प्रेरक प्रसंग : सफलताको रहस्य

बुधबार, १४ माघ, २०७७
डिजिटल संस्करण

एक देशमा एक निसन्तान राजा थिए । राजा बूढा हुँदै गएकाले उनलाई उत्तराधिकारीको चिन्ताले सताउन थालेको थियो । राजाले एक साँझ निश्चित समयमा राज्यका योग्य युवालाई दरबार आएर आफूलाई भेट्न उर्दी जाहेर गरे । राजाको उर्दीमा तोकिएको समयमा आफूलाई भेट्ने योग्य व्यक्तिलाई राज्यको एक हिस्सा दिने घोषणा पनि थियो । राजाको घोषणाबाट राज्यका प्रधानमन्त्री भने असन्तुष्ट भए ।

प्रधानमन्त्रीले असन्तोष जनाउँदै भने, ‘महाराज, यस्तो घोषणापछि त तपाईंसँग भेट्न धेरै मानिस आउनेछन् । त्यसो हुँदा  तपाईंको राज्य त टुक्रा–टुक्रामा विभाजित हुने भयो । कृपया, यस्तो गल्ती नगर्नुस् ।’ राजाले प्रधानमन्त्रीलाई आश्वस्त गर्ने प्रयास गर्दै भने, ‘प्रधानमन्त्रीजी तपाईंको चिन्ता जायज हो । म यस राज्यको कुभलो हुन नदिने गरी कदम चाल्नेछु ।’

राजाले राज्यका युवालाई दरबारमा बोलाएको दिन राजमहलको बाहिरी बगैँचामा एक विशाल मेला आयोजना गरे । मेलामा नाचगान, खेल, जादु मात्र होइन, सुरासुन्दरीको पनि व्यवस्था गरिएको थियो । राजालाई भेट्न आउनेहरूको पहिलो नजर दरबारको बगैंचाको मेलामा जान्थ्यो नै । दरबारमा जति पनि मानिस आए, एक–एक गर्दै मेलामा पस्थे र त्यहाँको रमझममा भुल्थे ।

तर, एकजना भने यी सब चमकधमकमा ध्यान नदिई सीधा राजाको कक्षतर्फ लागे । राजाको गेटबाहिर चौकीदारले पनि उसलाई अलमल्याउने प्रयास गरे । तर, ती युवा चौकीदारको बहकाउमा पनि फसेनन् । भित्र पुगेर ती युवाले राजालाई भेटे । उनी सही समयमा राजाकहाँ पुगेका थिए । युवाको एकाग्रता देखेर राजा प्रफुल्ल हुँदै भने, ‘तिम्रो उद्देश्यप्रतिको एकाग्रताबाट म खुसी भएँ । म तिमीलाई आधा होइन, सम्पूर्ण राजपाट दिनेछु । तिमी यस राज्यको उत्तराधिकारी बन्न योग्य छौ ।’

यो कथामा जस्तै वास्तविक जीवनमा पनि लक्ष्यप्रति अडिग हुने मानिस नै सफल भएको देखिन्छ । लक्ष्यमा एकाग्र हुन सक्ने व्यक्तिले बाटोमा आइपर्ने हरेक कठिनाइलाई पार लगाउन सक्छ । 

सुझावित समाचार