको प्रस्ट पारे । नेपालले निर्मला बलात्कार घटनाका दोषीलाई दण्डित गर्न सरकारसँग माग पनि गरे । 

भ्रष्टाचारलाई ढाकछोप नगर्न सुझाब दिँदै नेता नेपालले कोरोनाको प्रभावकारी उपचार व्यवस्थापन गर्न तथा सुशासन अवलम्बन गर्नुपर्नेमा जोड दिए । नेकपाका ४४१ केन्द्रीय सदस्यमध्ये आफूहरूको पक्षमा ३०० सदस्य रहेको दाबी गर्दै उनले भने ‘अर्को पक्षसँग १०० जना रहेकाले त्यो पार्टी नक्कली हो, जहाँ ३०० सदस्य छन् सूर्य चिह्न पनि त्यसकै हुन्छ ।’ 

अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक परिस्थिति दुर्घटनाग्रस्त हुनबाट जोगाउनमा आफूहरू गम्भीर बनेको बताए । प्रतिगमनको खतरालाई परास्त गर्न जनता पुनः एकपटक जुर्मुराएएको देख्दा आफूलाई गर्व लागेको भन्दै उनले भने ‘जागिसकेका जनतालाई कसैले झुकाउन सक्दैन ।’ 

विषेश परिस्थितिमा र कुनै अर्को विकल्प हुन नसकेमा मात्र संसद् विघटन गर्न सकिने भए पनि प्रधानमन्त्रीले विशेष परिस्थिति सिर्जना नहुँदा पनि प्रतिनिधिसभाको विघटन गरेर गल्ती गरेको आरोप उनले लगाए । ‘सर्वाेच्च अदालतमा रहेको संसद् विघटनको मुद्दालाई अदालतले संविधान र लोकतान्त्रिक मान्यतालाई बुझ्नेछ, हामी सही फैसला हुनेमा विश्वस्त छौँ’ उनले भने, ‘संसद् भंग भएको छैन, सरकार मात्र विघटन भएको हो ।’

नेकपा स्थायी समितिका सदस्य एवं सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलले पाँच वर्षका लागि नेकपाले पाएको जनमतको संसद् विघटन गरेर अपमान गरिएको आरोप लगाए । 

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, पार्टीका प्रदेश अध्यक्ष भानुभक्त जैसी, खगराज भट्टलगाएतले पनि समसामयिक राजनीतिका विषयमा आ–आफ्ना धारणा प्रस्तुत गर्दै संसद् विघटन गलत भएको बताएका थिए । यसअघि धनगढीको ट्राफिक चोकबाट निस्किएको प्रदर्शन बजारका मुख्य भाग हुँदै खुलामञ्चमा पुगेपछि सभामा परिणत भएको थियो ।
 

सुझावित समाचार