राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना माग गर्दै शनिबार काठमाडौं, झापा र चितवनमा प्रदर्शन र सभा भएको छ । पछिल्लो समय सत्तारुढ नेकपाभित्र किचलो बढेसँगै पूर्वराजसंस्था पक्षधरले गत कात्तिकदेखि गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताविरुद्ध प्रदर्शन गर्दै आएका छन् । हेटौँडा, बुटवल, विराटनगर, नेपालगन्जलगायत सहरपछि कात्तिकयता सबैभन्दा ठूलो संख्यामा शनिबार काठमाडौं, झापा र चितवनमा प्रदर्शन भएको छ ।
प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा ठूला प्रदर्शन भएका छन् । झापा र चितवनमा प्रदर्शनको अगुवाइ राप्रपाले गरेको छ भने काठमाडौंमा राष्ट्रिय नागरिक आन्दोलन नामक संस्थाले नेतृत्व गरेको थियो । लोकतान्त्रिक गणतन्त्रको विरोध गर्दै राजसंस्था पुनस्र्थापनाका पक्षमा चर्को नाराबाजीसहित सडक प्रदर्शन भएको थियो । राजनीतिक दलहरूले ०६४ सालपछि मुलुकलाई समृद्धि, शान्ति, स्थायित्व दिन नसकेको र राष्ट्रियता कमजोर बनाएको दाबी प्रदर्शनकारीहरूले गरेका थिए ।
यस्ता प्रदर्शनमा पार्टीले कार्यकर्ता पठाउँदै ऐक्यबद्धता जनाउने गरेको राप्रपाका नेता मोहन श्रेष्ठले बताए । राप्रपा अध्यक्ष कमल थापाले विभिन्न समूहद्वारा जारी सडक प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै राप्रपाले नै संघर्षको कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको बताएका छन् । काठमाडौंमा पृथ्वीनारायण शाहको तस्बिर र राष्ट्रिय झन्डासहित माइतीघरमा प्रदर्शन भएको थियो । मोटरसाइकल र्यालीसहित सभामा अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले सम्बोधन गरेका थिए ।
प्रमुख सहरहरूमा भएका प्रदर्शन एकीकृत योजनामा आयोजित होइनन् । त्यसका लागि केन्द्रीकृत शक्ति पनि निर्माण भएको छैन । ससाना समूहले वर्तमान शासन पद्धतिप्रति असन्तोष व्यक्त गर्दै राजसंस्था पुनर्स्थापनाको माग गर्दै आएका छन् । कुनै पनि दलीय गतिविधिमा संलग्न नभएकाहरूले राजसंस्था पुनस्र्थापनाका पक्षमा आवाज उठाइरहेका छन् ।
राप्रपाले शुक्रबार हेटौँडा र केही दिनअघि नेपालगन्जमा ठूलो संख्यामा प्रदर्शन गरेको थियो । हेटौँडामा राप्रपा नेताद्वय राजाराम बर्तौला र मधु अधिकारीले सम्बोधन गरेका थिए । राप्रपा नेता डा. धवलशमशेर राणाले नेपालगन्जको कार्यक्रमको अगुवाइ गरेका थिए । पूर्वराजसंस्थाका पक्षमा राप्रपाबाहेक पूर्वमन्त्री केशरबहादुर विष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपाल पनि सडकमा उत्रिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने नेतृत्वको ‘नेपालका लागि नेपाली’ भन्ने समूह पनि आन्दोलनमा छ ।
अनिल बस्नेत नेतृत्वको शिवसेना नेपाल राजतन्त्र पुनस्र्थापना र हिन्दूराष्ट्रका लागि आन्दोलनरत छ । बस्नेत पूर्वयुवराज पारससँग नजिक मानिन्छन् । सडक अभियानमा ‘गोरखाली समूह’ नामक समूह पनि छ ।
नागेन्द्र देउजा, वसन्तविक्रम पाण्डेलगायत व्यक्ति यसमा छन् । पूर्वराजा ज्ञानेन्द्रका नातेदारसमेत रहेका पूर्वसञ्चारराज्यमन्त्री श्रीशशमशेर राणाले उनीहरूलाई राजनीतिक संरक्षण दिएका छन् । यो अभियानमा नेविसंघका संस्थापक सभापति तथा कांग्रेस नेता विपिन कोइराला पनि संलग्न छन् । कांग्रेसका पूर्वनेता हरिबोल भट्टराई नेतृत्वको सनातन संस्कृति समाज पनि राजसंस्था पुनर्स्थापना अभियानमा संलग्न छन् ।
झापामा लिङ्देनको सम्बोधन

झापा काँकडभिट्टामा पूर्वराजसंस्था पक्षधरले निकालेको र्याली ।
झापा काँकडभिट्टाबाट सुरु भएको र्यालीमा जिल्लाका १५ वटै स्थानीय तहबाट राप्रपा कार्यकर्ताको सहभागिता थियो । उनीहरूले राजसंस्था र हिन्दूराष्ट्रका पक्षमा नारा लगाएका थिए । काँकडभिट्टाबाट सुरु भएको र्याली बिर्तामोडमा आएर कोणसभामा परिणत भएको थियो ।
सभालाई सांसद राजेन्द्र लिङ्देनले सम्बोधन गरेका थिए । देशभर राजसंस्था र हिन्दूराष्ट्रका पक्षमा जनलहर उर्लेको उनको दाबी थियो । ‘दलहरूको सल्लाहकारजस्तो राष्ट्रपति होइन, राष्ट्रिय एकताको प्रतिकका रूपमा रहने राजसंस्था राष्ट्रप्रमुख देशलाई आवश्यक छ,’ कोणसभामा उनले भने, ‘जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा हामी छौँ । सीमित संख्यामा सांसद रहने र सांसदले मन्त्री हुन नपाउने व्यवस्था हुन जरुरी छ । त्यसका लागि जनदबाबका लागि हामी जुटौँ ।’ अहिलेको व्यवस्था र नेतृत्वले देश दुर्गतिमा गएको उनको दाबी थियो ।
प्रदर्शनमा आउनेलाई इन्धन व्यवस्था
यस्तै, चितवनमा पनि शनिबार राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना माग गर्दै मोटरसाइकल र कार र्याली आयोजना गरिएको थियो । राष्ट्रवादी चितवन समाजको अगुवाइमा र्याली आह्वान गरिए पनि त्यसको व्यवस्थापन हिन्दूराष्ट्र र राजतन्त्रको वकालत गर्दै आएका व्यक्तिहरूले गरेका थिए । र्यालीमा सहभागी चितवनका मात्र नभई नवलपुर, तनहुँ, गोर्खा, मकावानपुर, रुपन्देहीलगायत जिल्लाका बासिन्दा पनि थिए ।

चितवन भरतपुरमा आयोजित मोटरसाइकल र्याली ।
राष्ट्रवादी चितवन समाजका संयोजक सैलादुन मियाँका अनुसार राजतन्त्रको माग गर्दै सर्वसाधारण र्यालीमा आएका हुन् । ‘हामीले नेपाली झन्डामुनि सबैलाई आह्वान गरेका थियौँ, सरकार र राजनीतिक दलका गतिविधिप्रति वितृष्णाका कारण पनि जनसहभागिता सोचेभन्दा बढी भएको छ,’उनले भने ।
भरतपुरको केन्द्रीय बस टर्मिनल, हाकिमचोक, चौबीसकोठी, वीरेन्द्र क्याम्पस चोक, लायन्स चोक, सहिदचोक, पुल्चोक, पोखरा बसपार्क, आँपटारी हुँदै र्याली पुनः केन्द्रीय बस टर्मिनलमै पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा राजा आऊ, देश बचाऊ, देश त पुरानो ठीक थियो, नेपाली हामी रहौँला कहाँ नेपालै नरहेलगायत नारा लगाइएको थियो ।
र्यालीमा सहभागिता बढाउन आयोजकले ग्रामीण क्षेत्रमा प्रचार–प्रसार व्यापक बनाएका थिए । कतिपय सहभागीका लागि इन्धनको व्यवस्था पनि गरिएको थियो । आयोजकले र्यालीमा १० हजारभन्दा बढी सहभागी भएको दाबी गरेका छन् । तर, जिल्ला प्रहरी कार्यालय, चितवनका डिएसपी सूर्यबहादुर थापाका अनुसार प्रहरीको रिपोर्टमा र्यालीमा सहभागीको संख्या तीन हजारदेखि तीन हजार पाँच सयसम्म उल्लेख छ ।