एक गाग्री पानी लिन तीन घन्टा पैदल

आइतबार, ११ माघ, २०७७
डिजिटल संस्करण

६ वर्षअघि थालिएको खानेपानी आयोजना सम्पन्न नहुँदा अहिले पनि उस्तै सास्ती

निर्माण सुरु गरिएको ६ वर्षसम्म खानेपानी आयोजना सम्पन्न नभएपछि व्यास नगरपालिका–९ र भानु नगरपालिका–१३ का स्थानीयले सास्ती खेप्दै आएका छन् । ०७१ बाट सुरु गरिएको सतिस्वाँरा मिर्लुङ लिफ्ट खानेपानी आयोजनाको कामले गति नलिँदा त्यस क्षेत्रका स्थानीय एक गाग्री पानीका लागि घन्टौँ खर्चन बाध्य छन् । घरनजिकै धारा नभएकाले उनीहरूले पानीका लागि कुवा धाउनुपर्छ । त्यो पनि तीन घन्टाभन्दा बढी समय लगाएर । 

आयोजनाका अध्यक्ष रफिक मियाँ भन्छन्, ‘गाउँमा पानी नभएकाले स्थानीयले तीन घन्टा खर्चिएर पँधेराबाट एक गाग्री पानी ल्याउनुपर्ने बाध्यता छ ।’ उनका अनुसार बिहान उठ्नेबित्तिकै पानी लिन स्थानीय बेँसी झर्छन् । खोलानजिक रहेको सानो मूल भएको एउटा कुवा छ । त्यहीँबाट गाउँका स्थानीयले पानी ल्याउँछन् । ‘पानी भर्ने पालो पाउन पनि गाह्रो हुन्छ । एकैपटक गाउँका सबै मानिस पानी लिन जाँदा त निकै भिडभाड पो देखिन्छ,’ अध्यक्ष मियाँले भने, ‘पानी भर्नै एक बिहान सक्नुपर्ने बाध्यता छ । खाना पकाएर आफ्ना छोराछोरीलाई विद्यालय पठाउन निकै सकस झेल्नु परेको छ ।’

पहिले बजेट आएन, पछि महामारीले रोक्यो
खानेपानीको यो समस्या समाधान गर्न ६ वर्षअघि लिफ्टबाट पानी ल्याउने गरी सतिस्वाँरा मिर्लुङ खानेपानी आयोजना सुरु भएको थियो । तर, निर्माणमा ढिलाइले अहिलेसम्म आयोजना सम्पन्न हुन सकेको छैन । अहिले भने आयोजनाको काम तीव्र रूपमा अघि बढेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख किरण पौडेलले बताए । उनका अनुसार सुरुका दिनमा बजेट अपुग हुँदा काम रोकिएको थियो । १२ करोड ८९ लाख ९८ हजार रुपैयाँको लागतमा आयोजना निर्मााण सुरु गरिएको हो ।

‘पर्याप्त बजेट नआउँदा केही समय काम रोकियो । अहिले बजेट आएको छ, निर्माणको काम पनि धमाधम भइरहको छ,’ डिभिजन कार्यालय प्रमुख पौडेलले भने, ‘लिफ्ट खानेपानी आयोजनाको अहिले ८० प्रतिशत काम सम्पन्न भएको छ ।’ आयोजनाअन्तर्गत १२ सय धारा जडान गर्ने योजना छ । त्यसमध्ये तीन सय निजी धारा निर्माण गरिएको पौडेलले जानकारी दिए । ‘अब यही आर्थिक वर्षभित्र दुई सय ९४ धारा निर्माण सम्पन्न गर्छौँ । बाँकी ६ सय ६ धारा ०७८/०७९ मा सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने ।

घरमै खानेपानीको आशामा स्थानीय 
पछिल्लो समय बढ्दो वन–विनाशका कारण पानीका मुहान सुक्दै गएकाले त्यस क्षेत्रमा पानीको समस्या देखिएको हो । लामो समयदेखि खानेपानीको चरम अभाव झेलेका मिर्लुङवासी चाँडै आयोजना सम्पन्न भए ठूलो समस्या समाधान हुने आशामा छन् । गाउँमै धारा आए एक गाग्री पानीका लागि घन्टौँ खर्चिनुपर्ने अवस्थाको अन्त्य हुने उनीहरूलाई लागेको छ । आयोजना सम्पन्न भएपछि त्यहाँका १२ सय घरधुरीका ६ हजार उपभोक्ता लाभान्वित हुनेछन् । 

आयोजनाअन्तर्गत ४० हजार लिटरको पाँचवटा ट्यांकी निर्माणको काम सम्पन्न भइसकेको छ । इन्जिनियर वामदेव पौडेलले व्यास नगरपालिका–९ मा दुईवटा र भानु नगरपालिका–१३ मा तीनवटा ट्यांकी निर्माण गरिएको जानकारी दिए । ‘ती ट्याकीमा दुई लाख लिटर पानी संकलन हुन्छ । त्यसपछि स्थानीयले सजिलै खानेपानी प्राप्त गर्नेछन्,’ इन्जिनियर पौडेलले भने । 

माघभित्र तीन सय घरमा पानी आउने
माघ महिनाभित्र तीन सय धारामा पानी आउने बताइएको छ । अहिले निर्माण सम्पन्न भएको तीन सय धारामा माघ महिनामा पानी छाड्ने तयारी भएको कार्यालय प्रमुख पौडेले बताए । ‘धारा निर्माण भइसकेका घरमा माघभित्रै पानी पुर्याउने तयारीमा छौँ,’ उनले भने । उनले सुरुका वर्षमा बजेट नआएर तथा पछिल्लो समय कोभिडको महामारीका कारण सोचेजसरी काम हुन नसकेको बताए । तर, अहिले तीव्र गतिमा काम भइरहेकाले माघभित्रै तीन सयजति उपभोक्ताले घर–घरमै पानी पाउने उनको भनाइ छ । 

तीनवटा लिफ्ट निर्माणको काम सम्पन्न भएको छ । अब चौथो चरणको लिफ्टको काम बाँकी छ । त्यस्तै, कार्यालय भवनको काम र नौ सय धारा निर्माण गर्ने काम बाँकी रहेको इन्जिनियर पौडेलले बताए । समयमा काम सम्पन्न नभएपछि आयोजनाको म्याद दुईपटक म्याद थप गरिसकिएको छ । चितवनको कृपा कन्स्ट्रक्सनले ०७४/०७५ आयोजना निर्माणको जिम्मा लिएको थियो । तर, समयमा काम नभएपछि ०७६/०७७ मा गण्डकी निर्माण सेवा नेपालगन्जले पाएको हो । 

See More On

सुझावित समाचार