सर्त थपेर कृषिमा विदेशी लगानी खुला गर्नुपर्ने पक्षमा निजी क्षेत्र

मंगलबार, २८ पुष, २०७७
डिजिटल संस्करण

निजी क्षेत्रका तीन ठूला छाता संगठनहरू सर्त थपेर कृषिमा विदेशी लगानी खुला गर्नुपर्ने पक्षमा उभिएका छन् । कृषिमा विदेशी लगानी खुला गर्ने सरकारी निर्णयप्रति उद्योगी–व्यवसायीको मत बाझिएपछि छाता संगठनहरूले निजी क्षेत्रको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् । 

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै सर्त थपेर कृषिमा विदेशी लगानी खुला गर्नुपर्ने धारणा सार्वजनिक गर्दै सोहीअनुसार सरकारलाई सुझाबसमेत दिएका छन् । मुलुकमा विदेशी लगानी आवश्यक भएको भन्दै छाता संगठनहरूले निजी क्षेत्रसँग छलफल र अध्ययनपछि कृषिमा क्रमशः विदेशी लगानी खुला गर्न सरकारलाई सुझाबसमेत दिएका हुन् । निजी क्षेत्रले कृषिमा विदेशी लगानी खुला गर्न खासगरी स्वदेशी कच्चा पदार्थ प्रयोग गर्नुपर्ने, अधिकतम उत्पादन निर्यात गर्नुपर्ने र उच्चतम प्रविधि भिœयाउनुपर्नेलगायत सर्त अघि सारेका छन् । 

‘कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्दा भित्रिने प्रविधि, यसले उपयोग गर्ने कच्चा पदार्थ र निर्यातको अवस्था हेरेर मात्र निर्णय गर्नु आवश्यक हुन्छ । त्यसैले उच्चतम प्रविधि भित्र्याउने , स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने र अधिकांश हिस्सा निर्यात गर्न सक्ने सम्भाव्यताको विस्तृत अध्ययन गरेर मात्र कृषिमा विदेशी लगानी खुला गर्ने निर्णय कार्यान्वयनमा लगिनुपर्ने माग नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘विदेशी लगानी मुलुकका लागि अत्यावश्यक भएको सन्दर्भमा उक्त लगानीलाई प्रवद्र्धन गर्न सरकारले जनाएका विगतका प्रतिबद्धता पूरा गर्नु आवश्यक छ । यससँग सम्बन्धित नीति–नियम, निर्देशिका, कार्यविधि बनाउँदा वा कुनै संशोधन गर्दा निजी क्षेत्रसँग अनिवार्य रूपमा छलफल गर्न पनि महासंघ, परिसंघ र चेम्बर जोडदार माग गर्दछ ।’

सरकारले २० पुसमा राजपत्रमा सूचना प्रकाशित गर्दै कृषिमा विदेशी लगानी खुला गरेको थियो । सर्तसहित विदेशी लगानी खुला गर्ने सरकारी निर्णयको एकथरी उद्योगी–व्यवसायीले स्वागत गरेका छन् भने अर्काथरीले विरोध गरेका छन् । कृषिमा विदेशी लगानी खुला गर्ने व्यवस्था र त्यसको विरोधमा विभिन्न कृषि उद्यमसँग सम्बन्धित संघ–संस्थाले गरेको विरोधमा महासंघ, परिसंघ र नेपाल चेम्बरको ध्यानाकर्षण भएको जनाएका छन् ।

‘कृषिजस्तो सर्वसाधारणको जीविकासँग प्रत्यक्ष जोडिएको विषयमा विदेशी लगानी भित्र्याउन नहुने एउटा तर्क छ भने बढ्दो व्यापार घाटा कम गर्न एवं उत्पादन र उत्पादकत्व बढाउन विदेशी लगानी र प्रविधि आवश्यक रहेको विषय पनि उठेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस सन्दर्भमा महासंघ, परिसंघ र चेम्बरले यससँग सरोकारवाला निकायसँग छलफल गरी कृषिमा विदेशी लगानीबारे निम्नबमोजिमको सुझाब सरकारसँग पेस गर्ने निर्णय गरेको छ ।’

चिन्ता किसानको डर अमुलको
तीनवटा छाता संगठनबीच भएको बैठक र सम्बन्धित उद्योगी–व्यवसायीसँगको छलफलबाट कृषिमा विदेशी लगानी खुला गर्दा किसान विस्थापन हुन्छन् कि भन्ने कुरा उठेको छलफलमा सहभागी एक उद्योगीले बताए । किसान विस्थापन हुने चिन्तासँगै भारतीय ब्रान्ड अमुल नेपाल भित्रिने डर पनि देखिएको उनले बताए ।

‘यहाँको कच्चा पदार्थ उपयोग नगर्ने गरी अमुल आएमा किसान विस्थापन हुने र यहाँका डेरी उद्योग धराशायी हुने भन्ने कुरा आयो,’ उनले भने, ‘त्यसैले कृषिमा विदेशी लगानी खुला गर्दा उपलब्ध भएसम्म स्वदेशी कच्चा पदार्थ उपयोग गर्नुपर्ने र अधिकतम निर्यात गर्नुपर्ने भन्ने सर्त अघि सारेका हौँ ।’ यद्यपि, कृषिमा विदेशी लगानी खुला गर्ने निर्णयमा भने डेरी उद्योगीबाहेक सबैजसो पक्ष सकारात्मक नै देखिएको उनले बताए । 

सुझावित समाचार