कवि श्रवण मुकारुङ उमेरले म्याच्युअर्ड भइसके । उनी आफैँ यो स्वीकार्छन् । अनामनगरको एउटा चियापसलमा आफ्नो उमेर र ऊर्जाबारे जानकारी दिइरहेका छन् । उमेरको चरण, त्यसअनुसारको ऊर्जा र सिर्जनशीलताबारे धारा प्रवाह बोलिरहेका छन् । चिया टेबलमा छ । बाफ फुसुसु शून्यतातिर उक्लिरहेको छ ।
उनको झन्डैझन्डै पूरै फुलिसकेको कपाल डुब्न लागेको घामको प्रकाशले टल्काइरहेको छ । जुन प्रकाश अघिल्तिरको घरको सानो छिँडीबाट लुसुक्क छिरेको छ । भनिन्छ, डुब्न लागेको घाम धेरै उज्यालो हुन्छ । तर, जाडोयाम छ । चिया–टेबलमा तेर्सिएको घामको किरणले न्यानो दिइरहेको छ यहाँ । हल्का तातो बनाइरहेको छ । र, कविताका हरफहरू, गीतका पंक्तिहरू खोजी हिँड्ने कवि थुचुक्क बसेका छन् ।
‘दाइ, कुराकानी गरौँ न,’ केही मिनेटअघि मात्र फोनमा भनेको थिएँ । ‘कस्तो कुराकानी ?’ उनको प्रश्न थियो । मैले भनेँ, ‘क्याजुअल गफ, क्याजुल लेखनका लागि फिट हुने ।’ लकडाउनयता कवि मुकारुङका झन्डै आधा दर्जन कविता प्रकाशित भए । प्रायः कविताहरू जीवनबोधी, आत्मसमीक्षात्मक थिए । ‘बीसे नगर्चीको बयान’, ‘अनुहार खोजिरहेछ रामभरोस’, ‘पुरानो मानिस’जस्ता कविता पढेका पाठकका लागि नयाँ स्वाद थिए ।
पुरानै कविता पढेर कवि मुकारुङप्रति धारणा बनाएका पाठकका निम्ति चासोको विषय बनिगो ! यसबीचमा कवि मुकारुङलाई लागेछ, केही फरक त लेख्नैपर्छ । सर्जकले आफ्नै शैली पनि वेलावेला परिवर्तन गर्दै जानुपर्छ । फरक ढंगले लेख्ने चरणमा स्रष्टा देखिनुपर्छ । एउटै चरण र एउटै शैलीले मात्र लेखक या कवि पर्याप्त हुँदैन । स्रष्टाले धेरै आयामको खोजी गर्नुपर्छ । सिर्जना भनेपछि एक्सपेरिमेन्टमा जानैपर्छ ।
‘उमेरले पनि म्याच्युर्ड हुँदै गएँ । सबै एकै चरणले लेख्दिनँ । पुरानै प्रकारको बीसे नगर्चीको बयान जस्तो लेखेर पाठकलाई इरिटेसनमा राख्दिनँ । स्वाभाविकै हो लेख्ने तरिकाहरू फरक हुँदै जान्छन्,’ उनी सुनाउँछन्, ‘राजनीतिक उभार हुँदा त्यससँगै लेखन जाला । सामाजिक विषय बढी आएको वेला पनि होला । तर, कहिले समाजभित्रको कुरा आउला, कहिले आफूभित्रको आफ्नो कुरा आउला । मैले त्यही आफूभित्रको कुरालाई अलि बढी फोकस गरेँ कि ।’
मुकारुङ उमेरले ५५ वर्ष पुगेका छन् । ३५ वर्षदेखि ऊर्जाका साथ निरन्तर कविता लेखिरहेका छन् । यो उमेरमा या चरणमा आइपुगेर विगततिर पनि फर्किन्छन् कहिलेकाहीँ । तर, उनलाई त्यो लामो समय एउटा क्षणजस्तो लाग्दोरहेछ । मात्र कविता लेखिरहेका छन् ३५ वर्षदेखि । त्यो एउटा यात्रा हो । तर, त्यो समयलाई हाम्रो सोचाइले खुम्चाउन या तन्काउन दुवै गर्न सकिने उनी बताउँछन् । भन्छन्, ‘त्यसलाई तन्काउँदा लामो भर्याङ हो, लामो गोरेटो हो । छोट्याउँदा एउटा क्षणजस्तो त हो ।’
उनले कविता लेखनमै ३५ वर्ष त गुजारे । तर, युवाकालमै लेखेका उनका कविता, गीतहरू अहिले पनि पढिन्छन् । ‘माझी गाउँको हल्ला’ कविता या त ‘माथि माथि शैलुंगेमा’ गीत २५ वर्ष नपुग्दै लेखेका थिए । तर, उनी अहिले भनिरहेछन्, ‘अहिले उमेरले म म्याच्युअर्ड भइसकेँ ।’
सर्जकले आफ्नै शैली पनि वेलावेला परिवर्तन गर्दै जानुपर्छ । फरक ढंगले लेख्ने चरणमा स्रष्टा देखिनुपर्छ । एउटै चरण र एउटै शैलीले मात्र लेखक या कवि पर्याप्त हुँदैन । स्रष्टाले धेरै आयामको खोजी गर्नुपर्छ । सिर्जना भनेपछि एक्सपेरिमेन्टमा जानैपर्छ ।
आफूले म्याच्युअर्ड भएँ भन्दै गर्दा त्यो समयको सिर्जनाहरू उनी स्वयंलाई गज्जब लाग्दा रहेछन् । उमेरको यो खुड्किलोमा आइपुगेर त्यता फर्कँदा यसैउसै मन पर्दोरहेछ उनलाई । त्यो उमेर, युवाकाल । जुन उमेरमा आवेग हुन्छ । उत्तेजना हुन्छ । बढी स्वप्नशील पनि त्यही उमेरमा हुन्छ कोही । ‘त्यस समयमा लेखेका सिर्जनामा परिपक्वता नभएको हुन सक्छ । तर, सिर्जना परिपक्वता मात्र होइन,’ उनी सुनाउँछन्, ‘सिर्जना उद्वेग पनि हो, आवेग पनि हो ।’
लेखनको पहिलो सर्त पनि उनी आवेगलाई मान्छन् । जसको महत्व पनि त्यत्तिकै हुन्छ, जति चेतनाको हुन्छ । ०४४÷४५ तिर कविले अत्यधिक कविता लेखे । उनकै शब्दमा डुबेर लेखे । चियापानी बिर्सेर लेखे । के लेख्दै छु, थाहा नपाएर पनि लेखे । तर, निरन्तर लेखिरहे । आफूले जति कसैले लखेको छैन भन्ने भ्रमले पनि लेखे । त्यसरी लेख्दा केही राम्रा आए त केही नराम्रा आए । जसलाई स्वाभाविक मान्छन् उनी ।
भनिन्छ, जीवनमा सधैँ उर्वरता रहँदैन । सधैँ ऊर्जा पनि हुँदैन । सधैँ सिर्जना गर्न पनि सकिँदैन । तर, कवि निरन्तर लेखिरहेका छन् । भन्छन्, ‘मैले कतै जागिर खाएको छैन । अर्को पेसा छैन । कि लुगा धुने, भाँडा माझ्ने हो । कि त कविता लेख्ने हो । त्योबाहेक अरू केही गरेकै छैन ।’ अरू पेसा नभएपछि लेखनतिरै सक्रिय भइरहनुपर्छ भन्ने अभिप्रायले पनि आफूले लेखिरहेको उनको भनाइ छ ।
कहिले गीत लेख्छन्, कहिले कविता लेख्छन् । जहाँ पुगे पनि, जता पुगे पनि या त बरालिएर हिँडे पनि कविताको हरफ या गीतको पंक्ति खोजिरहन्छन् उनी । त्यो जुनूनले पनि आफूले खुत्रुकखुत्रुक लेखिरहेको कुरा चिया पिउँदै सुनाउँछन् । गीत रेकर्ड गराउन अनामनगर आइपुगेका मुकारुङ घर फर्कने वेला भन्छन्, ‘मेरा लागि कविता एउटा कुमालेले माटोको भाँडा बनाएजस्तो, किसानले हलो बनाएजस्तो हो । एउटा कलाकारले थांकामा निरन्तर घोचिरहन्छ, जति धेरै मिहिनेतले घोच्छ उति राम्रो बनाउँछ ।’