चितवनमा एकै समयमा नेकपा दुई समूहको छुट्टाछुट्टै भेला, पार्टी कार्यालयमा प्रहरीकाे पहरा

सोमबार, २० पुष, २०७७
डिजिटल संस्करण

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा नेकपाका छुट्टाछुट्टै भेला हुँदै छन् । 

नेकपा विभाजन भएपछि दुई समूहले छुट्टाछुट्टै कार्यक्रम गर्दै आए पनि चितवनमा एकै समय प्रधानमन्त्री केपी ओली समूह र प्रचण्ड–माधव नेपाल समूह नेकपाका शीर्ष नेताहरूको सहभागितामा हुन लागेको छुट्टाछुट्टै यो पहिलो कार्यक्रम हो । 

यद्यपि दुवैले आफ्नो कार्यक्रमलाई नेकपाको  जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला भनेका छन् । ओली समूहले भरतपुरको एक रिसोर्टमा  कार्यक्रम गर्दै छ भने प्रचण्ड–नेपाल समूहले नेकपा भरतपुर महानगरको कार्यालय कृष्णपुरमा आफ्नो कार्यक्रमको तयारी गरिरहेको छ । 

भरतपुरको स्मार्ट पार्टी प्यालेस एन्ड रिसोर्टमा भरतपुर १२ वसन्तचोकमा हुने ओली समूहको भेलालाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेकपा नेता महेश बस्नेतलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । 

यता प्रचण्ड–नेपाल समूहको अगुवा कार्यकर्ता भेलालाई नेता भीम रावल, योगेश भट्टराई र रामकुमारी झाँक्रीले सम्बोधन गर्ने कार्यक्रम छ । दुवै भेला बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ । एकै कार्यक्रम दुईतिर हुँदा कार्यकर्ताहरू भने अलमलमा छन् । चितवनमा ओली समूहको तुलनामा प्रचण्ड–माधव समूह बलियो देखिन्छ । 

पार्टी कार्यालयमा प्रहरी तैनाथ 

११ पुसमा नेकपा चितवनको पार्टी कार्यालयमा ओली समूहले कोही नभएको मौका छोपी बिहानको समयमा ताला लगाएकाे थियाे । केहीबेरमै प्रचण्ड–नेपाल समूहका युवा कार्यकर्ताले त्यो ताला फुटाए । त्यसपछि सुरक्षालाई ख्यालमा राखी झडप नहोस् भनेर त्यसै दिनदेखि पार्टी कार्यलय प्रशासनको नियन्त्रणमा छ ।

प्रधानमन्त्री ओलीले सत्ता र शक्तिको दुरुपयोग गर्दै नेकपाको पार्टी कार्यालयमा सुरक्षाकर्मीलाई तैनाथ गरेको प्रचण्ड–नेपाल पक्षको आरोप छ ।

भरतपुर महानगरपालिका– १० स्थित मदननगरमा रहेको नेकपाको पार्टी कार्यालयमा अहिले सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिएका छन् । यो कार्यालयमा अहिले कसैलाई पनि प्रवेश गर्न दिएको छैन । नेकपाको यो पार्टी कार्यालय साबिक एमालेको पार्टी कार्यालय हो ।

कृष्णपुरमा रहेको नेकपा भरतपुर महानगरको कार्यालय भने साबिक माओवादी केन्द्रको पार्टी कार्यालय हो । एकीकरणपश्चात् साबिक माओवादी केन्द्रको कार्यालयलाई महानगरको कार्यालय  र साबिक एमालेको कार्यालयलाई नेकपा पार्टी कार्यालय बनाइएको थियो । 
 

See More On

सुझावित समाचार