पूर्वउपसचिव केसी होटेलमा मृत फेला

सोमबार, २७ पुष, २०७७
डिजिटल संस्करण

हेटौँडा– ४ मेनरोडस्थित तीनतारे होटेल सामनामा नेपाल सरकारका पूर्वउपसचिव मृत फेला परेका छन् । 

सोमबार बिहान ओलखढुंगा स्थायी ठेगाना भई हाल भक्तपुर बालकोट बस्ने ६० वर्षीय नेपाल सरकारका पूर्वउपसचिव लेखजंगध्वज केसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

महालेखा नियन्त्रक कार्यालयबाट अवकाशप्राप्त पूर्वउपसचिव केसी १२ पुसदेखि सामनामा बस्दै आएका थिए । 

केसी हेटौँडा सिमेन्ट उद्योगको लेखा परीक्षणका लागि हेटौँडा आएका उनीसहित तीनजना होटेलको दुईवटा कोठामा बस्दै आएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

दीर्घरोगी रहेका केसीले बेलुका मादक पदार्थ सेवन गरेर सुतेको र बिहान मृत भेटिएको प्रहरीको अनुसन्धानबाट खुलेको डिएसपी रानाले जानकारी दिए । 

‘सँगै बस्दै आएका साथीसँग सोधपुछ गर्दा उनले गएराति मादक पदार्थ सेवक गरेको बुझिएको छ,’ रानाले भने, ‘शवको प्रकृति हेर्दा प्राकृतिक मृत्यु देखिएको छ । परिवार आएपछि पोस्टमार्टम गरिनेछ ।’

See More On

सुझावित समाचार