सडकबाट देउवाको आरोप : ओलीकै कारण राजावादी सल्बलाए (भिडियोसहित)

सोमबार, २९ मंसिर, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारविरुद्ध प्रमुख प्रतिपक्ष कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित प्रदर्शनपछिको सभालाई केन्द्रीय सभापति शेरबहादुर देउवाले सम्बोधन गरेका छन् । 

विरोध ऱ्यालीपछि हेटौँडाको बुद्धचोकमा आयोजित सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले एकदलीय सर्वसत्तावादी कम्युनिस्ट सरकारको विरुद्ध कांग्रेस सडकमा उत्रिएको दाबी गरे । 

सरकारले बारम्बार गलत काम गरिरहेका कारण कोरोना महामारीबीच कांग्रेस सडकमा उत्रिन बाध्य भएको उनको जिकिर छ । ‘केपी ओली नेतृत्वको सरकारले एक दललाई मात्र माथि राखेर सर्वसत्तावाद लादिरहेको छ,’ उनले भने, ‘ओलीको नेतृत्व निरंकुश शासन पद्धतिमा अघि बढेको कारणका कोरोना महामारीबीच कांग्रेस सडकमा उत्रिनुपर्ने अवस्था सिर्जना भएको हो ।’ 

देउवाले ओली सरकारले देशलाई सबैतर्फबाट मारमा पारेको र एकलौटी शासनसत्ता अंगालेको आरोप लगाए । उनले कम्युनिस्ट सरकारका कारण देशमा राजावादीहरू सल्बलाएको दाबी गर्दै लोकतन्त्रमा राजा आऊ, देश बचाऊ नारा सडकमा गुञ्जिनुमा ओली सरकारको कमजोरी रहेको बताए । ‘राजावादीहरू सल्बलाएका छन्, उनीहरू सडकमा राजा आऊ, देश बचाऊ नारा लगाइरहेका छन्,’ उनले भने, ‘यो सबै ओलीका कारण भइरहेको छ ।’ 

अहिलेको व्यवस्थाविरुद्ध राजावादीहरू सडकमा उत्रिनुमा कम्युनिस्ट सरकार मुख्य जिम्मेवार रहेको उनले जिकिर गरे । उनले ओली सरकारका कारण जनता आजित भइसकेको र कोरोना महामारीका वेला जनतालाई निःशुल्क उपचार र औषधिसमेत व्यवस्था गर्न नसकेको भन्दै आक्रोश पोखे ।

आफू प्रजातन्त्रको विरोधमा नलाग्ने बताउँदा राजाले जेल हालेको स्मरण गर्दै देउवाले लोकतन्त्रलाई संस्थागत गर्ने एक मात्र पार्टी कांग्रेस भएको दाबी गरे । अहिलेको व्यवस्थालाई थप मजबुत र संस्थागत बनाउन अनुरोध गर्दै उनले नयाँ संविधानलाई सफल बनाउन सबैको महत्वपूर्ण योगदान हुनुपर्ने बताए । 

अदालतलाई पनि कम्युनिस्टकरण गर्न खोजेर सरकारले निष्पक्ष न्यायपालिकालाई समेत प्रभाव पारेको देउवाको भनाइ छ । उनले जनतालाई दुःख दिने र सडकमै आन्दोलन गर्ने नियत नभए पनि कम्युनिस्ट सरकारले कांग्रेसलाई यस्तो अवस्थासम्म आउन बाध्य पारेको उनले बताए ।

सरकारलाई विश्वप्रकाशको चेतावनी- सुतेको बाघलाई जिस्क्याउने प्रयत्न नगर
सभामा कांग्रेस केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले सुतेको बाघलाई जिस्क्याउने प्रयत्न नगर्न चेतावनी दिएका छन् ।  उनले कांग्रेस अहिले प्रतिपक्षमा रहेका कारण सुतेको बाघ भए पनि जुर्मुराउँदा निकै अप्ठ्यारो पार्ने बताए । 

उनले कांग्रेस सुतेकोजस्तो गरेको मात्रै दाबी गर्दै सुतेको बाघलाई ओलीले जिस्क्याउने प्रयत्न गरेको बताए । उनले धनमाया गुरुङ, राजु सदा, सूर्यबहादुर तामाङजस्ताले सरकारकै कारण विनाकारण ज्यान गुमाउनुपरेको दाबी गर्दै सोझा जनताले ज्यान गुमाउनुको जिम्मा सरकारले लिनुपर्ने बताए । 

‘अब कम्युनिस्टको सरकार आउँदा समृद्ध हुने र जनताले सुख पाउने भ्रम टुट्नुपर्छ,’ उनले भने, ‘कांग्रेस सुतेको बाघलाई जिस्क्याइएको छ, हामीलाई जुर्मुराउन बाध्य पारिएको छ ।’

प्रवक्ता शर्माले कम्युनिस्ट सरकारले कात्रोमा पनि भ्रष्टाचार गरेको आरोप लगाए । उनले कोरोना महामारीका वेला औषधि खरिदमा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको दाबी गर्दै कात्रोमा समेत सरकारले भ्रष्टाचार गरेको उनले दाबी गरे । 

कांग्रेसले कोरोना र कम्युनिस्टलाई सँगै भगाउँछ : बानियाँ
सभामा बागमती प्रदेश प्रमुख प्रतिपक्ष कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेसले कोरोना र कम्युनिस्टलाई सँगै भगाउने चेतावनी दिएका छन् । उनले कांग्रेस देशबाट कोरोना र कम्युनिस्टलाई सँगै भगाउने योजनामा लागिसकेको दाबी गर्दै अब सरकारविरुद्ध निरन्तर सडकमा उत्रिने बताए । 

सभामा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले जनता पीडामा परिरहेका वेला कम्युनिस्टको सरकार भ्रष्टाचारमा लिप्त भएको बताइन् । 

सुझावित समाचार