प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले संसद् विघटन गरेको छ । संसद्ले समयसीमामा बजेट पारित गर्न नसकेपछि संसद् भंग गरिएको हो । मंगलबार संसद् भंग भएपछि देशमा दुई वर्षभित्र चौथोपटक चुनाव हुने भएको छ ।
सम्भवतः अर्को वर्ष सन् ०२१ को २३ मार्चमा चुनाव हुने सिएनएनले जानकारी दिएको छ । नेतन्याहू र उनका प्रतिद्वन्द्वी रक्षामन्त्री बेनी गान्ट्जको नेतृत्वकाे गठबन्धनले सन् ०२० को बजेट स्वीकृत गर्न मध्यरातको म्याद गुमाएपछि संसद्को स्वतः भंगलाई बाध्य तुल्याएको थियो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको गठबन्धनका सांसदहरूले सरकारको पतनका लागि एक–अर्कालाई दोष दिएका छन् ।
कोरोना भाइरसको यो महामारी चलिरहेको अवस्थामा नेतन्याहूलाई पुनः चुनावका लागि बाध्य हुनुपर्ने अवस्था रहेको छ । नेतन्याहूमाथि लामो समयदेखि पर्खाइमा रहेको भ्रष्टाचारको मुद्दा झनै तीव्र हुँदै गइरहेको छ ।
नेतन्याहूको दक्षिणपन्थी लिकुड र गान्ट्जको ब्लु एन्ड ह्वाइट पार्टीको नेतृत्वमा रहेको गठबन्धनले सन् ०२० को बजेट पारित गर्न मध्यरातसम्म प्रयास गरे पनि सफल हुन सकेको थिएन ।