प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको संसद् विघटनको विरोधमा आइतबार देशका विभिन्न भागमा बयलगाडासहित विरोध प्रदर्शन भएका छन् । ०६२/६३ को जनआन्दोलन चलिरहँदा ओलीले आन्दोलनको बलमा गणतन्त्र ल्याउनु र बयलगाडा चढेर बारिङटन पुग्नु एकै भएको भनी अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिपछि कतिपयले उनलाई गणतन्त्रविरोधीका रूपमा चित्रित गर्ने गरेका छन् ।
आन्दोलनको बलमा गणतन्त्र स्थापनापछि बनेको संविधान मासेर ओलीले प्रतिगमन चाहेको भन्दै विरोधमा आइतबार विपक्षी दलका कार्यकर्ताले बयलगाडासहित प्रदर्शन गरेका हुन् । यसक्रममा आइतबार बयलगाडाको र्याली निकालिएका छन् ।
नेकपाको प्रचण्ड–नेपाल समूहनिकट अनेरास्ववियुसमर्थित विद्यार्थीले राँगासहितका बलयलगाडा निकालेर बजारमा र्याली प्रदर्शन गरे । ‘जनआन्दोलन चर्कंदै जाँदा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका जानुजस्तै भन्ने ओलीले गणतन्त्र चाहेका थिएनन् ।
त्यसैले प्रधानमन्त्री भएपछि अहिले उनी गणतन्त्र, संघीयता र संविधान समाप्त पार्ने खेलमा लागेका छन्,’ अनेरास्ववियुका नेता रमेश भट्टराईले भने, ‘संसद् विघटन त्यसैको एउटा कदम हो ।’ प्रदर्शनपछि धनगढी पार्कमोडमा आयोजित कोणसभामा तत्कालीन अनेरास्ववियु नेता सुरेन्द्र बस्नेतले संसद् विघटनजस्ता प्रतिगामी कदमविरुद्ध उभिन विद्यार्थीलाई आह्वान गरे ।
प्रधानमन्त्रीको गृहनगरमै बयलगाडा कुदाइयो
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा बयलगाडा कुदाएर विरोध प्रदर्शन भएको छ । कांग्रेसले आयोजना गरेको विरोधसभामा ओलीको विरोध गर्दै बयलगाडा कुदाइएको हो । प्रधानमन्त्रीले संसद् विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै कांग्रेसले बयलगाडासहित विरोध प्रदर्शन गरेको हो ।
बयलगाडा दमकको मुख्य बजार क्षेत्र घुमाइएको कांग्रेसले जनाएको छ । गणतन्त्र स्थापनामा ओलीको कुनै योगदान नरहेको भन्दै प्रदर्शन गरिएको ओलीसँग कांग्रेसबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका खगेन्द्रपाण्डव अधिकारीले बताए । ‘केपी ओलीले गणतन्त्र स्थापना गर्नु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो भन्थे,’ उनले भने, ‘उनकै क्षेत्रमा सांकेतिक रूपमा बयलगाडा कुदाएका हौँ । उनी यो उपलब्धिको कारक होइनन् भन्नलाई यो गरेका हौँ ।’
विराटनगर बजारमा पनि बयलगाडाको जुलुस
विराटनगरमा पनि प्रचण्ड–माधव समूहको अनेरास्ववियुले प्रतिगमनविरुद्ध बयलगाडा जुलुस निकालेको छ । उनीहरूले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गरे ।
‘बयलगाडा चढेर जाऔँ है अमेरिका’ लेखिएको ब्यानरसहित विद्यार्थीले जुलुस निकालेर विराटनगर बजार परिक्रमा गरेका थिए । जुलुसपछिको कोणसभामा नेताहरूले प्रतिनिधिसभा पुनस्र्थापना गरी प्रतिगमन सच्याउन माग गरे । प्रधानमन्त्रीले सात दशक लामो संघर्षबाट प्राप्त गरेका उपलब्धि मास्न नियोजित रूपमा प्रतिनिधिसभा भंग गरेको आरोप लगाए । संसद् पुनस्र्थापना नभएसम्म आन्दोलन चर्काउने भन्दै उनीहरूले सडकबाट प्रतिनिधिसभा पुनस्र्थापना गर्नुअघि नै सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई गलत साबित गरिदिने विश्वास व्यक्त गरे ।
बुटवलमा संविधान वाचन गरेर विरोध
प्रतिनिधिसभा विघटनको विरोध गर्ने क्रममा बुटवलमा संविधान वाचन गरेर विरोध जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा विघटन गरेको प्रतिनिधिसभा पुनस्र्थापना गर्ने आन्दोलनका क्रममा आइतबार बुटवलमा संविधान वाचन गरिएको हो । प्रचण्ड–नेपाल समूहको संघर्ष समिति रुपन्देहीले गरेको कार्यक्रममा कानुन व्यवसायीहरू, राजनीतिक दलका कार्यकर्ता, युवा विद्यार्थीलगायतको सहभागिता थियो ।
प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको सशक्त प्रतिरोध गरौँ, संघीय ‘लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ भन्ने मूल नाराका साथ कार्यक्रममा सहभागीहरूले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको विरोध गरे । पुष्पलाल पार्कमा भएको कार्यक्रममा संघर्ष समितिका संयोजक पुरुषोत्तम घिमिरे, युवा संघका पूर्वकेन्द्रीय उपाध्यक्ष राजु गुरुङ, प्रदेश सांसद दीपा विक, नेकपाका जिल्ला नेताहरू खेम लुइँटेल, सिद्धिचरण भट्टराई, युवा नेतृ सरिता श्रीषलगायतको सहभागिता थियो । कार्यक्रममा अधिवक्ता पशुपति भण्डारीले सरकार गठन, प्रतिनिधिसभा विघटनबारे संविधानमा भएको व्यवस्थाको बारेमा चर्चा गरेका थिए ।
रामेछापमा पनि सडकमै संविधान वाचन
संसद् विघटनको विरोधमा प्रचण्ड–माधव समूहले आइतबार सदरमुकाम मन्थलीको सडकमा संविधान वाचन गरेर विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा संसद् विघटन गरेर संविधानको पाना च्यातेको आरोप लगाउँदै आएका उनीहरूले दोस्रो चरणको आन्दोलन कार्यक्रमअन्तर्गत आइतबार सडकमा संविधान वाचन गरेका हुन् ।
मन्थली सडकमा सो समूहका रामेछाप जिल्ला अध्यक्ष मयनकुमार मोक्तानले संविधानको धारा ७६ को उपधारा १ देखि ७ सम्म पढेर सहभागीहरूलाई सुनाएका थिए । विरोध सभामा सहभागी कार्यकर्ताहरूले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै संसद् पुनस्र्थापनाको माग गरे ।
नेकपाका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेलले अहिले विघटनविरुद्ध पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू, संविधानविद्हरूले समेत विरोध जनाइरहेकाले सर्वोच्चले प्रधानमन्त्रीको कदम सच्याउने विश्वास व्यक्त गरे । विरोध कार्यक्रममा प्रदेश सचिवालय सदस्य तथा जिल्ला सचिव शान्तिप्रसाद पौडेलले मुलुक कोरोना महामारीले गाँजिरहेका वेला जनताको चाहनाविपरीत प्रधानमन्त्रीले संसद् विघटन गरेको बताए ।