उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

मंगलबार, १६ मंसिर, २०७७
डिजिटल संस्करण

उत्तर कोरियाली नेता किम जोङ अनले चीनले निर्माण गरेको कोरोनाविरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई उदृत गर्दै ती विज्ञले किमलाई हालै सो खोप दिइएको बताएका हुन् । 

ह्यारी काजियानियासले लेखेको एक लेखमा उत्तर कोरियाली नेता किम, वरिष्ठ सरकारी अधिकारीहरू र उनका परिवारका सदस्यहरूले पछिल्लो दुई साताभित्रै चीनमा निर्माण गरिएको खोप लगाएको बताएका छन् । काजियानियास हाल वासिङ्टनस्थित सेन्टर फर नेसनल इन्ट्रेस्ट संस्थाको कोरिया अध्ययन केन्द्रका वरिष्ठ निर्देशक छन् । लेखमा उनले दुईजना अपरिचित जापानी गोप्य स्रोत उल्लेख गरेका छन् । तर, चीनमा परीक्षणकै क्रममा रहेका केही खोपमध्ये कुन खोप किम र उनका परिवारका सदस्यले लगाएका हुन् भन्ने खुलाइएको छैन । 

चीनमा हाल तीनदेखि चार किसिमका खोप परीक्षणका क्रममा छन् । तीमध्ये एउटा खोप चीनभित्रै करिब १० लाख व्यक्तिलाई लगाइएको छ । तर, खोपको नतिजा सार्वजनिक नगरिएकाले यसको प्रभावकारिता र सुरक्षाका विषयमा निर्क्याेल हुन सकेको छैन । 

उत्तर कोरियामा हालसम्म कोरोना भाइरस संक्रमणबारे केही जानकारी सार्वजनिक गरिएको छैन । तर, गत जनवरीदेखि नै उत्तर कोरियाली सीमामा निकै कडाइ गरिएको छ । 
 

सुझावित समाचार