नेपाल इन्जिनियरिङ कलेज ठगी प्रकरण : न्यौपानेको रिट सर्वोच्चद्वारा खारेज

सोमबार, २९ मंसिर, २०७७
डिजिटल संस्करण

भक्तपुरको नेपाल इन्जिनियरङ कलेजलाई ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वअध्यक्ष लम्बोदरप्रसाद  न्यौपानेले प्रहरीविरुद्ध दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले सोमबार खारेज गरेको छ । न्यौपानेले गत २२ मंसिरमा रिट दायर गरेका थिए । 

देवानी प्रकृतिको विषय ठगी मुद्दा नहुने र आफूलाई पक्राउ गर्न नमिल्ने उनको दाबी थियो । सर्वोच्चले आइतबार प्रहरी अनुसन्धानको सक्कल मिसिलसमेत झिकाएको थियो । सोमबार न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मलता माथेमाको इजलासले रिट खारेज गरेको हो ।  रिट खारेजसँगै ठगी र किर्ते मुद्दा चलाउन प्रहरीलाई बाटो खुलेको छ । 

गत १० मंसिरमा सिआइबीले न्यौपानेलाई पक्राउ गरेको थियो । ठगी मुद्दामा उनीमाथि अनुसन्धान भइरहेको छ । 

कलेजकै विवादमा अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको प्रकरणमा उनीविरुद्ध यसअघि नै मुद्दा दायर भएको थियो । कलेजको भएको विवाद आफूअनुकूल निर्णय गरिदिने उनले घुस बुझाएको पुष्टि भएपछि पाठकसहित उनलाई आयोगले मुद्दा दायर गरेको थियो । विशेष अदालतमा ७८ लाख रुपैयाँ बुझाएर छुटेका थिए । 

कलेजले नै दिएको जाहेरीका आधारमा यसपटक पक्राउ परेका हुन् । कलेजको आठ करोड २१ लख ५३ हजार ६ सय ५० रुपैयाँ ठगी गरेको भनेर कलेजका प्रिन्सिपल रामकृष्ण श्रेष्ठले सिआइबीमा जाहेरी दिएका थिए । त्यसमध्ये करिब तीन करोड न्यौपानेले ठगी गरेको कलेजले जनाएको छ । 

न्यौपाने २३ मंसिर २०७० देखि १५ असोज २०७५ सम्म कलेजको सञ्चालक समितिका अध्यक्ष थिए । जसक्रममा उनले कलेजको बजेटबाट किनेको गाडी आफ्नो नाममा पास गर्नेदेखि विनाखर्च सञ्चालक समितिले पैसा निकालेर दुरुपयोग गरेको थियो । 

न्यौपानेले सचिवालय खर्चको बहानामा ५७ लाख ५० हजार रुपैयाँ निकालेर दुरुपयोग गरेका थिए । त्यस्तै, २० फागुन २०७३ मा बसेको सञ्चालक समितिको बैठकले एक करोड ५० लाख रुपैयाँ कुनै बिल नै पेस नगरी सञ्चालकहरूलाई दिने निर्णय गरेको थियो । काल्पनिक शीर्षकमा उनले पटकपटक रकम निकालेर दुरुपयोग गरेको कलेजको दाबी छ ।  

कलेजले गत २४ कात्तिकमा सिआइबीका जाहेरी दिएको थियो । न्यौपाने पक्राउ परे पनि त्यतिखेरका सञ्चालकहरू ललितपुरका रामकृष्ण उपाध्याय, काठमाडौं विशालनगरका उपेन्द्र गौतम, काठमाडौं बालुवाटारका लवराज भट्टराई भने फरार छन् ।

सुझावित समाचार