सरकार कामचलाऊ होइन : प्रवक्ता गुरुङ

शुक्रबार, १७ पुष, २०७७
डिजिटल संस्करण

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार ‘कामचलाऊ’ हैसियतमा नभएको बताएका छन् । मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा गुरुङले सरकार कामचलाऊ हैसियतमा छ भन्ने भ्रम कसैले पनि पाल्न जरुरी नभएको भन्दै सरकारले गर्ने सबै काम संवैधानिक र कानुनसम्मत हुने दाबी गरे ।

‘सरकार कामचलाऊ हो कि, काम गर्न पाउने कि नपाउने ? यसले गर्ने निर्णयहरूमाथि कतै प्रश्न उठ्ने हो कि भन्ने कुनै द्विविधा छ भने म हार्दिकतापूर्वक निवेदन गर्छु– अहिलेको सरकारले गरेको काम संवैधानिक छ, सरकारले गर्ने निर्णयहरू नेपालको कानुनबमोजिम हुनेछ,’ गुरुङले भने, ‘त्यसैले राष्ट्रसेवक कर्मचारी, आमनेपाली दिदीबहिनी तथा दाजुभाइ कसैले पनि यस्तो भ्रम पालिरहन जरुरी छैन ।’

राष्ट्रपतिमाथिको असभ्य नारा खेदजनक
मन्त्री गुरुङले नेपालको सर्वोच्च संस्था, गणतन्त्रको प्रतीक राष्ट्रपतिमाथि लाञ्छित गर्दै सडकमा लगाइएका असभ्य नाराप्रति नेपाल सरकारको तर्फबाट खेदसमेत व्यक्त गरे । गत १४ पुसमा नेकपाको प्रचण्ड–नेपाल समूहले आयोजना गरेको जुलुस प्रदर्शनका क्रममा राष्ट्रपतिमाथि अमर्यादित गतिविधि भएको संकेत गर्दै गुरुङले खेद व्यक्त गरेका हुन् । 

‘राजनीतिक एजेन्डाविनै सडकमा आएका केही राजनीतिक पार्टी र समूहहरूले नेपालको सर्वोच्च संस्था राष्ट्रपतिप्रति नै असभ्य नारा लगाउने, अराजनीतिक गतिविधि गर्ने काम गरेका छन्, यो निन्दनीय र खेदजनक छ,’ गुरुङले भने, ‘यसले नेपालको राष्ट्रपति संस्था र लोकतान्त्रिक गणतन्त्रप्रति आँच पु¥याउन खोजेको छ, त्यसप्रति हामी सबै सजग हुन जरुरी छ ।’

संविधान, लोकतन्त्र र संसदीय प्रणालीको रक्षाका लागि सरकार ताजा जनादेशका लागि चुनावमा जान बाध्य भएको भन्दै मन्त्री गुरुङले सबै राजनीतिक दल राजनीतिक संस्कारका साथ चुनावी तयारीमा लाग्नुपर्नेमा जोड दिए । निर्वाचन आयोगले समेत चुनावी तयारी सुरु गरिसकेको जानकारी दिँदै उनले संसद् पुनस्र्थापना होला कि भन्ने अलमलमा पर्नुपर्ने आवश्यकता नै नरहेको पनि बताए । 
 

सुझावित समाचार