युरोपिनन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनल ड्र सार्वजनिक भएको छ । ड्रअनुसार गत वर्षको उपविजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)ले क्वार्टरफाइनल प्रवेशका लागि स्पेनिस क्लब बार्सिलोनाको सामना गर्नेछ । पिएसजी तथा बार्सिलोनाबीचको प्रतिस्पर्धाभन्दा पनि नेमार जुनियर र लियोनल मेसीबीचको भिडन्त नै मुख्य प्राथमिकतामा रहेको एजेन्सीहरूले जनाएका छन् ।
बार्सिलोना र पिएसजी अन्तिमपटक च्याम्पियन्स लिगमा २०१७ मा भिडेका थिए । त्यसवेला पनि प्रिक्वार्टरफाइनल खेल नै थियो । पहिलो लेगमा पिएसजीले बार्सिलोनालाई ४–० ले हराएको थियो । दोस्रो लेगमा बार्सिलोनाले नाटकीय खेलमा पिएसजीलाई ६–५ ले स्तब्ध पार्दै अन्तिम आठको स्थान पक्का पारेको थियो ।
लिभरपुलले लेप्जिङसँग खेल्ने
इंग्लिस लिग च्याम्पियन लिभरपुलले प्रिक्वार्टरफाइनलमा जर्मन क्लब लेप्जिङविरुद्ध खेल्ने भएको छ । गत वर्ष लेप्जिङ सेमिफाइनलसम्म पुगेको थियो । पछिल्लो १० खेलमा लिभरपुल जर्मन क्लबविरुद्ध अपराजित नै छ । यसैगरी चेल्सीले स्पेनिस क्लब एटलेटिको म्याड्रिडको सामना गर्नेछ ।
यस्तै समूह चरणमा अपराजित रहेको च्याम्पियन्स लिगको साबिक विजेता वायर्न म्युनिखले इटालियन क्लब लाजियोको सामना गर्नेछ । स्पेनिस च्याम्पियन रियल मड्रिडले सिरिए क्लब एटलान्टाविरुद्ध खेल्नेछ । इंग्लिस क्लब म्यान्चेस्टर सिटीले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकको सामना गर्नेछ ।
प्रिक्वार्टरफाइनलको पहिलो लेग १६, १७, २३ र २४ फेब्रुअरीमा हुनेछ । दोस्रो लेग ९, १०, १६ र १७ मार्चमा हुनेछ । गत वर्ष वायर्नले पिएसजीलाई हराउँदै उपाधि हात पारेको थियो ।