काठमाडौं, पोखरा र भैरहवामा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने पक्कापक्की भएपछि पर्यटनको भविष्य देखेर देशभर दुई दर्जन पाँचतारे र चार तारे होटेलको निर्माण थालियो, तर कोभिडका कारण निर्माणाधीन होटेलको लागत बढेको मात्रै छैन, लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन्
सन् २०१५ मा नेपालमा महाभूकम्प नआइदिएको भए काठमाडौंको कान्तिपथमा पाँचतारे होटेल सेराटन सञ्चालनमा आएको दुई वर्ष भइसक्थ्यो । गैरआवासीय नेपाली शेष घलेको लगानी रहेको सेराटन सन् २०१८ फेब्रुअरीमा सञ्चालन गर्ने उद्देश्यले तीव्रताका साथ निर्माण भइरहेको थियो ।
तर, भूकम्प र लगत्तै भारतीय नाकाबन्दीले होटेल निर्माणमा अवरोध पुर्याएपछि होटेल सञ्चालनको भाका २०२० को अन्तिमतिर सारियो । तर, यो वर्षको पनि सुरुवातमै सम्पूर्ण मुलुकसँगै नेपालले पनि कोभिड महामारीको सामना गर्नुपरेपछि निर्माणमा फेरि ब्रेक लाग्यो । पुनः सञ्चालन मिति धकेलिएर २०२२ फेब्रुअरी पुगेको छ ।
विभिन्न कारणले होटेल निर्माणमा भइरहेको ढिलाइले लागत बढ्दै गइरहेको एमआइटी ग्रुप होल्डिङ्स नेपालका अप्रेसन म्यानेजर सुरेश चित्रकारले बताए । उनले भने, ‘८ अर्ब लगानीमा निर्माण गर्न सकिने आकलन गरिएको होटेलको लागत भूकम्प र नाकाबन्दीले १० अर्ब पुग्यो । तर, अहिले कोभिडका कारण पुनः लागत बढेर १२ अर्ब पुग्ने अनुमान छ ।’ तीन तला बेसमेन्टसहित २१ तलाको होटेलमा २ सय २२ कोठाहरू हुनेछन् ।
पोखराबाट उदाएका होटेल व्यवसायी विप्लव पौडेलले काठमाडौंको कान्तिपथमा होटेल निर्माण सुरु गरेको तीन वर्ष नाघिसक्यो । ०७७ वैशाखमा होटेल सञ्चालनमा ल्याइसक्ने लक्ष्य भए पनि कोभिडका कारण एक वर्ष ढिला हुँदा लागत २० प्रतिशत बढ्ने उनको अनुमान छ । फेवातालनजिकै सोदीमा पाँचतारे होटेल बनाउँदै गरेका उनले भने, ‘६०–६५ करोड लगानी लाग्ने आकलन गरेकोमा बढेर ८५ करोड पुग्ने भयो ।’
नक्साल र ठमेलमा मेरियट ब्रान्डबाट दुईवटा होटेल सञ्चालन गरिरहेका शशिकान्त अग्रवालले कमलादीमा पनि तारे होटेल निर्माणको तयारी थालेका थिए । डिजाइन तथा नक्सा बनेर निर्माण कार्य थालनी गर्ने वेलामा कोरोनाका कारण प्रोजेक्ट स्थगित भयो । उनी भन्छन्, ‘हामीले कमलादीमा होटेल बनाउन जग्गाबाहेक करिब १ अर्ब लगानी आकलन गरेका थियौँ, कोभिडले निर्माण ढिलाइ हुँदा २० प्रतिशत लागत बढिहाल्छ ।’
कोभिड–१९ का कारण यीबाहेक हायात प्यालेस, डबल ट्री बाई हिल्टन, दी सेन्चुरियन (विराटनगर), द लस्ट होराइज रिसोर्ट पोखरा, भँगेरी दरबार रिसोर्ट (नगरकोट) लगायत एक दर्जनभन्दा बढी पाँचतारे र चारतारे होटेल निर्माण रोकिएको छ । कतिपय निर्माणाधीन होटेलले भूकम्प, नाकाबन्दी र कोभिड तीनवटै विपत्तिको मार खेप्नुपरेको छ । जसका कारण होटेल निर्माणको लागत कम्तीमा २० प्रतिशत बढ्ने व्यवसायीहरू बताउँछन् ।
निर्माणाधीन र सञ्चालनको तयारीमा रहेका होटेलमा करिब ६४ अर्ब लगानी छ । त्यसमध्ये ४५ अर्ब बैंकको लगानी रहेको व्यवसायीहरू बताउँछन् । समयमै होटेल निर्माण सम्पन्न नहुँदा बैंकको ब्याज बढिरहेको मारियट होटेलका सञ्चालक शशिकान्त अग्रवाल बताउँछन् । उनका अनुसार नक्सालस्थित पाँचतारे मेरियट होटेल निर्माणमा भूकम्पका कारण १४–१५ करोड रुपैयाँ अतिरिक्त खर्च भएको थियो ।
सञ्चालनको अन्तिम तयारीमा रहेको सोल्टीमोडस्थित पाँचतारे हायात प्यालेस पनि कोभिडका कारण पछाडि धकेलिएको छ । अपार्टमेन्ट परियोजनालाई पाँचतारे होटेलमा परिणत गरिरहेको गोल्यान समूहले २०२१ जुलाईतिर होटेल सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । १ सय ५३ कोठाहरू हुने हायात प्यालेसमा ४ अर्बभन्दा बढी लगानी हुँदै छ । नेपाल भ्रमण वर्ष २०२० को सुरुवाततिरै सञ्चालन गर्ने लक्ष्य लिइएको भए पनि कोभिडले होटेल सञ्चालनको भाका पनि सर्यो ।
शंकर समूहले नक्साल भगवती मन्दिरछेवैमा निर्माणाधीन पाँचतारे होटेल डबल ट्री बाई हिल्टनलाई पनि कोभिडले धक्का दिएको छ । कोभिडले पर्यटन उद्योग सुस्ताउने र लगानी डुब्ने आकलन गर्दै यो समूहले होटेल परियोजनालाई अपार्टमेन्टमा परिणत गर्ने तयारी गरेको थियो । तर, होटेलको संरचना निर्माण भइसकेकाले परियोजना नै परिवर्तन गर्न सम्भव भएन । करिब ३ अर्ब लगानीको हिल्टन होटेलमा कोभिडलगायतको समस्याले लागत बढ्ने निश्चित छ ।
पोखराको बेगनासनजिकै निर्माणाधीन सांग्रिला भिलेज रिसोर्ट सञ्चालनमा पनि अन्योल सिर्जना भएको छ । सन् २०२१ बाट सञ्चालन गर्ने लक्ष्यका साथ करिब ५० प्रतिशत निर्माण सम्पन्न भइसकेको होटेल कोभिडका कारण पछाडि धकेलिएको हो ।
काठमाडौंमा पाँचतारे होटेल चलाइरहेको सांग्रिला समूहले बेगनासको पचभैया डाँडामा लक्जरी रिसोर्टको योजना बनाएको थियो । भूकम्पले पर्यटन उद्योग सुस्ताएपछि तर्सिएको सांग्रिला समूह पछिल्लो समय रिसोर्ट निर्माणमा कस्सिएको थियो ।
तर, निर्माण सुरु नगर्दै कोभिड महामारीका कारण समूहको रिसोर्ट पछाडि धकेलिएको छ । ३६ वटा लक्जरी भिल्लाको डिजाइन तयार भइसकेको रिसोर्टमा ५० करोड लगानीको आकलन थियो । तर, ढिलाइ हुँदै जाँदा लगानी पनि बढ्दै गइरहेको लगानीकर्ता प्रवीण पाण्डे बताउँछन् । त्यस्तै, भैरहवाको बेलहियामा निर्माण भइरहेको पाँचतारे होटेल नान्स पनि सञ्चालनमा आउने अत्तोपत्तो छैन ।
सिजी होल्डिङ्सले पुल्चोकमा पाँचतारे होटेल निर्माणका लागि जग खनिसकेको भए पनि कोभिडका कारण निर्माण रोकिएको छ । ३ अर्ब लगानीको होटेल निर्माणमा भइरहेको ढिलाइले लागत अझ बढ्ने सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीले बताए । यो समूह त्रिपुरेश्वरमा पनि बिजनेस होटेल सञ्चालन गर्ने तयारीमा छ ।
चौधरी समूहकै लगानीको नगरकोटमा निर्माणाधीन भँगेरी दरबार रिसोर्ट कोभिडकै कारण २०२२ मा मात्रै सञ्चालनमा आउने भएको छ । करिब ५० प्रतिशत निर्माण सकिएको रिसोर्टमा १ अर्ब लगानी हुने आकलन थियो । ३६ कोठाहरू रहने होटेलको लागत पनि कोभिडका कारण बढ्ने निर्देशक नवीन गुरुङ बताउँछन् ।
व्यवसायीसमेत रहेका उद्योग राज्यमन्त्री मोती दुगडले विराटनगरको महेन्द्र चोकमा पाँचतारे होटेल दी सेन्चुरियन सञ्चालनको अत्तोपत्तो छैन । सपिङ मलसहित होटेलको ११ तलाको भौतिक संरचना तयार भइसकेको छ । १ सय २० कोठाहरू रहने होटेल निर्माणमा १ अर्बभन्दा बढी लगानी भइसकेको सञ्चालकहरू बताउँछन् ।
व्यवसायी सिद्धार्थ राणाले रवि भवनमा निर्माण गर्न लागेको सिप्राभ्य होटेलको काम पनि कोभिडले प्रभावित भएको छ । ५ अर्ब ४२ करोड लगानीको होटेलमा १ सय ६० सुविधासम्पन्न कोठाहरू हुनेछन् । कोभिडका कारण परियोजना निर्माणमा ढिलाइ हुँदा होटेलको लगानी अझै बढ्ने उनको भनाइ छ ।
निर्माण सम्पन्न भएका होटेल
भूकम्पपछि केही होटेल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । एमएस समूहले भूकम्पअघि निर्माण सुरु गरेको पाँचतारे मेरियट होटेल सञ्चालनमा आइसकेको छ । भैरहवामा मिठाईको व्यवसाय गर्दै आइरहेका पवनकुमार हलुवाईले लुम्बिनीनजिकै पाँचतारे होटेल आंशिक रूपमा सञ्चालनमा ल्याइसकेका छन् ।
यस्तै, रुपन्देहीको कोटिहवामा हङकङको सिल्भर हेरिटेज ग्रुपले करिब ५ अर्ब लगानीमा पाँचतारे होटेल टाइगर प्यालेस सञ्चालनमा ल्याइसकेको छ । १५ बिघा क्षेत्रफलमा रहेको रिसोर्ट लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरी खोलिएको हो ।
बाँकेको नेपालगन्जमा पाँचतारे सोल्टी वेस्टेन्ड प्रिमियर होटेल र कोहलपुरमा पाँचतारे होटेल कृष्णा सञ्चालनमा आइसकेका छन् । झापाको मेचिनगरमा कोभिडको कहरबीच पाँचतारे मेची क्राउन होटेल सञ्चालनमा आएको छ । आठ बिघा क्षेत्रफलमा रहेको होटेलमा डेढ अर्ब लगानी भएको छ ।
भेगास इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष पवित्रकुमार कार्कीले एक नम्बर प्रदेशमै पहिलो पाँचतारे होटेल सञ्चालनमा ल्याएका हुन् । क्यासिनो सञ्चालन गर्ने बताइएको यस होटेलमा १ सय ५ कोठा छन् । यस्तै, झापाको बिर्तामोडमा १ अर्ब लगानीमा पाँचतारे होटेल ग्रान्ड फ्रिन्स सञ्चालनमा ल्याउने तयारी छ । रुपन्देहीमा पाँचतारे रिसोर्ट सञ्चालनमा ल्याएको सिल्भर हेरिटेज ग्रुपले पनि झापामा पाँचतारे होटेल सञ्चालन गर्दै छ ।
बाराही ग्रुपका अध्यक्ष विप्लव पौडेलले नगरकोटमा तारे होटेल सञ्चालनमा ल्याइसकेका छन् । काठमाडौंमा निर्माण भइरहेको बाराही काठमाडौं होटेल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो समूहले पोखराको सोदीमा पनि पाँचतारे होटेल सञ्चालन गर्दै छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको अगुवाइमा चन्द्रागिरिमा निर्माण भएको रिसोर्ट सञ्चालनमा आइसकेको छ । यो रिसोर्टमा मात्रै करिब १ अर्ब हाराहारी लगानी भएको छ ।
उद्देश्य नै परिवर्तन
कुपण्डोल हाइटस्थित समिट होटेललाई विश्वस्तरको बुटिक रिसोर्टमा स्तरोन्नति गर्ने घोषणा गरेका चौधरी समूह, एनई समूह र समिट समूह यतिवेला लक्जरी अपार्टमेन्ट निर्माणमा जुटेका छन् । ०७१ चैतमा दुई वर्षभित्र डेढ अर्ब लगानी गरेर बेस्ट बुटिक होटेल बनाउने योजना भूकम्प र नाकाबन्दीले केही वर्ष पछाडि धकेलिदियो ।

भूकम्पको प्रभाव मत्थर नहुँदै कोभिडका कारण पर्यटन सुस्ताएपछि समिटका सञ्चालकहरू एलिट वर्गलाई लक्षित गरेर उच्चस्तरको अपार्टमेन्ट निर्माणमा कस्सिएका हुन् । ‘हामीले लक्जरी होटेलसहितको सर्भिस र रेसिडेन्सियल अपार्टमेन्ट सञ्चालनमा ल्याउने तयारीमा छौँ,’ एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठ भन्छन्, ‘हामीले निर्माण गर्ने अपार्टमेन्ट अहिलेसम्मकै सुपर लक्जरियस हुनेछ ।’
चौधरी र एनई समूहले कान्तिपथमा पाँचतारे अर्बन हाइराइज बुटिक होटेल निर्माण गर्ने घोषण गरेको थियो । तर, पछिल्लो समय होटेलसहितको एलिट क्लास अपार्टमेन्ट निर्माण गर्ने सोचमा पुगेको बताइन्छ ।
निर्माण सुरु नभएका होटेल
काठमाडौं, पोखरा र भैरहवामा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने पक्कापक्की भएपछि पर्यटनको भविष्य देखेर होटेलमा ठूलो लगानी घोषणा भएको थियो । देशभर दुई दर्जन हाराहारी पाँचतारे र ठूलो संख्यामा तारे होटेल निर्माणको घोषणा भएको थियो ।
काठमाडौंसहित पोखरा, चितवन, भैरहवा, विराटनगर, नेपालगन्जलगायतका पर्यटकीय स्थलमा होटेल खोल्ने घोषणा गर्ने होडबाजी चलेको थियो । तर, भूकम्प, नाकाबन्दी, कोभिड महामारीलगायतले पर्यटन उद्योग थलिएपछि लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा २ अर्ब लगानीमा पाँचतारे होटेल सञ्चालन गर्ने निर्णय गरेको थियो । बुट मोडलमा निर्माण गर्ने भनिएको होटेल लामो समय बितिसक्दासमेत प्रक्रिया अगाडि बढेको देखिँदैन ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले काठमाडौं, पोखरा र लुम्बिनीमा तारे होटेल सञ्चालन गर्ने घोषणा गरेका थिए । यती समूहले लैनचौरमा होटेलका लागि बनाएको भवन एनसेलले भाडामा लिएको छ । यो समूहले २ अर्ब लगानी गरेर १ सय २० कोठाको होटेल सञ्चालन गर्ने बताएको थियो । लक्ष्मी समूह पनि पोखरामा होटेल खोल्ने योजनाबाट पछि हटेको छ । व्यवसायी अजेयराज सुमार्गीले पनि काठमाडौंमा पाँचतारे होटेल खोल्ने घोषणा गरे पनि निर्माण सुरु गरेका छैनन् ।