काठमाडौं/ चालू आर्थिक वर्ष ०८३/८४ को कात्तिक महिनामा तीन अर्ब ४२ करोड ४३ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
उद्योग विभागले सार्वजनिक गरेको कात्तिक महिनाको तथ्यांकअनुसार ८५ वटा परियोजनामा यस्तो प्रतिबद्धता आएको हो । गत आवको कात्तिकमा भने ७१ परियोजनामा एक अर्ब ५४ करोड ३९ लाख लगानी प्रतिबद्धता आएको थियो ।
चालू आवको पहिलो चार महिनामा चार सय ९७ परियोजनामा १९ अर्ब ५५ करोड २९ लाख लगानी प्रतिबद्धता आएको छ । गत आवको चार महिनामा तीन सय ८६ परियोजनामा ३६ अर्ब ६८ करोड १६ लाख रुपैयाँ प्रतिबद्धता आएको थियो ।
चार महिनामा चार सय ९१ साना, दुई मझौला र चार ठुला परियोजनामा लगानी प्रस्ताव आएको छ । त्यसमा ६ हजार दुई सय एकजनालाई रोजगारी प्राप्त हुने बताइएको छ ।
तथ्यांकअनुसार चार महिनामा उत्पादनमूलकका २९ परियोजनामा एक अर्ब ७५ करोड २५ लाख, ऊर्जाका तीन परियोजनामा चार अर्ब पाँच करोड, कृषिका तीन परियोजनामा १५ करोड र पर्यटनका एक सय ४६ परियोजनामा आठ अर्ब ६६ कराड ७८ लाख रुपैयाँ प्रतिबद्धता आएको छ ।
यस्तै, सेवाका ४४ परियोजनामा तीन अर्ब ९५ करोड २९ लाख र सूचना प्रविधिका दुई सय ७२ परियोजनामा ९७ करोड ९६ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
चार महिनामा नेपालबाट तीन अर्ब ८४ करोड ६७ लाख ८१ हजार रुपैयाँ लाभांश बाहिरिएको छ । त्यसमा कात्तिकमा मात्रै तीन अर्ब ६५ करोड तीन लाख बाहिरिएको तथ्यांक छ । गत आवको चार महिनामा भने दुई अर्ब ९० करोड ७७ लाख बाहिरिएको थियो ।