नेकपा स्थायी कमिटी बैठक : दुवै अध्यक्षको प्रतिवेदन अध्ययन गर्न स्थायी कमिटीलाई एक साता समय

आइतबार, २१ मंसिर, २०७७
डिजिटल संस्करण

नेकपाको आज बसेको स्थायी कमिटी बैठकले पार्टीका दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको राजनीतिक प्रतिवेदन एक साता लगाएर अध्यन गर्ने भएको छ । 

आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकका सदस्यहरूलाई दुवै अध्यक्षले राखेको प्रतिवेदन अध्ययन गर्न एक साताको समय दिइएको हो । 

बैठकमा अध्यक्ष केपी ओलीले सहभागिता नजनाएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गरेर बैठक अघि बढाएका थिए । 

अध्यक्ष दाहालले बैठक अगाडि बढाएको र आजको गम्भीर, विशिष्ट अवस्थालाई ध्यान दिएर दुवै अध्यक्षको प्रतिवेदन अध्ययन गर्न स्थायी कमिटी सदस्यहरूलाई आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्ष प्रचण्डले आजको गम्भीर, विशिष्ट अवस्थालाई ध्यान दिएर छलफल अघि बढाउन अपिल गर्नुभयो र आन्तरिक, अनौपचारिक छलफल र गृहकार्य अगाडि बढाउन र स्थायी कमिटीका सदस्यहरूलाई आग्रह गर्नु भयो ।’

अध्यक्ष दाहालले दुवै अध्यक्षको प्रतिवेदन अध्ययन गर्न एक साताको समय स्थायी कमिटी सदस्यहरूलाई दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

अब स्थायी कमिटीको अर्काे बैठक आउँदो २८ गते दिउँसो १ बजे बस्ने जानकारी श्रेष्ठले दिए । 

साथै केन्द्रीय कमिटीको बैठक भने ५ पुसमा बस्ने निर्णय भएको उनले जानकारी दिए । 

सुझावित समाचार