भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट : भारतको रोमाञ्चक जित

मंगलबार, ६ माघ, २०७७
डिजिटल संस्करण

भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले रोमाञ्चक जित हासिल गरेको छ । यो जितसँगै भारतले चार टेस्टको शृंखला २–१ ले जितेको छ । एक खेल भने बराबरी भएको थियो । ब्रिस्बेन क्रिकेट मैदानमा अस्ट्रेलिया सन् १९८८ पछि पहिलोपटक भारतसँग पराजित भएको छ । 

पाँचौँ दिन चार रनबाट खेल्न थालेको भारतले अस्ट्रेलियाले प्रस्तुत गरेको तीन सय २८ रनको चुनौती तीन ओभर बाँकी रहँदा सात विकेट गुमाएर पूरा गरेको थियो । अन्तिम तीन ओभरमा भारतलाई जितका लागि तीन रन चाहिएको अवस्थामा रिषभ पन्तले विजयी चौका प्रहार गरेका थिए । 

भारतका लागि रिषभ पन्तले अविजित ८९ रन बनाएका थिए । भारतका अन्य खेलाडीहरू शुभमन गिलले ९१, चेतेश्वर पुजाराले ५६, कप्तान अजिन्क्य रहाणेले २४, मयन्क अग्रवालले ९, वासिङटन सुन्दरले २२, रोहित शर्माले सात र शार्दुल ठाकुरले दुई रन बनाएका थिए । 

ब्रिस्बेनको गाब्बा क्रिकेट मैदानमा यति ठूलो स्कोर पछ्याएर कुनै पनि टिमले खेल जितेको यो पहिलो अवसर पनि हो ।  भारतका पन्तले प्लेयर अफ दी म्याच तथा अस्ट्रेलियाका प्याट कमिन्सले प्लेयर अफ द सिरिजको पुरस्कार पाए । 

अस्ट्रेलियाले पहिलो इनिङमा तीन सय ६९ तथा दोस्रो इनिङमा दुई सय ९४ रन बनाएको थियो भने भारतले पहिलो इनिङमा तीन सय ३६ तथा दोस्रो इनिङमा तीन सय २९ रन बनाएको थियो ।

सुझावित समाचार